मात्तिमको सरस्वति माविले नयाँ भवन पायो

५ महिना अघि

२0८0 चैत्र २0 मंगलवार
मात्तिमको सरस्वति माविले नयाँ भवन पायो

खोटाङ, चैत २०

यहाँको साकेला गाउँपालि ५, मात्तिमविर्तास्थित सरस्वति माविले नयाँ भवन पाएको छ । विद्यालयले गत आर्थिक वर्ष २०७९–०८० को ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत प्राप्त बजेटबाट ४ कोठे पक्की भवन निर्माण गरेको हो । 


विद्यालयका प्रधानाध्यापक शीतल राईका अनुसार नवनिर्मित भवन ५७ लाख ५८ हजार ७ सय ७५ रुपैंया लागतमा निर्माण सम्पन्न भएको हो । जसका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत संङ्घीय सरकारबाट प्राप्त ५० लाखमा ७ लाख ५८ हजार ७ सय ७५ बराबर जनश्रमदान जुटाएर भवन निर्माण गरिएको प्रअ राईले बताईन् । 


नवनिर्मित भवनको सोमबार गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले उद्घाटन गरे । उद्घाटनको क्रममा बोल्दै अध्यक्ष राईले साकेला गाउँपालिकाले देखेको समृद्धिको सपना साकार पार्न सबै जाति, धर्म, बर्ग, समुदाय, लिङ्ग र पुस्ता मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । समृद्ध साकेला बनाउनका लागि कोही कसैलाई जात, धर्म, लिङ्ग, वर्ग, पुस्ता र भूगोलको आधारमा विभेद नगरी गाउँपालिकावासी जनताको सरकार बनाउने उद्घोषका साथ सबैलाई समान व्यवहार गर्दै काम गरिरहेको बताए । 


देशमा कानून अन्धो हुनुपर्नेमा हाम्रो देशको कानूनले ठूला मान्छे, आफ्ना मान्छे, पैसावाल र दुष्मन पराईलाई देख्ने भन्दै अध्यक्ष राईले आफ्नालाई जोगाएर पराईलाई कारवाही गर्ने गलत परम्पराको अन्त्य गर्न चाहेको बताए । उनले साकेलाले अरुभन्दा पृथक तरिकाले अघि बढ्ने प्रतिबद्धता जनाउँदै कानून सबैका लागि बराबर र अन्धो हुन्छ भन्ने प्रमाणित गर्न खोजिरहेको बताए ।

 
‘कानून अन्धो हुन्छ, त्यसैले कानुनका आँखाले कसैलाई देख्दैन’ उनले भने ‘हामी कानून अन्धो बनाउन नीति र कार्यविधि बनाईरहेका छौं, र हामीले बनाएका कानुन र नीति, नियम तथा कार्यविधिलाई अक्षरस पालना गर्न थालेपछि कसैलाई नचिन्ने र सबैलाई समान व्यवहार गर्नेछ ।’ अध्यक्ष राइले गाउँपालिकाभित्र निर्माण भईरहेका हरेक भौतिक संंरचनालाई गुणस्तरीय निर्माण गर्न संवेदनशिल भएर लागि परिरहेको पनि बताए । 


शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतलगायत सम्पूर्ण भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनका हरेक क्षेत्रमा समान व्यवहारका साथ बजेट व्यवस्थापन गरेर काम गरिरहेको उनले बताए । साकेलाले गौरवका योजनाहरु पनि सञ्चालन गरिरहेको र यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको अध्यक्ष राइले बताए । 


गाउँपालिकाको गौरवको आयोजना तावाभञ्ज्याङ क्षेत्रमा निर्माण गर्न लागिएको तावाताल, साँस्कृतिक वस्ती र धार्मिक पार्क बन्न नदिन अनेकौं षड्यन्त्र भईरहेको गुनासो पनि अध्यक्ष राईले गरे । सो क्षेत्रमा ताल बनाउन चालु आर्थिक वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट २ करोड बजेट विनियोजन भएको बताए । अध्यक्ष राईले तर, सो रकम ताल
निर्माणमा खर्च गर्न नमिल्ने तथा वातावरणीय प्रभाव मूल्याङ्कन र विस्तृत परियोजना प्रतिवेदन नभएकाले उक्त बजेट बहुवर्र्षीय योजनाअन्तर्गत लगेर ताल निर्माणसँगै पर्यटन पूर्वाधारको काम गर्ने गरी ६ करोड रुपैंयाको टेण्डर हुन लाग्दा केही तत्वबाट रोक्ने प्रयास भएको गुनासो गरे । 


केही व्यक्तिहरु विकास रोक्न मन्त्रालयसम्म प्रतिनिधिमण्डल नै  पुगेको स्मरण गर्दै अध्यक्ष राईले भने ‘विकास रोक्नु भनेको गाउँपालिकालाई वर्षौं पछि धकेल्नु हो ।’ विनियोजित बजेट तत्काल टेण्डर खुलाएर काम सुरु गर्नुपर्ने भन्दै उनले अन्यथा गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा आगामी दिनमा बजेट व्यवस्थापन गर्न कठिनाई हुने बताए । 


कार्यक्रममा गाउँपालिकाका पूर्व उपाध्यक्ष सरीता खड्का, साकेला मावि रतन्छाका प्रधानाध्यापक शिवेन्द्र राई, गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाध्यक्ष जीवन खत्री, १ नम्बर वडाध्यक्ष हेमन राई, पूर्व वडा अध्यक्षहरु वीरमल राई, कृष्णप्रसाद भट्टराईलगायतले तावा भञ्ज्याङमा तावातालसँगै अन्य पर्यटन पूर्वाधारहरु निर्माण भए साकेलाको आर्थिक समृद्धिको ढोका खुल्ने बताए । 


उनीहरुले त्यहाँ हुने विकास कुनै व्यक्ति विशेषको नभई समग्र गाउँपालिकाको सम्पति हुने बताउदै धार्मिक पार्कसहितको साँस्कृतिक बस्ती र तावाताल निर्माणका लागि आएको वजेट रोक्न खोज्ने जो कोही व्यक्ति तथा समूहलाई गाउँपालिकावासीले नछाड्ने चेतावनी दिए । 


कार्यक्रममा भवन उद्घाटनसँगै विद्यालयको वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो ।