रौता पोखरीमा नयाँ वर्ष मनाउनेको धुईरो 

५ महिना अघि

२0८१ बैशाख २ आईतवार
रौता पोखरीमा नयाँ वर्ष मनाउनेको धुईरो 

रौता पोखरी, वैशाख २ 

रौतामाई गाउँपालिको प्रमुख पर्यटकीयस्थल रौता पोखरीमा नयाँ वर्ष ०८१ मनाउनेको धुईरो लागेको छ । नयाँ वर्षको अवसरमा आयोजित मेलामा यसवर्ष अनपेक्षित भीड हुने गरी आन्तरिक पर्यटकहरु भेला भएका हुन् । 


धार्मिक तथा ऐतिहासिक महत्वसमेत भएको पर्यटकीयस्थल रौता पोखरीमा विगत वर्षहरुभन्दा धेरै गुणा बढी भक्तजन तथा पर्यटक आएपछि बजारमा खानेबस्ने होटल र लजहरु सबै भरिभराउ भएको स्थानीय व्यापारीहरुले बताएका छन् । नयाँ वर्ष लाग्नु अघिल्लो दिनदेखि ह्वारह्वार्ती पर्यटक आउन थालेको र शनिबार पनि उत्तिकै आउने क्रमले खाने बस्ने व्यवस्था गर्न स्थानीय होटल तथा होमस्टेहरुलाई हम्म भएको रौता दर्शन भ्यु होटलकी सञ्चालक समीक्षा मगरले बताईन् । 

 

बजारमा दुईदर्जन हाराहारी मात्र होटल तथा होमस्टेहरु सबै भरिएकाले कतिपय पर्यटकहरुले चौरीमा खाना पकाएर वनभोज पाराले खान बाध्य भएको मगरले बताईन् । रौता पोखरीमा हरेक नयाँ वर्षमा मेला लाग्ने गरेको छ । तर, विगत वर्षहरुभन्दा धेरै गुणा बढी पर्यटक यसवर्ष भित्रिएको स्थानीयको भनाई छ । 


सङ्घीयता आएपछि रौतामाई गाउँपालिकाले रौता पोखरी क्षेत्रलाई प्रमुख पर्यटकीयस्थल बनाउने गरी भौतिक पूर्वाधार संरचना र आकर्षणहरु थप्दै लगेकाले पन िपर्यटनको गन्तव्य बन्दै गएको छ । मेला आयोजक रौता पोखरी धार्मिक संस्थाका अध्यक्ष नन्द विकले यस पटक अघिल्ला वर्षहरुको तुलनामा ४–५ गुणा बढी पर्यटक आएको बताए । विकका अनुसार यसवर्ष जत्तिको धेरै मान्छे यसअघि कहिल्यै आएका थिएनन् । 


यति धेरै आगन्तक रौता पोखरीमा पहिलो पटक देखेको स्थानीय होमस्टे सञ्चालक प्रेमिका राईले बताईन् । ‘पहिला पहिला पनि नयाँ वर्ष मनाउन आउनेहरु थुप्रै हुन्थे’  राईले भनिन् ‘तर, यसपाली त्यो भन्दा धेरै बढी मान्छेहरु आए ।’ यसवर्ष सदरमुकाम गाईघाट तथा जिल्लाका विभिन्न ठाउँ हुँदै छिमेकी जिल्लाहरुबाट पनि पर्यटक र भक्तजन आएको राईले बताईन् । 


धार्मिक संस्था र अस्थायी प्रहरी पोष्ट रौता पोखरीको समन्वयमा मेला व्यवस्थापन समिति गठन गरेर पर्यटक र भक्तजनलाई सुरक्षित पुजापाठ घुमफिरको चाँजोपाँजो मिलाएको रौतामाई ६ का वडाध्यक्ष पृथ्वी राईले बताए । वडाध्यक्ष राईका अनुसार यसपटक सोँचेभन्दा धेरै बढी पर्यटक आएका छन् । सङ्ख्या यकिन नभए पनि झण्डै ५० हजार हाराहारी मेलामा सहभागी भएको वडाध्यक्ष राईको आँकलन छ । 


