उदयपुर प्रहरी परिसर झकिझकाउ, आईजिपीदेखि नेतासम्मले गरे प्रशंसा 

४ महिना अघि

२0८१ बैशाख २८ शुक्रबार
उदयपुर प्रहरी परिसर झकिझकाउ, आईजिपीदेखि नेतासम्मले गरे प्रशंसा 

महेश्वर चामलिङ

उदयपुर, वैशाख २८

अपराधीलाई पक्रेर कालकोठरीमा खाँद्ने, प्रहरी मेस, कार्यालय प्रमुख र अधिकृत कार्यकक्ष र आवास व्यारेक यस्तै हुन्छ प्रहरी कार्यालय । तर, जिल्ला प्रहरी कार्यालय परिसरको दृष्य फरक छ । त्यो पनि केही महिनायताको व्यवस्थापनले आकर्षक बन्न पुगेको छ । 


भर्खरै प्रहरी परिसरमा अमर प्रहरी स्मारक उद्यान निर्माण गरिएको छ । कार्यालय नपसी सर्वसाधारणहरु बाहिरबाटै पस्न मिल्ने गरी प्रवेशद्वार पुग्नुभन्दा २५ मिटर तल नै उद्यानस्थल प्रवेश गर्ने गोरेटो बाटो छ । पैदल हिडेर प्रवेश गर्न सकिने उद्यानमा विभिन्न किसिमका रुख विरुवा र फलफुल रोपिएको छ भने खानेपानीको धारा बनाइएको छ । उद्यानको सिरानमा काठको आकर्षक घर बनाएर पुस्तकालय स्थापना गरिएको छ । ‘द लाईब्रेरी क्याफे’ नाम दिइएको पुस्तकालयमा विभिन्न प्रकारका ज्ञानविज्ञानका पुस्तक तथा पत्रपत्रिका र जर्नलहरुका साथै विद्युतीय पस्तकालय पनि छ । ‘इ–लाईब्रेरी’ भिजिट गर्न भने ल्यापटपको व्यवस्था छ । जहाँ सिंगो गुगल प्रवेश गरेर विश्वभरका पुस्तक, जर्नल, लेख रचना, अनुसन्धानका नतिजाहरु अध्ययन गर्न सकिन्छ । 


परिसरको पूर्वदक्षिणमा निर्मित पुस्तकालयसहितको उद्यानसँगै अर्को संरचना कार्यालय भवनको बाँया किनारमा निर्माण गरिएको छ पानीको फोहारा (वाटर फाउन्टेन)सहितको ‘अमर प्रहरी स्मारक’ । त्यसको केही तल कार्यालय जाँदा दाहिनेतर्फ आकर्षक कलात्मक शैलीको शैलेश्वर शिव पाञ्चायन मन्दिर बनाइएको छ । यी सबै संरचनाको निर्माण गएको ३ महिना अवघि अर्थात जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाको पालामा भएको हो । आफ्नो कार्यकालमा सबै प्रमुखहरुले एक÷दुईवटा पूर्वाधार संरचनाहरु निर्माण गरेर छाड्ने परम्परा रहिआए पनि थापाको पालामा ३ वटा महत्वपूर्ण संरचना बनेका छन । 


अघिल्ला एसपी ज्ञानेन्द्र फुयालको पालामा बाल उद्यान र जिल्लाको समग्र चित्र झलकाउने नमूना नक्शा ‘स्टेण्ड म्याप’ बनेको थियो । यी सबै संरचनाले जिल्ला प्रहरी कार्यालय परिसर झकिझकाउ भएको छ । 

 

कार्यालय पुग्ने जो कोही आगन्तुक ती संरचनाले मख्खमेल हुन्छन् । धार्मिक आस्था राख्नेहरुलाई पुजा अर्चना गर्नदेखि कफि पिउदै पुस्तक पढ्न, उद्यान घुम्दै टहलिन तथा अमर प्रहरीलाई सम्झेर मन बहलाउनेसम्म अवसर त मिलेकै छ, सँगसँगै उदयपुरका ८ वटै स्थानीयतहहरु, भौगोलिक वनावट, उचाई र वातावरण बुझ्न तथा बालबालिकालाई पिङ र चाकाचुली भर्याङ खेल्नेसम्मको सुविधा प्रहरी परिसरभित्रै छ ।   


