साकेलाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाई 

५ महिना अघि

२0८१ बैशाख ७ शुक्रबार
साकेलाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाई 

खोटाङ, वैशाख ७

यहाँको साकेला गाउँपालिकाका सामुदायिक विद्यालयमा यस वर्षदेखि अंग्रेजि माध्यमबाट पठनपाठन हुने भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन गर्ने निर्णय गरेको हो । 


भर्खरै सम्पन्न गाउँ शिक्षा समितिको बैठकले आधारभूततहका कक्षा ३ सम्मका बालबालिकालाई अंग्रेजि माध्यममा पठनपाठन गराउने निर्णय गरेको अध्यक्ष रबिप्रकाश राईले बताए । यसवर्ष विभिन्न ५ वटा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमको पठनपाठन सुरु गर्ने तयारी पुरा गरेको अध्यक्ष राईले बताए । 


बालबालिका र अभिभावकको अंग्रजिमोहले बोर्डिङतर्फ झुकाव बढेको देखिएकाले सामुदायिक विद्यालयमै त्यो आवश्यक्ता पुरा गर्न यस्तो निर्णय गरिएको हो । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दै जानुको मुख्य कारण अभिभावकहरुमा अंग्रेजि मोह भएको ठहर गर्दै यसै शैक्षिकवर्षदेखि अंग्रेजि माध्यममा पढाई सञ्चालन गर्न लागेको गाउँ शिक्षा समिति संयोजकसमेत रहेका अध्यक्ष राईले बताए । 


वैठकले सबै सामुदायिक विद्यालयमा आकर्षण थप्न गुणस्तरीय शिक्षाका लागि पठनपाठनमा सुधार ल्याउन निर्णय पनि गरेको छ । यसो गरे मात्र सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्न सक्ने ठहर बैठकले गरेको गरेको छ । 


शिक्षा समृद्धिको मुहान भएको हुनाले गुणस्तरीय, व्यवहारिक र वैज्ञानिक शिक्षा प्रदान शिशुतहबाटै त्यसतर्फ ध्यान दिन सबै शिक्षकहरुलाई बैठकले निदेर्श पनि गरेको छ । शिशु तहबाटै नैतिक र व्यवहारिक शिक्षाको थालनी गर्न सके भविष्यको युवा पिँढी शिक्षित हुने र त्यसले गाउँ, समाज र देश बनाउने बैठकको निश्कर्ष छ । 


गाउँपालिकाका शिक्षा शाखा प्रमुख कविराज राईले अंग्रेजि माध्यमको पठनपाठनका लागि सबै विद्यालयमा पाठ्यपुस्तक पनि निःशूल्क उपलब्ध गराइने बताए । उनका अनुसार अंग्रेजि माध्यमका पाठ्यपुस्तक खरिद गर्नका लागि गाउँपालिका अध्यक्ष राईले १ लाख रुपैँया व्यक्तिगत चन्दा पनि प्रदान गरेका छन् ।