साकेलामा स्वास्थ्य शिविरः ६ सय ५५ लाभान्वित

५ महिना अघि

२0८0 चैत्र १९ सोमबार
साकेलामा स्वास्थ्य शिविरः  ६ सय ५५ लाभान्वित

उदयपुर, चैत १८

खोटाङमा जन्मेर बेलायतमा विभिन्न पेशा व्यवसायमा रम्दै आएकाहरुको संस्था ‘खोटाङ सेवा समाज युके’को जम्बो टोली केहीदिनयता मातृ जिल्लाको स्वास्थ्य शिविरमा खट्दैछ । जिल्लावासीको स्वास्थ्यप्रति प्रतिबद्ध समाजले चैत दोस्रो सातादेखि खोटाङका १० वटै स्थानीयतहमा निःशूलक स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । 

 

जिल्लाका ११ ठाउँमा सञ्चालन गर्ने शिविरको पहिलो चरणमा साकेला गाउँपालिकामा २ दिने शिविर सम्पन्न गरेको छ । शुक्रबार र शनिबार स्थानीय साकेला आधारभूत अस्पताल रतन्छामा आयोजित शिविरमा ६ सय ५५ जना लाभान्वित भएको डा. किशन घिमिरेले बताएका छन् । उनका अनुसार शिविरमा साकेलाभरीका बालबालिकादेखि बृद्धबृद्धासम्मको सहभागिता थियो । 

 

डा. घिमिरेका अनुसार शिविरमा ३ सय २ महिला र ३ सय ५३ पुरुषले निःशूल्क स्वास्थ्य उपचार सेवा पाएका छन् । सबभन्दा बढी जेनेरल उपचार ४ सय ३२ जनाले, ७१ जनाले दन्तरोगको उपचार, ८० महिलाले स्त्री रोग र ७२ जना बालबालिका बालरोग उपचार पाउन सफल भएका छन् । 

 

समाजकी उपाध्यक्ष तथा शिविर संयोजक भाग्यवति राईका अनुसार जिल्लावासीको सेवा गर्ने उदेश्यले खोटाङका विभिन्न ११ ठाउँमा निःशूल्क शिविर सञ्चालन गरिरहेको बताईन् । उनका अनुसार आगामी २४ गतेसम्म सञ्चालन हुने शिविरले खोटाङका २ नगर र ८ स्थानीयतह गरी १० वटै पालिकावासीलाई स्वास्थ्य सेवा दिइनेछ । 

 

महासचिव राजेन रामजङ राईले चैत १६ देखि २४ गतेसम्म हुने शिविर अन्तर्गत पहिलो चरणमा १६ र १७ गते साकेला, खोटेहाङ स्वास्थ्य चौकी, जन्तेढुङ्गा स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसीको रावाबेँसी स्वास्थ्य चौकीमा शिविर चलाइएको बताए । उनका अनुसार १७ र १८ गते ऐसेलुखर्क बजारमा शिविर चलिरहेको छ । 

 

त्यसैगरी चैत २० र २१ गते हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी ९ नं. वडाको निर्मलीडाँडा तथा बराहपोखरी गाउँपालिकाको धर्तुङ र दिप्रुङ चुइचुम्मा स्वास्थ्य चौकीमा शिविर चलाइने योजना महासचिव राईले सुनाए । चैत २२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढीको बाक्सिला बजारमा शिविर चल्नेछ । सबै स्थानीयतहमा शिविर सम्पन्न गरेपछि चैत २४ गते कृषि वैज्ञानिक डा. मदन राईले सञ्चालन गरेको दिक्तेलस्थित शुभम फाउण्डेशनमा औपचारिकरुपमा शिविर समापन गरिने योजना रहेको आयोजक सल्लाहकार रत्नकुमार राईले बताए । 

 

खोटाङ घर भई विभिन्न पेशा, व्यवसायमा संलग्न बेलायतवासी नेपाली नागरिकहरुले जन्मभूमि नेपाल र खोटाङवासीको सेवा गर्ने उदेश्यले समाजको गठन गरेर क्रियासिल राख्दै आएका छन् । बेलायत वसोबास गर्दै आएका खोटाङेहरुले समाजकै माध्यमबाट समय–समयमा लोककल्याणकारी काम गर्दै आएका छन् । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ स्वास्थ्य शिविर सञ्चालन गरेको सल्लाहकार राईले बताए । शिविरमा खट्ने टिममा समाजका कार्यसमिति पदाधिकारी तथा सदस्यबाट सङ्कलित ३ करोड १० लाख बराबर रकम खर्च हुने आयोजकले जनाएको छ ।

