लागूपदार्थसहित अर्का युवक पक्राउ

५ महिना अघि

२0८0 चैत्र २१ बुधबार
लागूपदार्थसहित अर्का युवक पक्राउ

गाईघाट, चैत २१

उदयपुर प्रहरीले दिनहुजसो लागूऔषध कारोबार र प्रयोगकर्ताहरु पक्राउ गर्ने गरेको छ । अघिल्लो दिन ३ सय १८ थान विभिन्न प्रकारका लागूऔषधसहित एक बालक र युवा पक्राउ परेको भोलिपल्टै अर्का युवा पक्राउ परेका हुन् । 


जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले सोमबार त्रियुगा नगरपालिका ६ जलजलेका २३ वर्षीय मोहम्मद साकिर अलीलाई पक्राउ गरेको हो । लहानदेखि गाईघाटतर्फ पैदल आईरहेका अलीलाई त्रियुगा नगरपालिका ६ लालपत्तास्थित प्रहरी चौकीले शंका लागि चेकजाँच गर्दा लागूऔक्षध फेला परेपछि पक्राउ गरिएको हो । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनको साथबाट प्रोर्मेथाजिन १४ एम्पुल, डाइजोपाम १४ एम्पुल र बुप्रिनोर्फिन १४ एम्पुल गरी जम्मा ४२ एम्पुल लागूऔषध बरामद भएको छ । पक्राउ अलीलाई कानुनी कारबाहीका लागि उदयपुर जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ । 


विगत ४ महिनायता जिल्ला प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको "मिसन ड्रग्न इन्टरसेप्ट" अभियान अन्तर्गत खोजी गर्ने क्रममा लागूऔषध कारोबारी, प्रयोगकर्ता र विक्रीकर्ताहरु धमाधम पक्राउ पर्ने गरेका छन् । पछिल्लो समय अचाक्ली बढेको लागूऔषधबारे उदयपुर प्रहरी कडाईका साथ लागी परेको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताएका छन् ।