१४ औँ राष्ट्रिय राष्ट्रपति सिल्डमा लिमचुङबुङका जिबेशलाई स्वर्ण 

५ महिना अघि

२0८१ बैशाख ८ शनिबार
१४ औँ राष्ट्रिय राष्ट्रपति सिल्डमा लिमचुङबुङका जिबेशलाई स्वर्ण 

गाईघाट, वैशाख ८

भर्खरै सम्पन्न ‘१४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता ०८०’मा उदयपुरका जिबेश राईलाई स्वर्ण पदक प्राप्त भएको छ । बैशाख ४ देखि ६ गतेसम्म राजधानी काठमाडौँमा सम्पन्न प्रतियोगितामा लिमचुङबुङ गाउँपालिका ४ बलम्ताका जिबेशसहित उदयपुरका ३ जना पुरस्कृत भएका छन् । ा 


जिबेसले करातेतर्फ ६२ किलोग्राम तौलतर्फ स्वर्ण पदक हात पारेका हुन् । जिल्ला खेलकुद विकास समिति उदयपुरका अनुसार स्वर्ण पदक बिजेता राई छात्रतर्फ उत्कृष्ट खेलाडीसमेत घोषित भएका छन् । 


७ वटै प्रदेशका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा राई १ नं. प्रदेशबाट प्रतिनिधित्व गर्दै स्वर्ण जित्न सफल भएको खेलकुद विकास समितिका कराते प्रशिक्षक प्रकाशराम राईले बताए । उनका अनुसार सात प्रदेशबाट सहभागी ८४ खेलाडीमध्ये १ नं.बाट छात्र–छात्रा ६–६ गरी १२ जना स्पर्धीको सहभागिता थियो । प्रतियोगितामा राईसहित १ नं. प्रदेश २ स्वर्ण, ६ रजत १ कास्य पदकसहित दोस्रो स्थान लिन सफल भएको छ । 


यसअघि सम्पन्न त्रियुगा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पनि जिबेस प्रथम भएका थिए । त्रियुगा नगरपालिकास्तरीय अन्तर विद्यालय प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल जिबेस जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट हुँदै प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भई प्रथम भएका थिए । स्थानीयतह र प्रदशमा प्रथम भएर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका उनी राष्ट्रियस्तरमा पनि करातेतर्फ स्वर्ण जित्न सफल भएको प्रशिक्षक राईले जनाएका छन् । 


जिबेशसँगै यस प्रतियोगितामा उदयपुरका थप २ खेलाडी तेस्रो हुन सफल भएका छन् । ५७ केजी तौल समूहमा सुजन तामाङ तेस्रो हुँदा ५२ केजी तौलतर्फ प्रविण श्रेष्ठले पनि तेस्रो स्थान पाउन सफल भएका छन् ।