खोटाङमा ‘बृहत महोत्सव: वरिष्ट कवि किरातीलाई सम्मान

४ महिना अघि

२0८१ जेष्ठ ४ शुक्रबार
खोटाङमा ‘बृहत महोत्सव: वरिष्ट कवि किरातीलाई सम्मान

खोटाङ, जेठ ४

खोटाङमा ४ दिनयता ‘प्रथम बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव २०८१’ जारी छ । महोत्सवको कविता विधातर्फ बिहीबार सम्पन्न खुल्ला राष्ट्रिय कविता प्रतियोगितामा सुनसरीका किरण शिवा प्रथम भए । विभिन्न जिल्लाका १५ स्पर्धीलाई उछिन्दै शिवा प्रथम भएर ४० हजार नगदसहित ट्रफिको हकदार भएका छन् । 


नेपाल खेलकुद प्रतिष्ठान खोटाङद्वारा आयोजित प्रसिद्ध त्रि–धार्मिकस्थल हलेसीमा सम्पन्न प्रतियोगितामा शिवाले ‘बिर्खे दमाईको आवाज’ शीर्षकको कविता वाचन गरेका थिए । ‘बाध्यता कि रहर’ शीर्षकको कविता वाचन गर्ने भोजपुरका सङ्ग्राम किराती दोस्रो हँुदै २५ हजार नगद र प्रमाणपत्र पायो । उदयपुरका जीवन चामलिङ राई ‘भरिया दाइ’ शीर्षकको कवितामार्फत तेस्रो स्थान पाए । सिन्धुलीका बाबुराम श्रेष्ठ ‘यात्री’को कविता ‘छम्कली रोकाया’ चौथो हुँदा भोजपुरकी शकिला राईको ‘म यात्री मनको’ कविता पाँचौँ भएको छ । 


तेस्रो, चौथो र पाँचौँ हुने कविहरुलाई क्रमशः १७ हजार, ११ हजार र ७ हजार नगद पुरस्कारका प्रमाणपत्र प्रदान गरिएको छ । विजयी कविहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्यसचिव डा. धनप्रसाद सुवेदी, दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरप्रमुख विमला राई र वरिष्ठ कवि तथा साहित्यकार जसराज किरातीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । 


हलेसीको होटल जाम्बालामा सम्पन्न प्रतियोगितामा विजयी कविबाहेक धनकुटाका अनिल अदृष्यको ‘इन्द्रेणीको अनुहार’, तनहुँका चेतन न्यौपानेको ‘युवाको खाँचो’, कालिकोटका रणबहादुर रानाको ‘असन्तोषको पर्खाल’ शीर्षकका कविताहरु पनि स्पर्धामा थिए । खोटाङका ज्ञानदीप चाम्लिङ राईको ‘मातृभूमि आमाको आँसु’, नानुमैयाँ दाहालको ‘मलाई रगत मनपर्छ’, प्रकाश आचार्य ‘भावुक’को ‘यो देश लम्काउन’ र ‘प्यासीको मेरो देश’, रमिला राईको ‘मिति गएपछि’, मौषम आचार्यको ‘सँस्कृतिको समाधि’, सोनम सज्जन किरातीको ‘विनिमय’ र हेम बास्तोला ‘भावुक’को ‘नेपालीपन’ गरी १६ कविता अन्तिम छनोटमा पर्दा  १४ कविले वाचन गर्दा ५ वटा उत्कृष्टमा परेको निर्णायक मण्डल संयोजक रामबिक्रम थापाले बताए । 


साहित्यतर्फ कविता प्रतियोगिता सञ्चालनको जिम्मा पाएको रावासावा प्राज्ञिक समाज नेपाल र टेम्के तुवाचुङ प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त साहित्यकार पनि आआफ्नो सिर्जना सुनाउन आतुर रहेको संयोजक थापाले बताएका छन् । 


वैशाख ३१ देखि जेठ १० गतेसम्म ११ दिन सञ्चालन हुने महोत्सवको उद्घाटन सोमबार खेलकुद विधातर्फ एथ्लेटिक्समा खुला महिला÷पुरुष हाफ म्याराथन स्पर्धा गराइएको थियो । एथ्लेटिक्सतर्फ ८ विधामा प्रतिस्पर्धा गराइएकोमा महिलातर्फ नेपाल प्रहरीकी राममायाँ बुढा र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले उपाधि चुमे । विजेता राई र बुढालाई जनही नगद ७५ हजार रुपैँयाका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 


