१ नं. प्रदेश सरकार एमाले नेतृत्वमा ः उपाध्यक्ष पोखरेल

६ महिना अघि

२0८0 चैत्र १३ मंगलवार
१ नं. प्रदेश सरकार एमाले नेतृत्वमा ः उपाध्यक्ष पोखरेल

उदयपुर, चैत १३

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले १ नं. प्रदेश सरकारको नेतृत्व एमालेले गर्न बताएका छन् । मंगलबार एमाले उदयपुरको नर्वौ जिल्ला अधिवेशन उद्घाटन गर्दै   पोखरेलले १ नं. प्रदेशमा हाल रहेको संबैधानिक जटिलता चिर्दै एमालेले सरकारको नेतृत्व गर्ने बताए । 


नेकपा (माओबादी केन्द्र)सँगको नयाँ समीकरणसँगै ७ वटै प्रदेशका सरकारहरु फेरवदल हुने बताउँदै उपाध्यक्ष पोखरेलले जस अनुसार १ नं. प्रदेश एमालेको नेतृत्वमा बन्ने स्पष्ट पारे । उपाध्यक्ष पोखरेलले मुलकको समृद्धि हासिल गर्न र एमालेले संकल्प गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा चरितार्थ गर्न एमालेले नयाँ सत्ता समीकरण गरेको बताए ।


‘एमालेको लक्ष्य भनेको मिसन ०८४ हो, त्यो पुरा गर्न नयाँ दलीय समीकरण बनाइएको हो’ पोखरेलले भने ‘हामीले नयाँ गठबन्धन बनाएर अघि बढ्दा मुलुकको समृद्धिमा सहयोग पुग्ने ठानेर समीकरण गरेका हौँ ।’ पोखरेलले नयाँ समीकरणले देश र जनतामा सकारात्मक सन्देश गएको पनि बताए । 


नयाँ गठबन्धनमा प्रधानमन्त्री कति समयका लागि को बन्ने भन्ने यकिन नभएको उनको भनाई थियोि । एमालेले राम्रा मन्त्रालय किन नलिएको भन्ने पत्रकारको प्रश्नमा पोखरेलले मुलुकलाई सकारात्मक दिशाबाट अघि बढाउन एमालेले लचकता अपनाएको दावी गरे । नयाँ गठबन्धनका लागि प्रधानमन्त्री आलोपालो भन्ने कहि कतै सहमति नभएको र मन्त्रालय रोजी छानी लिने काममा पनि पार्टी लचक भएको उनको भनाई थियो । 


पोखरेलले एमाले तत्कालीन परिस्थितिमा वाम गठबन्धन र समाजवादी मोर्चामा सहभागी हुने योजना नभएको जानकारी पनि दिए । ‘हाललाई बाम गठबन्धन गर्ने या समाजबादी मोर्चामा सहभागी हुने विषयमा एमालेको कुनै ठोस योजना छैन’ पोखरेलले भने ‘यसबारे पार्टीले कुनै कल्पनासम्म गरेको छैन ।’ 


अघिल्लो काँग्रेससँगको गठबन्धन सरकार एमाले सिध्याउने खेलमा लागेकाले त्यसलाई जसरी पनि तोड्ने योजनासाथ अघि बढ्दा वर्तमान गठबन्धन संभव भएको उनको भनाई थियो । अहिलेको गठबन्धन सरकारले देश र जनताको हितमा काम गर्ने दावी पनि उपाध्यक्ष पोखरेलले गरे ।