डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’

५ महिना अघि

२0८१ बैशाख ५ बुधबार
डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’

भद्रपुर, वैशाख ५ 

आँखा विरामीका लागि भगवानको उपमा पाएका नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ५ लाख राशीको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ । झापाको रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कार  प्रदान गरिएको हो । 


मङ्गलबार आयोजित एक कार्यक्रममा डा. रुईतलाई १ नं. प्रदेश प्रमुख परशुराम खापुङले ५ लाख नगद राशीसहित सम्मानपत्र डा. रुइतलाई हस्तान्तरण गरे । कार्यक्रममा यसवर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापा बुद्धशान्ति गाउँपालिका १ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरियो । पुरसकार राशी १ लाख १ हजार १ सय ११ रुपैँयाको छ । 


पुरस्कार वितरण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले मानव हित र समाजिक विकासमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई यो पुरस्कार प्रदान गरिदै आएको बताए । संसारभरका ज्योति गुमाएर अन्धकार जीवन बाँच्दै आएका हजारौलाई नयाँ संसार देखाएर उल्लेख्य योगदान गरेका डा. रुईतलाई पुरस्कार र सम्मान गर्न पाउँदा गौरवान्वित भएको ओलीले बताए । 


ताप्लेजुङको ओलाङ्चुङगोलामा पिता सोनाम रुइत र माता केसाङ रुइतको गर्भबाट २०११ भदौ १९ गते जन्मेका डा. रुइतले सरल र कम लागतमा आँखामा हुने मोतीबिन्दु उपचार पद्धति विकास गरेर उपचार गर्दै आएका छन् । उनको उपचार आविस्कारलाई ‘रुइतेक्टोमी’ नाम दिइएको छ ।


यस्तै, तीक्ष्ण बुद्धिका धनी १७ वर्षीय सविनले मिनी हवाइजहाज, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकल लगायतका सामग्री निर्माण गर्नुभएको छ । उहाँलाई उक्त कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।


कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेल, अग्रज पत्रकार चन्द्र भण्डारीलगायतको उपस्थिति थियो । सो अवसरमा प्रतिष्ठानको गतिविधि समेटिएको स्मारिका विमोचन गरिएको थियो ।