नेकपा (माओबादी केन्द्र)को संगठन सुदृढीकरण अभियानको तयारी पुरा

५ महिना अघि

२0८१ बैशाख १४ शुक्रबार
नेकपा (माओबादी केन्द्र)को  संगठन सुदृढीकरण अभियानको तयारी पुरा

उदयपुर, वैशाख १४

नेकपा (माओबादी केन्द्र)को वैशाख १५ गतेदेखि सुरु हुने ‘पूर्वेली संगठन सुदृढीकरण अभियान’को सम्पूर्ण तयारी पूरा भएको छ । साविक प्रदेश १ का १४ वटै जिल्लामा शनिबार विहान एकैचोटी सुरु हुने अभियानको सम्पूर्ण तयारी पुरा भएको पार्टी प्रदेश कमिटीले जनाएको छ । 


प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले प्रदेशका १४ जिल्लाभित्र समेटिएका १ सय ३७ वटा गाउँपालिका, नगर, उपमहानगर र महानगरपालिकामा शनिबारदेखि एकैचोटी अभियान सञ्चालन हुने बताए । उनका अनुसार सबै स्थानीयतहमा अभियान चलाउनका लागि पार्टीले जिल्ला, प्रदेश र केन्द्रीय समितिका नेताहरुलाई इन्चार्ज तोकेको छ । 


जस अनुसार उदयपुरमा पनि सबै स्थानीयतहमा अभियानको सुरुवात गर्ने गरी जिम्मेबारी तोकेर पठाइएको छ । जिल्ला समन्वय कमिटी सचिव किरण राईले उदयपुरका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहमा प्रभावकारी, अर्थपूर्ण र सफलतापूर्वक अभियान सञ्चालन गर्न जिम्मेबारी तोकेर पठाईसकिएको बताए । 


सचिव राईका अनुसार त्रियुगा नगरपालिकामा केन्द्रीय सदस्य मोहन खत्री (दिपक)लाई अभियानको इन्चार्ज तोकिएको छ भने बेलका नगरपालिकामा अर्की केन्द्रीय सदस्य मणि खम्बु किरातीलाई तोकिएको छ । कटारी नगरपालिकामा बैकल्पिक केन्द्रीय सदस्य भेषकुमारी राउत (कोपिला) र चौदण्डीगढी नगरपालिकामा सचिव राईलाई नै इञ्चार्ज तोकिएको छ । 


त्यस्तै रौतामाई गाउँपालिकामा अर्का बैकल्पिक केन्द्रीय सदस्य केपी बराल, ताप्ली गाउँपालिकामा जिल्ला समन्वय समिति संयोजक बिनोद कटुवाल (दिवस), उदयपुरगढीमा प्रदेश सदस्य द्रोण पौडेल (निरज) र लिमचुङबुङ गाउँपालिकामा अर्का प्रदेश कमिटी सदस्य काजीमान तामाङ (जिज्ञासा)लाई इन्चार्ज तोकिएको छ । 


सचिव राईका अनुसार जिम्मेबारी तोकिएका केन्द्र तथा प्रदेशस्तरका इञ्चार्जहरुको साथमा जिल्ला कमिटीका जिम्मेबार नेताहरुलाई पनि अभियानमा साथ दिन खटाइएको छ । उनीहरुलाई साथ दिन नगर तथा गाँउ कमिटीका पदाधिकारी र सदस्यहरुलाई पनि आआफ्नो क्षेत्रमा सहकार्य गरेर अभियान सफल बनाउन पाटीले निर्देशन दिएको छ । 


त्यसैगरी वाईसिएल (युवा), महिला, दलित, आदिवासी  जनजाति, मजदुर, शिक्षक, कर्मचारी, पत्रकारलगायत जनवर्गीय संगठनहरु तथा जातीय मोर्चा र भ्रातृ तथा भगिनी संघसंगठनले पनि अभियानमा साथ दिनुपर्ने पार्टी निर्देशन छ । 


पार्टीले अभियान सफल बनाउन तयारी बैठकहरु पनि सबै स्थानीयतहमा सम्पन्न गरिसकेको जनाएको छ । जस अनुसार केन्द्रीय सदस्य खत्रीले बिहीबार सबै प्रदेश विभाग सदस्यहरुको बैठक सम्पन्न भएको बताएका छन् । त्रियुगा नगरपालिका ३ बसपार्कस्थित सहिद स्मृति प्रतिष्ठान भवनमा सम्पन्न बैठकमा केन्द्रीय सल्लाहकार मीनबहादुर ज्युठकुरी, त्रियुगा नगर कमिटी इन्चार्ज बिमल किराती, प्रेस सेन्टर उदयपुर इञ्चार्ज महेश्वर चामलिङ तथा विभिन्न जनवर्गीय संगठनका इञ्चार्ज तथा पदाधिकारीहरुसमेतको उपस्थिति थियो ।


त्यसैगरी शुक्रबार प्रचार प्रसार फ्र्याक्सन इञ्चार्ज राजन किराती (बासु)ले गाईघाटमा प्रेस सेन्टर नेपाल सम्बद्ध पत्रकारहरुको बैठक सम्पन्न गरेका छन् । बैठकमा ईञ्चार्ज राई, जिल्ला समन्वय सचिव किराण राई, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज महेश्वर चामलिङ, केन्द्रीय सदस्य तथा संस्थापक जिल्ला अध्यक्ष हरिकुमार राई, केन्द्रीय सदस्यहरु, प्रदेश सचिव लगायत सेन्टरमा आबद्ध पत्रकारहरुको सहभागिता थियो । 


बैठकले २ महिले पूसंसु अभियान पूर्णरुपमा सम्पन्न पार्न पायक पर्ने ठाउँमा सेन्टरकर्मीहरु आफै सहभागी हुने र संभव नभए सम्बन्धित स्थानीयतका पार्टी नेतृत्वसँग समन्वय गरेर प्रचार प्रसार कार्यलाई व्यापक बनाउने निर्णय गरेको सेन्टरका अध्यक्ष सुपराज किरातीले बताए ।