स्कुटी ओभरटेक गर्नाले लिलाको ज्यान गयो 

५ महिना अघि

२0८0 चैत्र २५ आईतवार
स्कुटी ओभरटेक गर्नाले लिलाको ज्यान गयो 

उदयपुर, चैत २५

एउटा स्कुटीले अर्कोलाई ओभरटेक गर्ने क्रममा भएको दुर्घटनामा परी त्रियुगा नगरपालिका १३ ज्योति टोलकी लिला खत्रीको निधन भएको छ । सदरमुकाम गाईघाटस्थित आँखा अस्पतालछेउमा बोक्सेदेखि आएको स्कुटीलाई अर्को सोही दिसाबाट आएको स्कुटीले ओभरटेक गर्ने क्रममा दुर्घटनामा परी ३८ वर्षीया खत्रीको  निधन भएको हो । 


शनिबार दिउँसो ३ः५० बजे त्रियुगा नगरपालिका ११ आँखा अस्पतालछेउमा बोक्सेबाट गाईघाटतर्फ आउँदै गरेको स ८ प ४३२९ नं. को स्कुटीलाई सोही दिशाबाट आएको प्र १–०५–००१ प ९४३३ नं. को अर्को स्कुटीले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको थियो । दुर्घटनामा परी अगाडिको स्कुटी चालक खत्री गम्भीर घाईते भएकी थिईन् । 


टाउको र अनुहारभरी घाउचोट लागेर अचेत भएकी खत्रीलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगर न्युरो पठाइएको थियो । तर, न्यूरोमा उपचार नहुने भएपछि फिर्ता ल्याइएको उनको आईतबार विहान जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । 


न्युरोबाट फिर्ता ल्याएर उपचारकै क्रममा विहान १०ः३० बजे अस्पतालले खत्रीलाई मृत्त घोषित गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार मृत्तकको शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखेर थप कानुनी प्रक्रिया अघि बढाइएको छ । 


सोही स्कुटीको पछाडि सवार ज्योतीटोलकै ३२ वर्षीया कल्पना खत्रीको बाँया गाला र दुवै हातमा चोट लागेर घाईते भएकी छिन् । उनको जिल्ला अस्पताल गाईघाटमै उपचार भईरहेको छ र स्थिति सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ । ओभरटेक गर्ने ९४३३ नं. को स्कुटीको पछाडि सवार त्रियुगा १० घलेटोलका २५ वर्षीय निशान भुजेल सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।


ओभरटेक गर्ने ९४३३ नं. को स्कुटी चालक त्रियुगा नगरपालिका १० घलेटोलकै २४ वर्षीय विशाल भुजेललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । घट्नास्थल जिल्ला प्रहरी कार्यालय उदयपुरबाट झण्डै १ किलोमिटर दक्षिणमा छ । घट्नास्थलमा खटेको प्रहरी सहायक निरीक्षक टोलीले घाईतेहरुको उद्धार गरी अस्पताल लगेको थियो ।