लिमचुङबुङको प्रहरी भवन उद्घाटन 

५ महिना अघि

२0८१ बैशाख १ शनिबार
लिमचुङबुङको प्रहरी भवन उद्घाटन 

बाराहा (लिमचुङबुङ),, वैशाख १ 

 

जिल्लाको बिकट पहाडी गाउँपालिका लिमचुङबुङमा नवनिर्मित इलाका प्रहरी भवन उद्घाटन भएको छ । गाउँपालिका केन्द्र बाराहासँगै जोडिएको वडा नं. २ मा ४ वर्षअघि सुरु भवनको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजिपी) टेकप्रसाद राईले शुक्रबार उद्घाटन गरेका हुन् । 


संघीय सरकारको सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरको रेखदेखमा निर्मित अढाईतले भवनमा १२ कोठ रहेका छन् । भुईतलामा कार्यालय, व्यारेक र थुनुवा कक्षका लागि ८ कोठा रहेको भवनको पहिलो तल्लाका ४ कोठा कार्यालय प्रमुखको आवास प्रयोजनमा उपयोग गरिनेछ । 


भुस्नाम्छा निर्माण सेवा गाईघाटले मूल्य अद्धिबृद्धि कर (भ्याट)बाहेक १ करोड ५१ लाख ८७ हजार २ सय २८ रुपैंयामा निर्माणको जिम्मा लिएको भवन ०७७ असार ५ गते सम्झौता गरेर निर्माण सुरु भएको थियो । ०७८ असार पहिलो साताभित्र निर्माण सक्ने सम्झौता भए पनि कोविडका कारण काम अवरोध भएपछि म्याद थपेर एकवर्षअघि सम्पन्न भएको हो । 


वर्षदिनअघि नै काम सम्पन्न भए पनि घेरावार, खानेपानी र अन्य तयारी बाँकी रहेका कारण उद्घाटन गर्न अहिलेसम्म लागेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । गाउँपालिका भवन निर्माण प्रयोजनका लागि स्थानीयहरुले निःशूल्क दान दिएको १७ रोपनी क्षेत्रफल जमिनमा निर्मित भवन उद्घाटनसँगै सञ्चालनमा आएको एसपी थापाले बताएका छन् ।