सौर्य सिमेन्टको खानीबारे नेकपाको ध्यानाकर्षण 

५ महिना अघि

२0८0 चैत्र २२ बिहीबार
सौर्य सिमेन्टको खानीबारे नेकपाको ध्यानाकर्षण 

कटारी, चैत २२

नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाले कटारी नगरपालिका ८ गाल्टारस्थित सौर्य सिमेन्ट उद्योगको खानी बन्दको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । नेकपाले एक विज्ञप्ती प्रकाशित गरी स्थानीयले खानी बन्द हुनेगरी आन्दोलन गर्नुपर्ने अवस्था आउनुको पछाडि उद्योग, प्रशासन, प्रहरी र नगरपालिकालगायत राजनीतिक दलहरुको कमजोरी भएको औँल्याएको छ । 


पार्टीको पश्चिम उदयपुर कमिटीले प्रकाशित गरेको विज्ञप्तीमा खानीस्थल र आसपासका स्थानीयको भावना र मर्म अनुसार उद्योगले नगरेकै कारण स्थानीयहरु आन्दोलित भएको जनाइएको छ । कमिटीका इन्चार्ज दुर्गा सी र सेक्रेटरी जीतबहादुर सीले हस्ताक्षर गरेको विज्ञप्तीमा ३० वर्षसम्म सञ्चालन हुने खानीले पार्ने अल्पकालीन र दीर्घकालीन असर तथा प्रभावबारे सचेत भएर काम गर्न उद्योगलाई आग्रह गरिएको छ ।  


स्थानीयले खानी बन्द गर्ने गरी आन्दोलित हुनुपर्ने कारण नगरपालिका, प्रहरी र प्रशासन तथा स्थानीय राजनीतिक दलहरुले बेवास्ता गरेको विज्ञप्तीमा उल्लेख छ । खानीको बिबाद मिलाउन तथा स्थानीयको माग पुरा गर्ने विषयमा सर्वपक्षीय सचेत हुनुपनेर्मा विज्ञप्तीमा जोड दिइएको छ । 


उद्योगले खानी सञ्चालन गर्नुपूर्व गरेको प्रतिबद्धता, सम्झौता र शर्तहरुको पालना नगरेकै कारण स्थानीयहरु आन्दोलित हुन पुगेको भन्दै विज्ञप्तीमा त्यस्तो समस्या पत्ता लगाएर सर्वपक्षीय छलफल गरी समाधान निकाल्न आग्रह गरिएको छ । 


उद्योगले गाल्टारबाट २०६८ सालदेखि ०९८ साल (३० वर्ष)सम्म चुनढुङ्गा उत्खनन गर्ने सम्झौता गरेको भन्दै विज्ञप्तीमा खानीले स्थानीय सर्वसाधारणलाई पार्ने सकारात्मक तथा नकारात्मक प्रभावबारे अहिलेदेखि नै सचेत हुनुपर्नेमा जोड दिएको छ । अन्यथा भविष्यमा कुनै पनि दीर्घकालीन जोखिम हुनेखालका दुर्घटना हुनसक्ने भन्दै नेकपाले सरोकारवालाहरुलाई सचेत गराएको छ । 


उद्योगले शर्त उल्लङ्घन गरेको भन्दै स्थानीयवासीले अवरोध गरेका कारण सातादिनयता खानी बन्द रहेको छ । गत १५ गतेदेखि बन्द भएको खानी सुचारु गर्न नगरपालिका, प्रहरी, प्रशासन, राजनीतिक दल र उद्योग प्रतिनिधिबीच लामो छलफल भए पनि अझै सहमति जुटिसकेको छैन । 


