उदयपुर अस्पतालको प्रसुति भवन सुरु

५ महिना अघि

२0८0 चैत्र १९ सोमबार
उदयपुर अस्पतालको प्रसुति भवन सुरु

उदयपुर, चैत १९

पछिल्लो केही वर्षयता उपचारको ‘हव’ बन्न थालेको सरकारी स्वामित्वको उदयपुर जिल्ला अस्पतालको नयाँ प्रसुति भवन निर्माण सुरु भएको छ । विशेषज्ञ डा.सहित दक्ष जनशक्ति र यन्त्र उपकरण व्यवस्थापन भएसँगै अस्पतालमा उपचार गर्न आउनेको चाप बढ्दै गएपछि आवश्यक भौतिक पूर्वाधार थप्ने क्रममा नयाँ भवन निर्माण सुरु भएको हो । 


हाल सञ्चालनमा रहेको पुरानो प्रसुति भवनले विरामीको सङ्ख्या थेग्न नसक्दा सुत्केरी गराउन आउने महिलाहरु भुईमा राखेर पनि उपचार गराउनुपर्ने बाध्यता छ । अस्पतालमा दिनहुँ ५० भन्दा बढी गर्भवति सुत्केरी गराउन आउने गरेका छन् भने स्वास्थ्य जाँचका लागि ५ सयसम्म आउने गरेका छन् । दक्ष चिकित्सक टोलीद्वारा सुरक्षित र सफल सुत्केरी सेवा पाउने हुँदा अस्पतालमा दिनहुँ गर्भवति महिलाको भीड लाग्ने गरेको छ । बढ्दो आकर्षणले अस्पतालका लागि नयाँ भवन बनाउन लागिएको हो । 


भवनका लागि चालु वर्ष १ करोड ४५ लाख २३ हजार २ सय ५५ रुपैँयाको लागत इस्टीमेट भए पनि मूल्य अभिबृद्धि कर (भ्याट)बाहेक ९४ लाख १८ हजार ५ सय ३५ रुपैँयामा ठेक्का लागेको छ । अस्पतालका लेखा अधिकृत महेशकुमार वाग्लेका अनुसार विद्युतीय माध्यमको टेण्डर आव्हान गर्दा निर्माण व्यवसायीहरुबीच प्रतिस्पर्धामा ३५.१४८ प्रतिशत कम (विलो) मूल्यमा ठेक्का लागेको हो । 


भवन निर्माणको जिम्मा पाएको बेलटारे निर्माण सेवा चौदण्डीगढी ७ उदयपुरले चैत १० गते सम्झौता गरी काम सुरु गरिसकेको छ । वहुवर्षीय योजना अन्तर्गत बन्ने नयाँ भवनको चालु वर्ष जगदेखि भुईतला ढलानसम्मको काम हुने छ । आउँदो ३ महिना अर्थात असार ९ गतेभित्र ४८ वटा पिल्लर (खम्बा)सहितको भवनको भुईतला ढलान गरिसक्नुपर्ने सम्झौता छ । आगामी वर्ष सरकारले विनियोजन गर्ने बजेट आकारको आधारमा भवनको थप काम हुँदै जाने लेखा अधिकृत वाग्लेले बताए ।  

 

उदयपुर अस्पतालमा दिनदिनै विरामीको आकर्षण बढ्दै गएपछि भौति कपूर्वाधारको खाँचो बढ्दै गएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. ज्ञानेन्द्र झाले बताएका छन् । डा. झाका अनुसार दिनमा ५० भन्दा बढीको सङ्ख्यामा सुत्केरी गराउने महिलासहित २÷३ हजार जना उपचारार्थ आउने गरेका छन् । २० शैय्याको पुरानो प्रसुति भवनले  बढ्दो विरामीको चाप थेग्न नसकेका कारण नयाँ भवन अत्यावश्यक भएको झा बताउँछन् । 