भक्तजन र आगन्तुकको चापले बजारका सबै होमस्टे, होटल तथा लजहरु भरिएपछि बजारका स्टलहरु पनि खचाखच ग्राहकले भरिभराउ भएको होमस्टे सञ्चालक साईमन राईले बताए । उनका अनसार रौता पोखरी बजारमा ठूलो लगानीको होटल एउटा मात्र छ । करोड बढी लगानीमा ‘रौता दरवार माउण्टेन भ्यु रिसोर्ट’ दुईवर्षयता सञ्चालनमा आएको छ । अन्य होटलहरु मध्यम र साना लगानीमा खुलेका छन् । भर्खरै ‘रौता दर्शन भ्यु होटल’ पनि सञ्चालनमा आएको छ भने दुईदर्जन हाराहारी साना होटल र होमस्टेहरु छन् । यसवर्षको मेलामा आगन्तुक भरिएको अवस्थामा ती होटल र होमस्टेहरुबाट सेवा प्रवाह गर्न धेरै कठिनाई भएको वडाध्यक्ष राईले बताए । 


गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले रौता पोखरी क्षेत्रलाई गाउँपालिकाले केहीवर्षयता पर्यटकमैत्री गन्तव्यस्थल बनाउने अभियान चलाईरहेको बताए । रौता पोखरी जिल्लाकै सबभन्दा ठूलो र प्रचुर संभावना बोकेको पर्यटकीयस्थल भएकाले गाउँपालिकाले वर्षेनी बजेट छुट्याएर भौतिक पूर्वाधार संरचनाहरु निर्माण गर्दै लगेको अध्यक्ष मगरले बताएका छन् । 


तर, अझै पर्याप्त नभईरहेकाले गाउँपालिकाले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर थप पूर्वाधार निर्माणको प्रयास जारी राखेको अध्यक्ष मगरको भनाई छ । पर्यटन मन्त्रालयसँगकै साझेदारीमा निर्माण भएको अतिथि भवन तथा सभाहल सञ्चालनको क्रममा छ । ती भवन सञ्चालनमा आएपछि भक्तजन आगन्तकलाई बस्न र बैठक, गोष्ठीजस्ता कार्यक्रम गर्न व्यवस्था मिलाउने तयारीमा गाउँपालिका लागेको छ ।
 

रौता पोखरी चिसो र स्वस्थ्य वातावरण भएको समुद्री सतहदेखि १९ हजार फिट अग्लो उचाईमा छ । आकर्षक चौरी र नागबेली  जङ्गलले घेरिएको मनोरम भूभागमा सुन्दर पोखरी छ भने पोखरीभन्दा केही माथि र दायाँवायाँँबाट टाढाटाढाका दृष्यहरु हेर्न मिल्छ । त्यहाँबाट उदाउँदो र अस्ताउँदो सूर्य तथा हिमालय श्रृङ्खला र नेपाल र भारतसम्मका सहर बजारहरु देख्न पाइने भएकाले पर्यटक रमाउन पाउँछन् । 


पोखरी छेउमै स्थापित रौतामाई मन्दिरमा पुजा आराधना गर्दा मनोकामना पुरा हुने जनविश्वास छ । पाठी र परेवाको वली दिएर पुजा गरिने मन्दिरमा दर्शन गर्न आउनेदेखि रमाउन र घुमफिरका लागि आउनेहरु उत्तिकै हुन्छन् । तर, हिउँदभन्दा  बर्खा याममा आगन्तुकहरु बढी आउने गर्छन । गर्मी सुरु भएसँगै पर्यटकहरु चिसो खान हरेक दिन त्यहाँ पुग्ने गर्छन् । 


पुजा गर्नेसँगै घुमफिर र गर्मी छल्न आउने पर्यटकहरु बढी हुुने गरेका छन् । स्थानीय शिक्षक बलराम राईका अनुसार हिउँदमा बली दिन र पुजा गर्न मात्र आउने तर, गर्मी याममा पिक्नीक खान, गर्मी छल्न र पुजा गर्ने आगन्तकको भीडा लाग्ुने गरेको छ ।’


सदरमुकाम गाईघाटदेखि ४८ किलोमिटर उत्तरमा अवस्थित रौता पोखरी पुग्न चारैतिरबाट कच्ची सडकको सञ्जाल जोडिईसकेको छ । तर, स्तरोन्नति नभएका कारण सानाखाले चारपाङ्ग्रे सवारी साधनलाई त्यहाँ पुग्न धौधौ हुन्छ । मोटरसाईकल, बोलेरो जिप र ठूला बस भने सहजै पुग्छन् ।