संस्थागत विद्यालयलाई लगाम कस्दै त्रियुगा नगरपालिका

४ महिना अघि

२0८१ जेष्ठ १ मंगलवार
संस्थागत विद्यालयलाई लगाम कस्दै त्रियुगा नगरपालिका

उदयपुर, वैशाख ३१

त्रियुगा नगरपालिकाले संस्थागत विद्यालयहरुलाई बर्गीकरण गरेर लगाम कस्न थालेको छ । नगरपालिकाभित्र सञ्चालित सबै संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्ने  उदेश्यले नियमन थालेको जनाएको छ । 


शिक्षामा एकरुपता ल्याउन तथा शैक्षिक गुणसतर कायम गर्न खाँचो महसुस गर्दै स्थानीय सरकारले संस्थागत विद्यालयको बर्गीकरण गरेर नियमन गर्न थालेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइइो । पत्रकार सम्मेलनमा नगरप्रमुख बसन्त बस्नेतले शिक्षाको गुणस्तर बृद्धि गर्दै संस्थागत विद्यालयहरुमा फरक फरक रहेको मापदण्डलाई एकरुपता दिन यस्तो कदम चालिएको बताए । 


बस्नेतले नगरपालिकाभित्र सञ्चालित संस्थगत विद्यालयलाई एकरुपता दिन सकियोस् र अभिभावकको गुनासो गर्ने ठाउँ नहोस् भनेर नियमन थालिएको बताए । उनका अनुसार नगरपालिकाले केहीदिनयता सबै विद्यालयको अनुगमन गरेको थियो । अनुगमनको क्रममा प्रत्येक विद्यालयमा फरकफरक तरिका अपनाइएको पाइएको बस्नेतले बताए । अनुगमन गर्दा हरेक विद्यालयको फरक  फरक नियम, शिक्षण शैली, शूल्क र अन्य असमानताहरु पाइएपछि बर्गीकरण गरेर एकरुपता ल्याउन खोजिएको उनले बताए । 


नगरभित्रका विद्यालयहरुलाई नियमन गर्ने स्थानीय सरकारको अधिकार अनुसार यो कदम चालेको पनि मेयर बस्नेतले बताए । त्यसका लागि सबभन्दा पहिला नगरले विद्यालयहरुलाई स्वघोषणापत्र मागेको र त्यसपछि विद्यालय पुगेर अनुगमन गगरेको उनले बताए । अनुगमनको क्रममा प्रत्यक्षरुपमा देखिएको वास्तविक्ता अनुसार विद्यालयहरुलाई बर्गीकरण गरिएको उनको भनाई छ । बर्गीकरण गर्दा विद्यमान शिक्षा ऐन, नियमावली, संघीय शिक्षा मन्त्रालयको नीति, निर्देशन तथा स्थानीय सरकार सञ्चालन ऐन अनुसार गरिएको पनि मेयर बस्नेतको दावी छ । 


नगरपालिकाभित्र सञ्चालित ४६ वटा संस्थागत विद्यालयको अनुगमन गर्न मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधकिृत, वडाध्यक्षहरु, नगर शिक्षा समिति, शिक्षा शाखा प्रमुख तथा कर्मचारी तथा शिक्षासँग सम्बन्धित विज्ञसहितको टोली परिचालन गरिएको थियो । प्राप्त स्वघोषणापत्र, अनुगमन प्रतिबेदन र शिक्षा ऐन अनुसार तोकिएको विभिन्न २३ सूचकहरुको आधारमा विद्यालयहरुको बर्गीकरण गरिएको हो । 


प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले ४६ मध्ये २ वटा ‘ख’ बर्गमा परेका छन् भने ८ वटा ‘ग’ र बाँकी ३६ विद्यालय ‘घ’मा बर्गीकृत भएका छन् । ‘क’ बर्गको मापदण्ड पुगेका कुनै पनि विद्यालय त्रियुगामा नरहेको अधिकृत सिग्देलले बताए । बर्गीकरणसँगै नगरपालिकाले विद्यालयहरुको नर्सरीदेखि कक्षा १२ सम्मको मासिक शूल्क, भर्ना शूल्क र अन्य शूल्कहरु पनि तोकिदिएको छ । 


नगरले तोके अनुसार ‘ख’ बर्गमा परेका विद्यालयले नर्सरीमा १ हजार २ सय ६५, १ मा १ हजार ४ सय ३८, कक्षा ५ मा १ हजार ६ सय ६८, कक्षा १० मा २ हजार ३ सय तथा १२ मा २ हजार ५ सय ३० रहेको छ । त्यसैगरी ‘ग’मा बर्गीकृत विद्यालयहरुले नर्सरीमा १ हजार २ सय ६५, कक्षा १ मा १ हजार ३ सय ७५, कक्षा ५ मा १ हजार ५ सय ९५, कक्षा १० मा २ ह जार २ सय र १२ मा २ हजार ४ सय लिन पाउनेछन् । ‘घ’ मा परेका विद्यालयलले नर्सरीमा १ हजार १ सय लिन पाउछन् भने कक्षा १ मा १ हजार २ सयि ५०, कक्षा ५ मा १ हजार ४ सय ५०, कक्षा १० मा २ हजार र १२ मा २ हजार २ सय लिन पाउने व्यवस्था छ । 


बर्गीकरण गर्दा तोकिएका विभिन्न २३ सूचकहरुलाई आधार मानिएको छ । जस अनुसार विद्यार्थी सङ्ख्या अनुसारको कक्षाकोठाको आकार, दोहोरो हावा खेल्ने, आँगत, खेल मैदान, शौचालया, सरसफाई, खानेपानी, खाजा घर (क्यान्टीन), पुस्तकालय, विज्ञान प्रयोगशाला, शिक्षक सङ्ख्या, शिक्षकको पारिश्रमिक, स्कुल बस, छात्रबृद्धिको सङ्ख्यालगायत रहेका छन् । अनुगमन गरेपछि प्राप्त नतिजालाई नगर शिक्षा समितिले संस्थागत विद्यालय संगठनहरु प्याब्सन र एनप्याब्सनका प्रतिनिधि र विषय विज्ञहरुसमेतलाई राखेर गरिएको बैठक निर्णय अनुसार विद्यालयहरुको बर्गीकरण गरिएको नगरले जनाएको छ । 


पत्रकार सम्मेलनमा नगरउपप्रमुख महेश्वरी राईले त्रियुगाका सबै निजी विद्यालयहरुलाइ एकरुपता दिदै शिक्षामा गुणस्तर कायम गर्ने लक्ष्यका साथ बर्गीकरण गरेर नियमन थालिएको बताईन् । उनले बर्गीकरण गर्दा कसैप्रति आग्रह पूर्वाग्रह नराखी निश्पक्षताका साथ गरेको दावी गर्दै उपमेयर राईले यसले त्रियुगाको शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको बताईन् । 


नगरपालिकाले विद्यालयको अवस्था र शूल्कसम्बन्धी जानकारी अभिभावकलाई दिनका लागि सबै विद्यालय प्राङ्गणमा बर्गीकरण प्रमाणपत्र, शूल्क रकमलगायत बुँदाहरु उल्लेख भएको होर्डिङ बोर्ड राख्ने पनि जनाएको छ । साथै नगरले तोकेभन्दा दायाँबायाँ नगर्न निर्देशन दिदै गरेको पाइए शिक्षा ऐन् अनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।