नयाँ प्रसुति भवन बन्ने भएपछि सुत्केरी गराउन केही सहज हुने भए पनि डा. झाले अन्य सेवाका लागि थप भवनको अत्यावश्यक खाँचो औँल्याएका छन् । डा. झाका अनुसार दिनहुँ विरामीको चाप बढ्दै गएकाले अव कम्तीमा सय कोठाको अर्को भवन तत्काल खाँचो परेको छ । तर, राज्यले बजेट दिन नसकेका कारण दुःखले अस्पताल चलाउनु परेको उनको भनाई छ । 


अहिलेकै रफ्तारमा अस्पतालमा आकर्षण बढ्दै जाने हो भने आउँदो ५ वर्षभित्रमा २ सय शैय्या सञ्चालन गर्नेगरी भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने डा. झाको बुझाई छ । हाल ५० शैय्या सञ्चालनको स्वीकृति पाएको अस्पतालले स्थानीय आवश्यक्ताको आधारमा १ सय शैय्या चलाईरहेको छ । सरकारी स्वीकृत र दरबन्दीभन्दा बाहेकको शैय्या र जनशक्ति  व्यवस्थापन अस्पताल विकास समितिले गर्दै आएको छ । 


अस्पतालमा विगत ३ वर्षयता हाडजोर्नी तथा नशा रोग, एपेन्डीसाईटिस, हाईड्रोसिल, हर्निया र पत्थरीको सफल शल्यक्रिया (अपरेसन)सहितको उपचार हुँदै आएको छ । गत पुस अन्तिम सातादेखि मृगौलाको डाईलासिस सेवा पनि नियमित रुपमा हुँदै आएको छ । अप्रेसन सेवा सुरु भएसँगै २० वटा शैय्या थपिएको छ । अप्रेसनपछिको उपचार (पोष्ट ओटी)का लागि छुट्टै क्याविनसहित २० शैय्या थपेर सञ्चालनमा ल्याइएको छ । 


जटिल खाले गर्भवति महिलाको सुरक्षित अप्रेसनसहित सुत्केरी गराउने (सिएस) सेवा भने विगत १० वर्षदेखि नै अस्पतालमा हुँदै आएको छ । आकस्मिकतर्फ १० शैय्या, आईसियु १०, वार्डतर्फ ४० र डाईलासिस ५ शैय्या छन् । त्यस्तै दन्त विभागमा ६, डे«सिङ, भिडियो एक्सरेलगायत अन्य सेवामा गरी सय शैय्याले पनि विरामी धान्न गाह्रो भईरहेको छ । 


अस्पताल प्रशासन अधिकृत योगेश्वर खनालले भौतिक पूर्वाधार अभावमा अस्पतालले चाहे अनुसार सेवा दिन नसकिरहेको बताए । प्रदेश सरकारमातहतका अस्पतालहरुमध्ये विराटनगरपछि सबभन्दा धेरै र विश्वसनीय सेवा दिदै आएको यो अस्पतालका लागि बहुकोठे, बहुतले भवन र केही जटिलखालका उपचार गर्ने यन्त्र उपकरणको खाँचो रहेको उनी बताउँछन् । खनालले अव सिटी स्क्यान, एमआरआई र अतिरिक्त एक्सरे मेसिन तथा आईसियु र भेन्टिलेटर सेवाको व्यवस्था गर्न अत्यावश्यक भईसकेको बताए । 


ती उपकरण र केही दक्ष जनशक्तिको व्यवस्थापन गर्न सकेमा उदयपुरलगायत प्रदेशको माथिल्लो भेगका जनसमुदायलाई क्यान्सरबाहेक रोगको उपचारका लागि काठमाडौँ, विराटनगर र धरान जानुपर्ने बाध्यता हट्ने खनाल बताउँछन् । तर, सरकारसँग पटक पटक कुरा राख्दा पनि बजेट व्यवस्थापन गर्न नसक्दा यी उपकरण खरिद गर्न नसकेको अधिकृत खनालले बताए ।