११ दिन चल्ने बृहत महोत्सवमा लगभग ५२ लाख रुपैँया खर्च हुने आयोजक मूल समारोह समिति संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले बताएका छन् । चन्दा र इच्छुक व्यक्ति निकायको सहयोगमा सञ्चालन गरिएको महोत्सवमा खेलको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउने योजना रहेको आयोजकले जनाएको छ । त्यसैगरी खोटाङलाई पर्यटकीय र खेलकुदमा परिचित गराउँदै सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जन्माउने उद्धेश्य लिइएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए । उनले महोत्सवले खोटाङको वहुआयामिक परिचय दिलाउने अपेक्षा गरिएको पनि बताए । 


महोत्सव व्यवस्थापक तथा नेपाल सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजुका अनुसार आगामी ६ गते खुला सङ्गीत विधातर्फ गायन प्रतियोगिता हुनेछ भने ८ देखि १० गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता हुँनेछ । गायतमा स्थानीयदेखि राष्ट्रियस्तरसम्मका कलाकारहरुको सहभागिता रहने व्यवस्थापक कसजुले बताए ।


करातेतर्फ ७ वटै प्रदेशका खेलाडीले स्पर्धा गर्ने प्रतियोगितामा सोतोकान, गोजोरियो, वादोरिया र सितेरियो करातेमा स्पर्धा गराइनेछ । आयोजकसहित ११ टोलीको प्रतिस्पर्धा हुने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ विजेताले १ लाख ११ हजार १ सय ११ रुपैँया पुरस्कारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना स्थान पाउने खेलाडीलाई क्रमशः ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैँया नगद पुरस्कार दिइनेछ । 


महोत्सव आयोजक मूल समिति संयोजक तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले खोटाङको इतिहासमा अहिलेसम्मकै बृहत, वहुआयामिक र सृजनसिल कार्यक्रम भएको बताए । महोत्सवले समाजलाई नभई नहुने मुख्य समाज सुधारका आधारहरु साहित्य, कला, खेलकुद र पर्यटनलाई लक्षित गरी आयोजना गरिएकाले खोटाङलाई वहुआयाम दिने अपेक्षा प्रमुख राईको छ । 


महोत्सव सफल पार्न प्रमुख राईको संयोजकत्वमा गठित मूल समितिमातहत रहने गरी जिल्लाका सबैजसो सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा गठित विभिन्न ९ वटा उपसमिति लागिपरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी, साहित्यकार, कवि, गीत तथा सङ्गीतकारको दिक्तेल बजारमा उपस्थिति रहेको छ । कार्यक्रम सदरमुकम दिक्तेल र अर्को त्रि–धार्मिकस्थल हलेसीमा भईरहेको बृहत महोत्सवमा करोडौँको कारोबार भईरहेको खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले बताएका छन् ।


साहित्यकार किरातीलाई सम्मान 

महोत्सव उद्घाटनको क्रममा जिल्लामा लामो समयदेखिका सर्जक वरिष्ठ कवि तथा साहित्यकार जसराज किराती नगदसहित सम्मानित भएका छन् । विगत ५ दशकदेखि निरन्तर कला साहित्यमा लाग्दै आएका किरातीको अमूल्य योगदानको कदर गर्दै ११ हजार १ सय ११ रुपैँया नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । साहित्यको माध्यमबाट समाज रुपान्तरणमा अतुलनीय योगदान गरेको भन्दै कदरस्वरुप नगदसहित दोसल्ला र ताम्रपत्रले सम्मान गरिएको हो ।


अन्तरक्रियात्मक रुपमा भईरहेको महोत्सवमा किराती मुन्दुम अध्यता भोगीराज चामलिङले ‘किराँत दर्शन’ र डिआर पोखरेलले ‘जोसमणि सन्त दर्शन’ सम्बन्धी फरकफरक कार्यपत्र प्रस्तुत गरेका छन् । चामलिङको कार्यपत्रमाथि एमसी सुमितले टिप्पणी गरे भने पोखरेलको कार्यपत्रमाथि डा. केशव सिलवालले टिप्पनी गरे ।