वरिष्ट पत्रकार चेमजोङलाई पबित्रा भेषराज पुरस्कार

६ महिना अघि

२0८0 चैत्र १३ मंगलवार
वरिष्ट पत्रकार चेमजोङलाई पबित्रा भेषराज पुरस्कार

उदयपुर, चैत १३

वरिष्ट पत्रकार कौशल चेम्जोङ ‘भरत भुर्तेल पत्रकारिता पुरस्कार’द्वारा सम्मानित भएका छन् । साढे ३ दशक बढी समयदेखि मोफसलको पत्रकारिता गर्दै आएका चेमजोङलाई झापाको ‘पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान’ले सो पुरस्कार प्रदान गरेको हो । 


सम्मानपत्रसहित नगद ४१ हजार रुपैँयाको पुरस्कार सोमबार झापामा आयोजित एक कार्यक्रममा चेमजोङलाई प्रदान गरियो । मोफसलमा क्रियाशिल सञ्चारकर्मीलाई वर्षेनी वितरण हुने यो पुरस्कार यसअघि झापा कार्यथलो बनाउनेलाई मात्र दिइदै आएकोमा यसवर्ष पहिलो पटक झापाबाहिरका पत्रकारलाई पुरस्कृत गरिएको हो । 


झापाको ठूलो धनराशीको पुरस्कार यस वर्षदेखि वाहिर जिल्लाका पत्रकारलाई पनि प्रदान गर्ने नीति अनुसार चेमजोङलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले वताए । 


उदयपुरको सुरुवाती पत्रकारिताको जग बसाएका चेम्जोङ सामुदायिक रेडियो त्रियुगाको संस्थापक सञ्चालक हुन् भने जनआस्था साप्ताहिकमा सुरुवातदेखि क्रियासिल छन् । केही समयअघि उनको संपादकत्वमा गाईघाटबाट टंकेला साप्ताहिक र ऐँजेरु साप्ताहिक पनि प्रकाशित भएका थिए ।


नेपाल सरकारद्वारा ‘वरिष्ट पत्रकार’ पुरस्कार तथा ‘प्रेस स्वतन्त्रता सेनानी’को उपाधिसमेत प्राप्त गरिसकेका चेमजोङ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा जिल्ला शाखाको संस्थापक उपसभापति हुँदै २ कार्यकाल सभापति रहिसकेका छन् ।