झगडा मिलाउन गएका युवाको हत्या 

५ महिना अघि

२0८१ बैशाख ३ सोमबार
झगडा मिलाउन गएका युवाको हत्या 

उदयपुर, वैशाख ३

साथीमाथि आक्रमण भएपछि छुट्याउन गएका खोटाङका एक युवाको हत्या भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका भीम बस्नेतमाथि कुटपिट भएको खवर पाएर छुट्याउन गएका सोही ठाउँका धनजित राईको छुरा प्रहारबाट हत्या भएको हो । 


वैशाख १ गते नयाँ वर्षको राति ८ः०० बजेको समयमा ३० वर्षीय बस्नेतमाथि कुटपिट भयो । बस्नतेलाई बचाउन श्रीमतिले हारगुहार गर्दे गाउँलेलाई बोलाएपछि धनजित झगडा मिलाउन भनेर घट्नास्थल पुगे । तर, उनीमाथि नै निर्मम छुरा प्रहार भएपछि बेहोस् भई ढले । 


घट्नापछि आक्रमणकारीहरु भागे पनि धनजितको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्याल प्रमुख डिएसपी पुरुषोत्तम खड्काले हत्यामा संलग्न भएको आरोपमा स्थानीय ३ युवालाई सोमबार विहान पक्राउ गरिएको बताए । पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ कै २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राई रहेका छन् । 


उनीहरुलाई जिल्ला प्रहरी र नजिकको प्रहरी चौकीको संयुक्त टोलीले खोज तलास गर्ने क्रममा दिक्तेल रुपाकोट मझुवागढी १० मै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । 
हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।