बेपत्ता बृद्धा भुल्के जङ्गलमा मृत फेला

४ महिना अघि

२0८१ बैशाख २0 बिहीबार
बेपत्ता बृद्धा  भुल्के जङ्गलमा मृत फेला

उदयपुर, वैशाख २०

साता दिनदेखि बेपत्ता रहेकी यहाँकी एक बृद्धा बिहीबार जङ्गलमा मृत अवस्थामा फेला परेकी छिन् । त्रियुगा नगरपालिका ३ भुल्केस्थित भुल्के सामुदायिक वन क्षेत्रको मौवाखुन खोला जङ्गलमा मृत भेटिएको व्यक्ति ताप्ली गाउँपालिका ३ इनामेकी ६१ वर्षीया दिलकुमारी मगर रहेको बताइएको छ । 


स्थानीयहरु घाँस दाउरा गर्न जाँदा बृद्धावस्थाकी महिला मृता प्mेला परेपछि प्रहरीलाई खवर गरेका थिए । स्थानीय उपभोक्ता यदु ढकालका अनुसार गाउँलेले बृद्धा मृत फेला परेको खवर गरे अनुसार आएको प्रहरीले मृतकको शव उठाएर अस्पताल लगेको छ । 


त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित आफन्त भावना मगरका अनुसार घरबाट उपचार गर्न आएकी उनी जिल्ला अस्पतालमा केहीदिन उपचार गरी आराम गर्न आफ्नो घरमा आएकी थिईन् । तर, कसैलाई नभनी एक्कासी घरबाट निस्केर सम्पर्कविहीन भएपछि भोलिपल्टै प्रहरीमा खवर गरेर खोजी कार्य थालिएको थियो । 
 

चिनजातका सबै नातागोता र आफन्तकोमा खोजी गर्दा पनि नभेटिएपछि उनको तस्विर टाँसेर खोजी कार्य भईरहदा उनी मृत भेटिएको मगरले बताईन् । 


प्रहरीले घट्नाको पुष्टि गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन चापागाईले स्थानीयलाई उद्धृत गर्दै भने ‘३–४ दिनअघि जङ्गलतर्फ जाँदै गरेको देखेर सोधिखोजी गर्दा ‘छोरी खोज्न हिडेको’ भन्ने जवाफ दिएको र ‘उता त जङ्गल छ नजानुस्’ भन्दा नबोली हिडेकी रहिछन् ।’ 


जङ्गल पुगेर रुख मुनि बसेको, त्यही उनको प्राण गएको अनुमान प्रहरीले गरेको छ । मृतकको शरिरका गरगहना यथावन रहेको र बायाँ पाखुरामा स्यालले लुछेर घाउ बनाएको डिएसपी चापागाईले बताए । स्थानीयले घट्नास्थलमा स्यालहरु पनि देखेको पनि उनको भनाई छ । 


सड्न लागेको अवस्थाको शव प्रहरीले सर्जमिन मुचुल्का गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगेको चापागाईले बताएका छन् ।