माझखर्कका अध्यक्ष चामलिङ सम्मानित 

४ महिना अघि

२0८१ बैशाख २५ मंगलवार
माझखर्कका अध्यक्ष चामलिङ सम्मानित 

उदयपुर, वैशाख २५

माझखर्क प्रकाशनका अध्यक्ष महेश्वर चामलिङ ‘प्रादेशिक पत्रकारिता पुरस्कार ०८१’बाट सम्मानित भएका छन् । माझखर्क साप्ताहिक, मुलुकी दैनिक र माझखर्क अनलाईनको समेत प्रकाशन संपादन गर्दै आएका पत्रकार चामलिङ नागरिक दैनिकको संस्थापक संबाददातासमेत हुन् ।


प्रदेश सरकार, आन्तरिक मामिला मन्त्रालयले प्रदान गर्ने उक्त पुरस्कार राशी १ लाख रुपैँया र सम्मानपत्र रहेको छ । सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले पत्रकार चामलिङलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरे । त्यसैगरी आन्तरिक मामिलामन्त्री शम्शेर राई, स्वास्थ्यमन्त्री प्रदिप सुनुवार, भौतिक पूर्वाधारमन्त्री कमल जवेगु र राज्यमन्त्री सुनिता गुरुङले अविर, माला र खादा लगाएर बधाई दिए । 


प्रदेश सरकारले नेपालको पहिलो सरकारी छापामाध्याम गोरखापत्र प्रकाशन सुरु गरेको दिन वैशाख २४ गतेलाई ‘पत्रकारिता दिवस’यो रुपमा मनाउँदै यो पुरस्कार प्रदान गर्ने गरेको मन्त्रालयका सचिव लक्ष्मी पौडेलले बताए । उनका अनुसार प्रदेशभित्र २५ वर्षसम्म पत्रकारिता गरेका ४५ वर्षमाथिका सञ्चाकर्मीलाई प्रदान गरिने यो पुरस्कार राईसँगै झापाका भीमलाल नेम्वाङ, मोरङका अनन्तराज न्यौपाने, धनकुटाका रमेशचन्द्र अधिकारी र सुनसरीका पिबी दियालीलाई प्रदान गरिएको छ । 


पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले सहीलाई सही र गलतलाई गलत भनेर लेख्न र बोल्न सक्ने हिमत पत्रकारलाई गर्न आग्रह गरे । प्रदेश १ मा पटकपटक गठन र बिघटनले अस्थीर बन्नुपर्दा प्रदेश सरकारले जनताको काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो । मुख्यमन्त्री कार्कीले आफु नेतृत्वको सरकार संविधानको अन्तिम धारा अनुसार बनेको हुनाले योभन्दा अर्को विकल्प हुन नसक्ने ठोकुवा गरे । 


कार्कीले पार्टीको केन्द्रमा हाछ्यु आउँदा प्रदेशका नेताहरु निमोनियाले ढलिसक्ने रोग रहेको भन्दै व्यङ्ग्य ठोके । सरकार ढाल्न र बनाउन लागिरहेका नेताहरुलाई उनले सहमति र सहकार्य गरेर अघि बढ्न अनुरोध गरे । सहमतिबाट अघि बढ्नका लागि जुनसुकै पार्टी मिल्न आए पनि सरकारमा सामेल गरेर अघि बढ्ने उनको भनाई थियो । 


कार्यक्रममा आन्तरिक मामिलामन्त्री राईले प्रदेशका पत्रकारलाई व्यवस्थित बनाउन, सरकारले ल्याएको प्रस्तावित सञ्चार ऐन् छलफलमा प्रवेश गरिसकेको बताए । पत्रकारको निष्पक्षता र निर्भिकताका लागि मन्त्रालयले हरेकवर्ष फरकफरक क्लस्टर र व्यवसायिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको भन्दै मन्त्री राईले पत्रकारहरुसँग एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाए । 


त्यसैगरी स्वास्थ्यमन्त्री सुनुवारले प्रदेश सरकारले सुरु गरेको १० वर्षमुनिका बालबालिकालाई निःशूल्क उपचारदेखि स्वास्थ्यक्षेत्रमा धेरै राम्रा कामहरु थालेको भए पनि अस्थीरताका कारण चाहेजस्तो काम गर्न नपाएको बताए । उनले राणा शासन, पञ्चायत र वहुदलीय व्यवस्था परिवर्तन गरेर गणतन्त्र ल्याउन भूमिका खेलेका पत्रकारहरुले अव सङ्घीयतालाई मजबुत बनाउन थप योगदान दिनुपर्ने बताए । 


कार्यक्रममा पत्रकार महासंघका कार्यवाहक अध्यक्ष लभदेव ढुङ्गाना, महासचिव बिबेक गौतम, पुरस्कृत रमेशचन्द्र ठकुरीले प्रदेश सरकारलाई सञ्चारमैत्री हुन र मिडिया विकासमा सहयोग गर्न आग्रह गरेका थिए ।