नगरपालिकाको अगुवाईमा असन्तुष्ट स्थानीय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी, स्थानीय राजनीतिक दल तथा उद्योग प्रतिनिधिलाई सँगै राखेर छलफल गरेर सहमति नजिक पुगेको जनाइएको छ । तर, अहिलेसम्म उत्खनन तथा ढुवानी सुचारु भईसकेको छैन । नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले सोमबार र मङ्गलबार दुईदिनसम्म सर्वपक्षीय छलफल राखेर सहमति नजिक पुगेको बताएका छन् । 


मेयर श्रेष्ठले लगातारको छलफलपछि सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा सर्वपक्षीय कार्यदल गठन गरिएको बताएका छन् । कार्यदललाई पूर्णता दिन बाँकी रहेको हुनाले ढुवानी सुचारु नभएको मेयर श्रेष्ठले बताएका छन् । उनका अनुसार वडाध्यक्ष नविन तामाङको संयोजकत्वमा असन्तुष्ट स्थानीय, उद्योग प्रतिनिधि, राजनीतिक दल र प्रहरी प्रशासनको प्रतिनिधित्व गर्ने गरी कर्यादल गठन गरिएको छ । 

कार्यदलले घट्नास्थलको अध्ययन गरेर प्रतिबेदन बुझाउने र सोही प्रतिबेदनको आधारमा दीर्घकालीन निकास निकाल्ने योजना नगरपालिकाले बनाएको छ । यसअघि पनि बिबाद हुने गरेको हुनाले पटकपटक बिबाद गर्नुभन्दा गहिरो अध्ययन गरेर दीर्घकालीन निकास निकाल्न कार्यदल बनाइएको श्रेष्ठले बताए । कार्यदलले प्रतिबेदन दिएपछि बिबाद फेरि नबल्झने गरी समाधानको उपाय खोजिने उनले बताए । 


स्थानीयवासीले खानीले अत्याधिक प्रदुषण बढेको, टिफरले वर्षेनी सडक भत्काउने गरेको तथा धुलो र धुँवा उत्सर्जन गरेको भन्दै खानी बन्द गर्न माग गरिरहेका छन् ।  घरभित्र चुलाचौका र ओछ्यानसम्म धुलो धँुवा पसेर प्रदुषण बढाएको तथा बालीनाली धुलोले फल्न नदिने, लुगाफाटा र खानेकुरा प्रदुषित गर्ने गरेको, सडक नाला भत्काएर स्थानीय र राज्यलाई भार बढाएको गुनासो गाउँलेहरुले गरेका छन् । 


खानी सञ्चालनका लागि उद्योगले गरेको प्रतिबद्धता र सम्झौताका शर्तहरु पुरा नगरेको कुरा प्रशासन र नगरपालिकालाई भन्दा पनि बेवास्ता गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ । उद्योगले बस्ती व्यवस्थापन, जमिनको मूअब्जा, वातावरणीय प्रभाव मूल्याङ्कंन (ईआईए) प्रतिबेदन कार्यान्वयन र आईएलओ १६९ विरुद्ध नजाने सम्झौता उल्लङ्घन गरेको स्थानीयको आरोप छ । ती मागहरु पुरा नगरेसम्म उत्खनन र ढुवानी गर्न नदिने अडानमा उनीहरु रहेका छन् । 
 

उद्योगले भने विना कारण खानी बन्द गराएको आरोप लगाएको छ । सातादिनदेखि खानी बन्द हुँदा दैनिक ज्यालादारी गरेर खाने मजदुरहरु मारमा परेको तथा उद्योग  र सरकारलाई राजश्व घाटा लागेको उद्योगका वरिष्ट उपाध्यक्ष राजन झाले बताए । खानी अवरुद्ध हुनाले मजदुर, उद्योग, नगरपालिका र स्थानीयलाई चौतर्फी घाटा भएको झाले बताएका छन् । खानी रोकिदा उत्खननमा काम गर्ने ५ दर्जन बढी मजदुर तथा टिफरमा कार्यरत चालक र सहचालक ५ सय बढीको काम खोसिएको उपाध्यक्ष झाले बताए ।