 

शिविरमा खटेका ४५ विशेषज्ञ चिकित्सकसहित १ सय ३० जना स्वास्थ्यकर्मी टोलीले गाइनोक्लोजी, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत विभिन्न रोगको परीक्षण, उपचार र औषधि वितरण गरेको छ । यो शिविर अभियानमा करिब ५० हजार खोटाङे नागरिकले निःशूल्क स्वास्थ्य परीक्षण र औषधी प्राप्त गर्ने आयोजकको लक्ष्य छ । 

 

अध्यक्ष डा. राईका अनुसार समाजले यसअघि खोटाङलाई १ करोड १५ लाख बढीको ७ वटा एम्वुलेन्स प्रदान गरिसकेको छ । त्यसैगरी कोभिड महाभारीमा ५० लाखभन्दा बढीको औषधि उपचार सहयोग गरेको समाजले तेस्रो सहयोगस्वरुप ३ करोड बढी खर्चेर स्वास्थ्य शिविर सञ्चालन गर्दु उदाहरणीय काम भएको भन्दै साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले आभार व्यक्त गरेका छन् । 

 

उनले आफ्नो जन्मभूमि खोटाङवासी नागरिकलाई गाउँठाउँमै आएर निःशूल्क स्वास्थ्य सेवा उपलब्ध गराएकोमा समाजलाई धन्यबाद दिए । खोटाङमा जन्मेर जहाँ गएर पेशा व्यवसाय गरी बसे पनि जन्मेको ठाउँको सेवा गर्ने उदेश्यले आएको टोलीलाई स्वागत गर्न पाउँनु अहोभाग्य रहेको बताउँदै भावी दिनमा पनि यस्तो सेवालाई निरन्तरता दिन आग्रह गरे । 

 

शिविरले दुर्गम तथा विशेषज्ञ स्वास्थ्य सेवा नपाएका ग्रामिणक्षेत्रका बिरामीलाई राहत पुगेको बताउँदै जन्मभूमिलाई माया गरेर निश्वार्थ भावले शिविर आयोजना गर्ने समाजका पदाधिकारी र शिविरमा खट्ने स्वास्थ्यकर्मी टोलीलाई धन्यवाद ज्ञापन गरे । अध्यक्ष राईले प्रवासको भूमिमा रहने खोटाङे नागरिकले विभिन्न विषयगत क्षेत्रमा लामो अनुभव र विज्ञता हाँसिल गरेको भन्दै त्यस्तो विज्ञता र अनुभव आफ्नो जन्मभूमिमा लगाउन पनि आग्रह गरे । त्यसो गरेमा जिल्लाको समृद्धिमा ठूलो टेवा पुग्ने उनको भनाई थियो । 

 

समाजका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सल्लाहकारलगायत निःशूल्क श्रमदान गर्ने विशेषज्ञ डा.सहित स्वास्थ्यकर्मी टोलीलाई सम्मानस्वरुप कदरपत्र प्रदान गरे । सम्मान ग्रहण गर्दै समाज बेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईले जन्मभूमि र जिल्लावासीको मायाले शिविर आयोजना गरेको बताएका छन् । शिविरमा सेवा पाउने जिल्लावासी नागरिकको स्वास्थ्यमा आराम मिल्यो भने बेलायतबाट यहाँसम्म आएर गरेको दुःख र प्रयास सार्थक हुने डा. राईको भनाई छ । स्थानीय सरकारले गरेको सहयोग र समन्वयप्रति खुसी व्यक्त गर्दै अध्यक्ष डा. राईले सबैप्रति आभार प्रकट गरेका छन् । आगामी दिनमा पनि जन्मभूमि खोटाङ र नेपालको सहयोगमा समाज लागिरहने प्रतिबद्धता उनले जनाए ।

 

पहिलो चरणको शिविरको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले गर्दै समाजप्रति आभार प्रकट गरेका थिए । उनले आफ्नो देश र गाउँको माया र सद्भावका कारण समाजले गरेको सहयोग उदाहरणीय भएको भन्दै प्रमुख राईले आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।