३१८ थान लागूऔषधसहित बालक र युवा पक्राउ 

५ महिना अघि

२0८0 चैत्र २0 मंगलवार
३१८ थान लागूऔषधसहित बालक र युवा पक्राउ 

उदयपुर, चैत २०

उदयपुरबाट ३ सय १८ थान लागूऔषधसहित एक बालक र युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले त्रियुगा नगरपालिका १३ का २३ वर्षीय समीर मगरलाई १४ वर्षीय बालक र विभिन्न ३ प्रकारका लागू औषधसहित सोमबार राति पक्राउ गरेको हो । 


जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरिरहेको लागू औषध नियन्त्रण गर्ने ‘मिसन ड्रग्स इन्टरसेप्ट (एमडिआई)’ अभियान अन्तर्गत खटाइएको टोलीले त्रियुगा नगरपालिका ४ बगाहा सालघारी चोकबाट १४ वर्षीय बालकसहित मगरलाई नियन्त्रणमा लिएको हो । 


सिरहाको लहानबाट गाईघाटतर्फ आउदै गरेको विङ्गर जीपमा सवार मगरसँगै रहेका त्रियुगा नगरपालिका ३ का १४ वर्षीय बालकलाई शङ्का लागि चेकजाचँ गर्ने क्रममा लागू औषधत्र फेला परेपछि पक्राउ गरिएको हो । उनीहरुको साथबाट डाइजेपाम नामक लागूऔषध १ सय ६, बुपिनोर्फिन १ सय ६ र फेनारगन १ सय ६ गरी ३ सय १८ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी चौधरीले बताए ।


पक्राउ दुवैजनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान सुरु भएको जिल्ला प्रहरीका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताएका छन् ।