उदयपुरगढीमा आगोले अर्को घर नष्ट, ताप्ली अग्निपीडितलाई राहत 

५ महिना अघि

२0८१ बैशाख १२ बुधबार
उदयपुरगढीमा आगोले अर्को घर नष्ट, ताप्ली अग्निपीडितलाई राहत 

उदयपुर, वैशाख १२

आगलागीबाट दैनिक क्षति गरिरहेको उदयपुरमा बुधबार अर्को घर पनि जलेको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका ७ कमेरेस्थित चित्रबहादुर मगरको घर बुधबार विहान जलेर नष्ट भएको हो । 


विद्युतीय सर्ट भएर उब्जेको आगोले मगरको २ तले घर र घरभित्रका सम्पूर्ण अन्नपात, लुगाफाटा, भाँडाबर्तन र कागजातलगायत धनसम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोले मगरको १२ लाख ५० हजार हाराहारी क्षति भएको पीडितलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


वडाध्यक्ष भूवन मगरका अनुसार आगलागीको खवर पाएलगत्तै खटेको प्रहरी चौकी नेपालटारबाट खटेको टोलीले स्थानीयको सहयोगमा दुईघण्टा लगाएर आगो नियन्त्रणमा आएको छ । दुईदिनअघि मात्र उदयपुरगढीकै ६ नं. वडा रातमाटेमा निरबहादुर कटुवालको घर जल्दा ८ लाख ६६ हजार बराबरको क्षति भएको थियो ।  


जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार यसअघि जिल्लाको ताप्ली २ को नारीमाला तथा लिमचुङबुङ ५ को चौलानेमा २ घर, २ मतान र ४ गोठ जलेर नष्ट भएका थिए । नारीमालामा स्थानीय उत्तमबहादुर मगरको घरबाट उब्जेको आगो गाउँ फैलिदा उनकोसहित अमिर मगर र यामबहाुदर मगरको घर गोठ जलेर २२ लाख ४९ हजार बराबर क्षति भएको छ । उत्तमको ११ लाख २९ हजार, अमीरको १० लाख र १ लाख २० हजार बराबर क्षति भएको एसपी थापाले बताए । 


उता ३ दिनअघि लिमचुङबुङ ५ चौलानेको आगलागीमा परी अशोक राईको घर, मतान र गोठ, बयानसिंह राईको घर, मतान र गोठ तथा कुमार राईको गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय हुरुङमा सामुदायिक वन उपभोक्ता समूहमा लागेको आगो अनियन्त्रित भई गाउँ पसेर आगलागी भएको एसपी थापाले बताए । उनका अनुसार आगोले ३ परिवारको गरी साढे ७ लाख बराबर क्षति भएको छ ।


एसपी थापाका अनुसार गएको १ सय घण्टाभित्र ८ घर, ८ मतान र १२ गोठ जलेर ५० लाख हाराहारी धनमाल क्षति पुगेको छ । आगोले घर गोठसँगै चौपायातर्फ ३ वटा खसीसमेत जलेर मारेका छन् । सुख्खायाम र चर्को हावाहुरीका कारण जिल्लाका सबै स्थानीयतहका जङ्गलहरुमा डढेलो लागेर गाउँबस्ती जोखिममा परेको प्रहरीले जनाएको छ । 

 

एसपी थापाले डढेलो नियन्त्रण तथा आगलागीबाट बँच्न दुईवटै डिभिजन वन कार्यालय गाईघाट र कटारी तथा सामुदायिक वन उपभोक्ता समूहसँगसमन्वय गरेर अग्नि नियन्त्रत्र तथा डढेलो मार्ने काम गरिरहेको बताएका छन् । तर, एकातर्फ नियन्त्रण गरे पनि अर्को ठाउँमा डढेलो र आगलागीका घट्ना निरन्तर भईरहेको पनि उनले बताए । 

 

पीडितलाई गाउँपालिकाको राहत

यसैबीच ताप्ली गाउँपालिकाले अग्नि पीडितहरुलाई राहत प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्मा घट्नास्थल नारीमालामै पुगेर आवश्यक राहत वितरण गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त राईका अनुसार अध्यक्ष मगरले पीडितहरुलाई एकसरो लुगा कपडा, भाँडाकुडा र खाद्यान्न राहतस्वरुप प्रदान गरेका छन् । 


सो क्रममा अध्यक्ष विश्वकर्माले आगलागीबाट वर्षेनी करोडौँ धनमालको क्षति गर्ने गरेको भन्दै आगलागीबाट बँच्न सचेतना अपनाउन तथा प्रतिकार्यको पूर्व तयारी गर्नुपर्नेमा जोड दिए । उनले दैवी बिपत्तीबाहेक आगलागीबाट बँच्न स्थानीय स्वयम् सचेत हुनुपर्ने बताउँदै अग्निपीडितहरुलाई सक्दो राहत सहयोग गर्न तथा पुनर्वासको व्यवस्था मिलाउन स्थानीय सरकार तयार रहेको बताए ।