बेपत्ता बालबालिकामध्ये १ बालक मृत फेला

६ महिना अघि

२0८0 चैत्र १३ मंगलवार
बेपत्ता बालबालिकामध्ये १ बालक मृत फेला

उदयपुर, चैत १३


होली खेलेर नुहाउने क्रममा सुन नदीमा डुबेर ३ दिनदेखि बेपत्ता ३ बालबालिकामध्ये एकको मृत शरीर फेला परेको छ । गत आईतबार उदयपुर खोटाङ सीमा भएर बग्ने धाब्लाङस्थित सुन नदीमा डुबेर बेपत्ता भएका त्रियुगा नगरपालिका १४ साउनेका ३ मध्ये रिदम मगरको शव मंगलबार फेला परेको हो । 


९ वर्षीय रिदमको शव डुबेको ठाउँ धाब्लाङघाटदेखि २ किलोमिटर तल घिर्लिङस्थित नदी किनारमा आधा शरीर तैरिरहेको अवस्थामा भेटिएको त्रियुगा १४ का वडाध्यक्ष हिमराज मगरले बताए । 


उनका अनुसार रिदमसँगै डुबेर बेपत्ता भएका रुद्र पुलामी मगरकी १२ वर्षीया छोरी रेखा मगर र मेहरमान मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर भने अझै भेटिएका छैनन् । साउने बजार चोकमै घर भएका उनीहरु होली खेल्दै ६ किलोमिटर तल नदीमा पुगेर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । 


उनीहरुको खोजीमा आईतबार दिउसो ३ः३० बजेदेखि गाउँले र प्रहरीको उद्धार टोली परिचालन गरिएको छ । घट्नाको दिन राति अवेरसम्म खोज्दा पनि नभेटिएपछि सोमबार विहानदेखि गोताखोर लगाएर खोजी थालिएको थियो । खोजी कार्यमा जिल्ला प्रहरी कार्यालय उदयपुर, सशस्त्र प्रहरी बल ५ नं. हेडक्वाटर त्रियुगा र तालिम प्राप्त गोताखोर टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । 


उदयपुर प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार घट्नास्थलमा दर्जन बढी गोताखोरसहितको उद्धार टोली बेपत्ता बालबालिकाको खोजीमा जुटिरहेको छ । नदीको गहिराईसम्म र घट्नास्थलदेखि डेढकिलोमिट तलसम्म खोजी गर्ने काम भईरहेको तर, नभेटिएको चौधरीले बताए ।