बेपत्ता बालबालिका अझै भेटिएनन्, आज गोताखोरबाट खोजी जारी 

२0८0 चैत्र १२ सोमबार
बेपत्ता बालबालिका अझै भेटिएनन्, आज गोताखोरबाट खोजी जारी 

उदयपुर, चैत १२

आईतबार दिउँसो होली खेलेर नुहाउँने क्रममा सुन नदीमा डुबेर बेपत्ता भएका ३ बालबालिकाको खोजी कार्य आज पनि जारी छ । आईतबार राति अवेरसम्म खोजी गर्दा नभेटिएका उनीहरुको खाजीमा सोमबार विहानदेखि गोताखोर परिचालन गरेर खोजी गरिदैछ । 


उदयपुर र खोटाङबीचको धाब्लाङस्थित सुन नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका त्रियुगा नगरपालिका १४ साउनेकी १२ वर्षीया रेखा मगर, १२ वर्षकै लोकबहादुर मगर र ९ वर्षीय रिदम मगर बेपत्ता भएका थिए । 


होली खेलेर घरदेखि ६ किलोमिटर तल धाब्लाङस्थित सुन नदीमा नुहाउन गएका उनीहरु पौडी खेल्दाखेल्दै डुबेपछि तत्काल उद्धारका स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरी बल ५ नं. हेडक्वाटर त्रियुगाको उद्धार टोलीले खटेका थिए । ‘आईतबार रातिसम्म टर्च बालेर खोज्ने काम भयो’ त्रियुगा १४ का वडाध्यक्ष मगरले भने ‘हिजो नभेटिएपछि आज विहानैदेखि खोजी कार्य जारी  छ । घट्नास्थलभन्दा १ किलोमिटर तलसम्म खोज्दा नभेटेपछि आज तालिम प्राप्त गोताखोरले खोजी गरिरहेको छ ।’


एकै ठाउँको वल्ला घर पल्ला घरका ३ बालबालिका होलीकै दिन बेपत्ता भएपछि परिवारसँगै सिङ्गो साउने बजारवासी स्तभ्ध भएका छन् । हरेक वर्षको होलीमा रङ खेल्दै रमाउँने बजारमा यो घट्नाले अहिले सन्नाटा छाएको छ । पुरै गाउँले बेपत्ता बालबालिकाको खोजीमा नदी किनारमा भेला भएका छन् । डुबेको १८ घण्टासम्म नभेटिएपछि उनीहरु फेला पर्ने संभावना धेरै कम भएको उद्धार टोलीमा खट्ने प्रहरीको अनुमानज छ । 


जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले हराएका बालबालिकाको खोजी कार्य सोमबार पनि जारी रहेको बताए । उनले अघिल्लो दिन छिट्टै रात परेकाले सोमबार विहानैदेखि खोजी गर्न थालेको तर, अहिलेसम्म पत्ता नलागेको बताएका छन् । केहीदिनअघि सुरु भएको वर्षा आईतबार विहानसम्म निरन्तर भईरहेकाले नदीमा पानीको सतह बढेकाले खोजी कार्यमा तालिम प्राप्त जनशक्ति खटाइएको पनि उनले बताए । 


घट्नास्थल धाब्लाङमा ७ वर्षअघि सिल्यान्यास भए पनि निर्माण कार्य अघि नबढेर अलपत्र परेको मोटरेबल पुल निर्माण सुचारु गर्न नदीको पानी डोल्याइएको छ । पहिलेको वेल (गोलो खम्बा) डिजाईनको फाउण्डेसनबाट पुल नबन्ने भएपछि पाईल (चेप्टो खम्बा) डिजाईनको फाउण्डेसन गाड्ने काम भईरहेको छ । त्यसका लागि नदीको माटो खनेर पानी एकतर्फी डोल्याउँदा गहिरो दह बन्न पुगेको ठाउँमा पौडी खेल्न जाँदा बालबालिका डुबेको प्रहरी अनुमान छ । 


पहिला सामान्य पानी रहेको नदी किनारको माटो खनेर पानी डोल्याउन बीचतिर लगेकाले अहिले किनारमै गहिरो तलाउ बन्न पुगेको बालबालिकालाई हेक्का हुन नसक्दा दुर्घटना भएको आँकलन प्रहरीको छ । स्थानीयले पनि एकातिर किनारमै गहिरो तलाउ र अर्कातिर निरन्तर वर्षाले पानीको वहाव बढेकाले बालबालिका डुबेर दुर्घटना भएको अनुमान गरेका छन् ।