जस्तापाता पाएपछि पानी र आगोबाट सुरक्षित 

४ महिना अघि

२0८१ जेष्ठ ३ बिहीबार
जस्तापाता पाएपछि पानी र आगोबाट सुरक्षित 

बेलदोभान, जेठ ३

चार छोरीहरुकी आमा जानुका विकलाई हरेक बर्खायाम अत्यास लाग्दो हुन्थ्यो । एकल महिला उनी फुसको छानोवाल घर चुहेर हरेक बर्खामा हैरान हुनुपथ्र्यो । अहिले उनको घर सुरक्षित छ । स्थानीय सामुदायिक वन समूहबाट जस्तापाता पाएपछि बर्खाको पिरलो सँधैलाई हट्दा उनी दङ्ग छिन् । 


५ वर्षअघि श्रीमान्को निधन भएसँगै एकल बनेकी त्रियुगा नगरपालिका १६ बेलदोभान सिद्रेकी विकलाई छोरीहरुको लालनपालन र पढाईलेखाई गर्नै कठिनाई छ । छोरीहरुको शिक्षादीक्षा र घर चलाउनै हम्मे भईरहेका बेला सरस्वति वन उपभोक्ता समूहबाट पाएको जस्ताले घर छाएपछि पानी चुहुने कहरबाट उनलाई मुक्ति मिलेको हो । 


उनीजस्तै अर्की एकल महिला सावित्रा श्रेष्ठको पनि छानो चुहुने पिरलो टरेको छ । समूहले निःशूल्क जस्तापाता सहयोग गरेपछि यसअघि पानी प¥यो कि छानो चुहेर हैरान हुँदै आएकी श्रेष्ठको घर पनि सुरक्षित भएको छ । उनका श्रीमान् ३ वर्षअघि बित्दा दुई छोराछोरीकी आमा श्रेष्ठलाई परिवार धान्न र बालबच्चाको पठनपाठनमा ध्यान दिनुपर्ने एक्लो जिम्मेबारी छ । 


समूहले विक र श्रेष्ठसहित ३६ घरधुरी परिवार उपभोक्तालाई घर छाउने जस्तापाता उपलब्ध गराएको छ । आगलागी र डढेलोबाट सुरक्षित गर्दै फुसको छानो विस्थापित गर्ने सरकारी अभियानलाई साथ दिन वर्षेनी उपभोक्तालाई जस्तापाता वितरण गर्ने क्रममा सो सहयोग दिएको समूहका अध्यक्ष तोपबहादुर मगरले बताए । उनका अनुसार गतवर्ष १० जनालाई जस्तापाता वितरण गर्दा प्रभावकारी देखिएकाले चालुवर्ष थप उपभोक्तालाई पनि वितरण गरिएको हो । 


वन समूहको स्वीकृत वार्षिक कार्ययोजना अनुसार बजेट विनियोजन गरेरै उपभोक्तालाई जस्ता वितरण गरिएको उनको भनाई छ । समूहका लक्षित उपभोक्ताहरु दलित, एकल महिला, अपाङ्गता र गरिव तथा विपन्न बर्गलाई समूहले जस्ता उपलब्ध गराएको हो । समूहको सामाजिक उत्तरदायित्व वहन, वन विकास, वातावरण बचाऊ र उपभोक्तामैत्री गतिबिधि गरिएको हो । 


समूहकी सचिव कोपिला राउतले चालु वर्षको स्वीकृत नीति कार्यक्रम अनुसार दलित, अपाङ्गता भएका र एकल १–१ जना र बाँकी गरिव तथा विपन्न बर्गका उपभोक्तालाई जस्ता वितरण गरिुएको बताईन् । उनका अनुसार समूहको स्वीकृत १२ लाख बजेटबाट खरिद गरी वितरण गर्दासम्म ११ लाख ८८ हजार रुपैँया खर्च भएको छ । सो बजेटबाट ३६ घरधुरी प्रत्येकलाई ३ बण्डलका दरले १ सय ८ बण्डल जस्ता वितरण गरिएको राउतले बताएकी छिन् । 


त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष मानबहादुर राईले फुसको छानो विस्थापित गर्ने अभियानमा वन समूहको सहयोगले वडाबासी जनता लाभान्वित हुन पुगेको बताए । स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको फुसको छानो विस्थापित कार्यक्रमलाई विगत ३ वर्षदेखि वडाले निरन्तरता दिने क्रममा समूहको सहयोग उपलब्धिमूलक हुन पुगेको उनको भनाई छ । खासगरी एकल, अपाङ्गता भएका उपभोक्ता, गरिव तथा विपन्न बर्गका उपभोक्ताहरु यसबाट बढी लाभान्वित हुने भएकाले कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्ने वडाध्यक्ष राईको आग्रह छ । 


सरस्वति वन समूहले जस्ता वितरण मात्र नभएर विभिन्न उपभोक्ता हितमैत्री गतिबिधि पनि गर्दै आएको जनाएको छ । समूहमा आबद्ध उपभोक्तालाई आयआर्जनमुखी काम गर्दै उद्यम व्यवसायमा अभिप्रेरित गर्न बाख्रा पालन, बङ्गुर पालन, तरकारी खेती, घाँस खेतीलगायत व्यवसाय गर्न आवश्यक सिपमूलक तालिम र अनुदानसमेत दिदै आएको छ । त्यस्तै वन विकास र बचाउतर्फ नयाँ विरुवा रोप्ने, डढेलो नियन्त्रण गर्न अग्नि रेखा तथा आगलागी र डढेलोबाट वन जङ्गल र घर गोठ जोगाउन विपत उद्धार तालिम पनि दिदै आएको छ । 


यस्ता कार्यहरु गर्दा वडा कार्यालय, डिभिजन र सव डिभिजन वन कार्यालयहरुसँग समन्वय र सहकार्यमा गर्ने गरेको समूहका अध्यक्ष मगरले बताए । उनले आगामी वर्षहरुमा पनि यस्ता उपभोक्तामैत्री कार्यक्रमलाई थप विस्तार गर्दै लाने कार्ययोजना बनाईरहेको बताएका छन् ।