सुन नदीमा बेपत्ता तीनैजना बालबालिका मृत फेला 

५ महिना अघि

२0८0 चैत्र १४ बुधबार
सुन नदीमा बेपत्ता तीनैजना बालबालिका मृत फेला 

उदयपुर, चैत १४

गत आईतबार होली खेलेर नुहाउन जाँदा सुन नदीमा डुबेर बेपत्ता त्रियुगा नगरपालिका १४ साउनेका तीन बालबालिका मृत फेला परेका छन् । उदयपुर र खोटाङको बीच भएर बग्ने सुन नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालबालिका सबै मृत भेटिएका हुन् । 


हराईरहेका बालबालिकामध्ये २ जना बुधबार र १ जना अघिल्लो दिउसो मृत भेटिएको वडाध्यक्ष हिमराज मगरले बताए । उनका अनुसार बुधबार ८ घण्टाको फरकमा १२ वर्षीय रेखा मगर र सोही उमेरका लोकबहादुर मगर भेटिएका छन् ।


९ वर्षीय रिदम मगर भने अघिल्लो दिउसै भेटिएका थिए । लोकबहादुर विहान दिउसो ३ः३० बजे घट्नास्थलदेखि अढाई किलोमिटर तल कम्पुघाटमा भेटिएका हुन् भने रेखा विहान ७ः३० बजे २ किलोमिटर तल सिम्लेमा फेला परेका थिए । रिदम भने १ किलोमिटर तल घिर्लिङमा भेटिएका थिए । 


तीनैजना बालबालिकाको शव पोष्टमार्टमका लागि सदरमुकामस्थित उदयपुर जिल्ला अस्पताल गाईघाट ल्याइएको छ । पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


घट्ना भएको दिन राति अवेरसम्म खोज्दा पनि नभेटिएपछि सोमबारदेखि गाईघाटस्थित सशस्त्र प्रहरी बल ५ नं. हेडक्वाटर त्रियुगाको उद्धार टोलीसँगै दर्जन बढी गोताखोरको टोलीले खोजी गर्न थालेको थियो । खोजी कार्य भईरहेकै बेला तीनैजना बालबालिका नदी किनारमा तैरिरहेको अवस्थामा मृत भेटिएका हुन् । 


मृतकहरु रेखा स्थानीय रुद्र पुलामीकी छोरी हुन् भने लोकबहादुर मेहरमान मगरका छोरा तथा रिदम केदार मगरका छोरा र्भएको प्रहरीले जनाएको छ ।