एसपी थापा प्रहरी कार्यालय झैझगडा गर्नेको मुद्धामामिला मिलाउने, अपराधीलाई नेलकडी लगाउने, थुन्ने, बयान लिने ठाउँ मात्र नभएर सर्वसाधारणका लागि पनि आकर्षकस्थल बनाउने उदेश्यले यी संरचना बनाइएको बताउँछन् । जुन ठाउँमा प्रमुख भएर गयो, त्यहाँ केही न केही किर्ती रहने गरी भौतिक संरचना र अन्य कार्य गरेर विदा हुने आफ्नो उदेश्य अनुसार यति काम गरेको उनी बताउँछन् । एसपी थापाले यी संरचना निर्माणमा सहयोग गर्ने सबै सरोकारवाला निकाय, व्यक्ति, स्थानीय सरकार र सहकर्मी प्रहरी कर्मचारीप्रति आभार व्यक्त गरेका छन् । 


शुक्रबार विहान प्रहरी महानिरीक्षक (आईजिपी) बसन्त कुँवरले नवनिर्मित संरचनाहरुको उद्घाटन गरे । अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक चन्द्रकुवेर खापुङसहित आएका आईजिपी कुँवरले निर्मित संरचना देखेपछि खुसी मात्र व्यक्त गरेनन्, एसपी थापाको प्रशंसा नगरी बस्न पनि सकेनन् । उनले संरचना निर्माणसँगै कमाण्ड कन्ट्रोल र शान्ति सुरक्षा कायम गर्न तथा द्वन्द्व व्यवस्थापनमा पनि एसपी थापा उत्तिकै सफल भएको भन्दै यस्ता कमाण्डर प्रहरी संगठनका लागि गौरवको विषय भएको बताए । 


‘नेपाल प्रहरी नागरिकको जिउधनको सुरक्षा र संवेदनसिलताप्रति जिम्मेबार र प्रतिबद्ध हुनुपर्छ’ उनले भने ‘त्यसप्रति हामी प्रष्ट छौँ, अझ उदयपुरका कमाण्डर एसपी थापा यो मामलामा सफल र उदाहरणीय बन्न पुगेका छन् । यस्ता अधिकृतहरु देशभर बनाउने अभियानमा हामी लागेका छौँ ।’ आईजिपी कुँवरले समाजले सुरक्षित छु भन्ने महसुस नगरेसम्म प्रहरी संगठन सफल नहुने भन्दै भित्रि हृदयदेखि नै दत्तचित्त भएर नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । बाहिर एउटा बोल्ने र भित्र अर्कै व्यवहार गर्ने प्रहरी व्यवसायिक आचरणविरुद्ध हुने भन्दै उनले त्यस्ता प्रहरीमाथि कारबाही हुने प्रष्ट्याए । संगठनको व्यवसायिक दायित्व र जिम्मेबारी निर्वाह गर्दा जनतालाई केन्द्रमा र संगठनलाई शीरमा राखेर भूमिका खेल्नुपर्नेमा उनको जोड थियो । 


प्रहरीको सानो गल्तीलाई सामाजिक सञ्जालमार्फत बढाईचढाई गरेर सिंगो संगठनमाथि प्रहार गर्ने गतिबिधि भईरहेकोप्रति कुँवरले असन्तुष्टि जनाए । त्यस्ता भ्रामक कुराको खण्डन गर्न प्रहरीले सँधै व्यवसायिक सुद्धताका साथ जनतामैत्री काम गर्नुपर्नेमा उनले जोड दिए । ‘यहाँ ९९ प्रतिशत राम्रो गर्दागर्दै १ प्रतिशत गैरव्यवसायिक काम हुन गए त्यसैलाई सामाजिक सञ्जालमार्फत गलत प्रचारप्रसार गर्ने काम हुने भन्दै उनले त्यसको जवाफ दिन पनि प्रहरीले नागरिक केन्द्रित सेवा गर्नुपर्ने बताए । 


उनको भनाई अनुसार हुनेखाने, पहुँचवाला र संभ्रान्तबर्गले मात्र सुरक्षित महसुस गरेर समाजमा सुशासन कायम गर्न सकिदैन । वास्तविक सुरक्षा भुईतह र सीमान्तकृत जनताले पाएको महसुस गरे मात्र प्रहरी सफल भएको मान्नुपर्ने उनको धारणा छ ।  

