देश र जनहितमा सरकार एतिहासिक काम गर्दैछ ः प्रधानमन्त्री 

४ महिना अघि

२0८१ बैशाख २१ शुक्रबार
देश र जनहितमा सरकार एतिहासिक काम गर्दैछ ः प्रधानमन्त्री 

काठमाडौँ, वैशाख २१ 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले देश र जनताको पक्षमा वर्तमान सरकार ऐतिहासिक काम गरिरहेको बताएका छन् । 
शुक्रबार नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले प्रण गरे अनुसार देश र जनहितमा राम्रा काम मात्र गरिरहेको बताएका हुन् ।


‘मैले पदभार ग्रहण गर्दा भनेको थिएँ, देश र जनताको हितमा राम्रा कामहरू मात्रै गर्नेछु र सरकारी संयन्त्रलाई पनि राम्रा काम मात्रै गर्न निर्देशित गर्दछु’ प्रचण्डले भने ‘यस अवधिमा सरकारबाट भएका कामहरूलाई हेर्ने हो भने इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन् ।’


आफु सङ्कटपूर्ण अवस्थामा प्रधानमन्त्री भएको भन्दै उनले ध्वस्त अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गरे । प्रधानमन्त्रीले नेपाल श्रीलङ्का नै बन्दैछ, भन्ने भाष्य चिरेर गिर्दो अर्थतन्त्रलाई लयमा फर्काएको पनि बताए । 


‘शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, विप्रेषण आय, राजश्व सङ्कलनमा सुधार भएको छ,’ प्रचण्डले भने ‘अर्थतन्त्रका सूचकाङ्कहरू सकारात्मक दिशातर्फ उन्मुख छन् । वित्तीय नीति र मौद्रिक नीतिमा एकरूपता ल्याएर लगानीमैत्री वातावरण सिर्जना भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय बैंकको ब्याजदर घटेको, लघुवित्त र सहकारीका समस्या समाधान गर्ने पहल भएको र सार्वजनिक संंस्थान व्यवस्थापनमा सुधार ल्याइएको उल्लेख गर्दै पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएर पर्यटन क्षेत्रमा उत्साह छाएको बताए । 


सरकारले चालेको सुशासनका कार्यबारे बताउँदै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी काण्डको छानविन र ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक कार्वाही गर्नुका साथै सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराध कर्मको पर्दाफास भएको बताए । 


उनले मिटरब्याज पीडितहरूको पक्षमा उठाइएको कदम, नागरिक्ताविहीन नेपालीका सन्तानका लागि नागरिक्ता ऐन निर्माण गरी नागरिक्ता प्रदानजस्ता कार्यहरु जनताको पक्षमा महत्त्वपूर्ण रहेको बताए । राहादानी, सवारी चालक अनुमतिपत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम र सामाजिक न्यायको क्षेत्रमा 
 पनि महत्त्वपूर्ण काम भएको प्रचण्डको दावी थियो । 


विगतका सरकारले शैक्षिक वर्ष सुरु भएको ६ महिनासम्म पनि पाठ्यपुस्तक उपलब्ध नगराएको स्मरण गर्दै प्रचण्डले आफु प्रधानमन्त्री भएपछि गतवर्षदेखि समयमै पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको स्मरण गराए । यसवर्ष पनि देशभरका ५५ लाख बढी विद्यार्थीका लागि समय अगावै पाठ्यपुस्तक पुर्‍याइएको बताए । 


त्यसैगरी किसानहरूका लागि समयमै रासायनिक मलको प्रबन्ध सिलाइएको, बिपन्न र असहाय नागरिकका लागि अस्पतालमा २ हजार ९ सय निःशुल्क शैयाको व्यवस्थ गर्नुका साथै गैरआवासीय नेपालीहरूका लागि आर्थिक, सामाजिक, सांँस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिक्ता व्यवस्था गरिएको प्रचण्डले बताए । 


प्रधानमन्त्रीले नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएको जानकारी दिदै बङ्गलादेशसँग पनि विद्युत् बिक्रीको सहमति भईसकेको बताए । उनले देशभित्र विद्युत् उत्पादनमा जोड दिइएकाले देशको आर्थिक भविष्य उज्वल रहेको 
 स्पष्ट पारे ।