उदयपुरमा एईई परीक्षा पहिलो दिन शान्तिपूर्ण

५ महिना अघि

२0८0 चैत्र १५ बिहीबार
उदयपुरमा एईई परीक्षा पहिलो दिन शान्तिपूर्ण

उदयपुर, चैत १५

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन उदयपुरमा शान्तिपूर्ण भएको छ । बिहीबारदेखि सुरु परीक्षा जिल्लाका २५ वटै केन्द्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाई कार्यालय उदयपुरले जनाएको छ । 

एकाईका शाखा अधिकृत अर्जुन कार्कीका अनुसार यसवर्ष एसईईमा जिल्लाका १ सय ५३ वटा विद्यालयका ६ हजार १७ विद्यार्थी सहभागी हुनुपर्नेमा पहिलो दिन ५ हजार ८ सय ४३ जना उपस्थित भएका छन् । जसमा प्राविधिक धारतर्फ १ सय ९२ सहित नियमिततर्फ ५ हजार ८ सय ५९ तथा स्तरबृद्धितर्फ १ सय ५२ विद्यार्थी सहभागी हुनुपर्ने अधिकृत कार्कीले बताए । छात्र परीक्षार्थी २ हजार ८ सय २४ जना र छात्राको सङ्ख्या ३ हजार ८ सय ९३ जना छन् ।


जिल्लाभरी २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ सजमा सबभन्दा बढी त्रियुगा नगरपालिकामा ९ वटा केन्द्र कायम गरिएको छ । चौदण्डीगढी र कटारी नगरपालिकामा ४–४, बेलका नगरमा ३ र उदयपुरगढी गाउँपालिकामा २ वटा केन्द्र छन् । पहाडी गाउँपालिकाहरु ताप्ली, रौतामाई र लिमचुङबुङमा १–१ केन्द्र तोकिएको छ ।


ताप्लीको रुपाटारस्थित महेन्द्र मावि, रौतामाईको मुर्कुची मावि र लिमचुङबुङमा बलम्तास्थित क्या. पर्शुराम–पद्मा मावि केन्द्र तोकिएका छन् । सुरक्षाको दृष्टिकोण, भौतिक पूर्वाधार र बन्दोवस्तीको आधारमा केन्द्र तोकिएको एकाई कार्यालयले जनाएको छ ।  


परीक्षा शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न सबै केन्द्रमा गरी ९ सय २७ जनशक्ति परिचालन गरिएको एकाईका अर्का अधिकृत भवानी कट्टेलले बताए  । जस अनुसार केन्द्राध्यक्ष २५ जना, ४२ जना सहायक केन्द्राध्यक्ष, ३ सय २ निरीक्षक (गार्ड) खटाइएको छ । त्यसैगरी परीक्षा सहायक ६४, कार्यालय सहयोगी १ सय १९ र एउटा केन्द्रमा बढीमा १५ जनाका दरले ३ सय ७६ जना सुरक्षाकर्मी परिचालन गरिएको कट्टेलले बताए । 


एउटा केन्द्रमा न्यूनतम ३ देखि अधिकतम १० वटासम्म विद्यालयका छात्रछात्रा परीक्षामा सहभागी गराइएको छ । चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने परीक्षा विहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन चल्ने कट्टेलले बताएका छन् ।