 

प्रदेश प्रहरी प्रमुख डिआईजी खापुङले शान्ति सुरक्षा र अमनचयन कायम गर्नु नै संगठनको उदेश्य र उपलब्धि भएको बताए । संस्कार, संस्कृतिको संरक्षण मात्र नभई निर्माण पनि गर्दै जानुपर्ने मान्यता अनुरुप उदयपुर प्रहरीले महत्वपूर्ण भौतिक संरचना निर्माण गरेकोमा उनले पनि थापाको प्रशंसा गरे ।

 

त्रियुगा नगरप्रमुख बसन्त बस्नेतको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा उपप्रमुख महेश्वरी राईले प्रहरी र नागरिकबीचको सम्बन्ध निकट रहे मात्र समाज सुधार्न सकिने बताईन् । त्रियुगा नगरपालिकाले प्रहरीसँगको साझेदारीमा लागूऔषध नियन्त्रण र न्यूनिकरणमा उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै उपमेयर राईले आगामी दिनमा थप सफलताका लागि साझेदारी गर्दै जाने प्रतिबद्धता जनाईन् । 


त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाका प्रमुख डा. कैलाशकुमार राईले प्रहरी परिसरमा निर्मित संरचनाहरुले कार्यालयको शोभा बढाउनुका साथै आध्यात्मिक, बौद्धिक र वातावरणीय फाईदा पुग्ने बताए । क्याफेसहितको पुस्तकालयले पछिल्लो पुस्तामा छुट्दै गएको पठन संस्कृतिलाई पुनर्जागरण गरेर युवा पीढिलाई पुस्तक प्रेम बढाउने अपेक्षा गरिएको क्याम्पस प्रमुख राईको भनाई थियो । 

 

नेकपा (एमाले) उदयपुरका अध्यक्ष भागवत राउतले अमर प्रहरी परिवारको सम्मानढका लागि अमर प्रहरी स्मारक संग्रहालय खोल्न सुझाए । उनले उदयपुर प्रहरीले गरेका सकारात्मक कामहरु प्रशंसायोग्य रहेको भन्दै आगामी नेतृत्व पठाउँदा पनि एसपी थापाजस्तै क्षमतावान र सकारात्मक सृजनसिल सोँच भएका अधिकृतलाई पठाउन आग्रह गरे । 

 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने सवालमा उदयपुर प्रहरी सफल हुँदै आएको उदाहरण दिए । उनले नागरिकलाई सँधै प्रहरीले सुरक्षा गरिदेवस् भन्ने अपेक्षा रहेको भन्दै त्यो अपेक्षा पुरा गर्न र गराउन प्रशासन र प्रहरी कर्मचारी अहोरात्र खटिरहेको जानकारी दिए । उदयपुर प्रहरीले चलाएको ‘आई डेयर नो ड्रग्स्’ तथा ‘से टु नो ड्रग्स्’ अभियान जिल्लाबासीका लागि महत्वपूर्ण रहेको भन्दै त्यसबाट सबैले लाभ लिनुपर्नेमा उनको जोड थियो । 


पत्रकार राई सम्मानित 

यसैबीच नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष भोटराज राई सम्मानित भएका छन् । कान्तिपुर टेलिभिजनका संबाददाता तथा पूर्णपुष्टि अनलाईनका संपादकसमेत रहेका राईलाई जिल्ला प्रहरीको हरेक गतिबिधिमा सकारात्मक र प्रभावकारी सहयोग गरेको भन्दै सम्मान गरिएको हो । उनलाई आईजिपी कुँवर र एसपी थापाले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा आईजिपी कुँवर, एआईजी राई र डिआईजी खापुङले विभिन्न संघसंस्था, क्षेत्र, तहतप्का र व्यक्तिलाई सम्मान गरेका थिए । जस अनुसार अमर प्रहरी परिवारका सदस्य, ९० वर्षमाथिका पूर्व प्रहरी कर्मचारी, भौतिक संरचना निर्माणमा सहयोग गर्नेहरु सम्मानित भएका छन् ।