उदयपुरमा एकैचाटी दुईठाउँ आगलागी, ५ घर जलेर १५ लाख क्षति

५ महिना अघि

२0८१ बैशाख १0 सोमबार
उदयपुरमा एकैचाटी दुईठाउँ आगलागी, ५ घर जलेर १५ लाख क्षति

उदयपुर, वैशाख १०


छुट्टाछुट्टै २ ठाउँमा एकैचोटी आगलागी हुँदा उदयपुरमा ५ घर, २ मतान र त्यत्तिकै सङ्ख्यामा गोठ र ग्वाली जलेर लाखौँको क्षति भएको छ । सोमबार दिउँसो ३ः०० बजे जिल्लाको उदयपुरगढी गाँउपालिका ६ रातमाटे र लिमचुङबुङ गाउँपालिका ५ जाँतेमा आगोले क्षति गरेको छ । 


रातमाटेका निरबहादुर कटवालको इँटाको गाँरो र टिनको छानो भएको १ तले घर र घरसगैं रहेको ग्वाली गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोले कटुवालको घर, घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडा, काठपात र महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ । त्यस्तै ग्वाली गोठ  जल्दा ३ वटा खसी, ३ वटा बोकासमेत जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरलेजनाएको छ । 


आगलागीबाट कटुवालको करिब ८ लाख ६५ हजार बराबर क्षति पुगेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताएका छन् । आगो अस्थायी प्रहरी पोष्ट नेपालटार उदयपुरवाट खटेको टोली र स्थानीय भेला भएर दमकलको सहयोगमा सवा ४ः०० बजे नियन्त्रण गर्न सफल भएको प्रहरीले जनाएको छ ।


त्यसैगरी सोही दिन दिउँसो नै पहाडी गाउँपालिका लिमचुङबुङ ५ जाँतेमा लागेको आगोले स्थानीय अशोक राई र बयानसिंह राईको घर गोठ र कुमार राईको गोठ जलेर नष्ट भएको छ । स्थानीय हुरुङवा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा लागेको डडेलोको झिलको हावाहुरीले बस्तीसम्म ल्याउँदा उनीहरुको घर जल्न पुगेको प्रहरीले जनाएको छ । 


आगोले बयानसिंह राईको ढुङ्गा माटोले बनेको घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन र कागजपत्र समेत जलेर क्षति पुगेको छ । उनको ३ लाख बराबरको क्षति पुगेको प्रहरीले ज नाएको छ । त्यसैगरी अशोक राई्को ढुङ्गा माटो र फुसको छानो भएको २ तले घरमा आगलागी हुँदा घर, घरभित्र भएको अन्नपात, भाडावर्तन, लत्ताकपडा र कागजपत्र सबै जलेर नष्ट भएको छ । उनको २ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 

त्यसैगरी कुमार राईको मतानमा आगलागी हुँदा मतानभित्र भएको अन्नपात, भाडावर्तन समेत गरी १ लाख बराबर क्षति भएको प्रहरीले जनाएको छ । आगो इलाका प्रहरी कार्यालय लिमचुङबुङवाट खटिएको प्रहरी टोली र स्थानीयहरुको सहयोगमा ४ः३० बजेसम्मको प्रयासमा नियन्त्रणमा लिइएको छ । 


चौलानेमा भएको आगलागी स्थानीय वन समूहको जङ्गलबाट फैलिएर लागेको हो । बिगत ३ दिनयता वन समूहको जङ्गलमा लागेको डढेलो समयमै नियन्त्रण गर्न नसक्दा यस्तो क्षति हुन पुगेको स्थानीयको गुनासो छ । समूहका अध्यक्ष मकमशेर राईका अनुसार जङ्गलमा एक्कासी लागेको डढेलो सबै उपभोक्ता मिलेर नियन्त्रण गरेको भए पनि चर्को हावाहुरीका कारण घर गोठ जल्ने अप्रिय घट्ना हुन गएको हो । 


डढेलो नियन्त्रण गर्न सबै उपभोक्ता लागी परेर अघिल्लो राति नै आगो निभाईसकेको उनले बताए । तर, जङ्गलमा रुखको ठुटोमा ननिभेको आगो हावाहुरीले झिलको उडाएर घरसम्म ल्याएपछि दुर्घटना हुन पुगेको अध्यक्ष राईले बताए । आगलागीको घट्नाले पीडित परिवार खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् । 

 

पीडितहरुले तत्काल राहतको व्यवस्था गर्न माग गरेका छन् । लिमचुङबुङ ५ का वडाध्यक्ष बविचन्द्र राईले राहत व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय, गाउँपालिका र रेडक्रस सोसाईटीलाई सिफारिससहित पत्राचार गरेको बताए । हाललाई जाल्पा एकीकृत समाजले तत्कालीन राहत उपलब्ध गराएको र सम्बन्धित निकायबाट पनि छिट्टै राहत वितरण हुने वडाध्यक्ष राईले बताएका छन् । 


प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आगलागी भएको जानकारी आएको बताउँदै सम्बन्धित वडाको सिफारिस आउनेबित्तिकै नियमानुसार राहत उपलब्ध गराउने बताए । नेपाल रेडक्रस सोसाईटी उदयपुरले पनि सम्बन्धित वडा र जिल्ला विपत् व्यवस्थापन समिति (जिल्ला प्रशासन कार्यालय)बाट पत्र प्राप्त हुनेबित्तिकै राहत उपलब्ध गराईहाल्ने सभापति मदनराज कटुवालले बताए ।