७ महिना अघि
२0८0 चैत्र ११ आईतवारउदयपुर, चैत ११
उदयपुर र खोटाङबीच भएर बग्ने सुन नदीमा पौडी खेल्न गएका ३ बालबालिका आईतबार डुबेर बेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ साउने बजारका एक बालिका र २ बालक पौडी खेल्ने क्रममा दिउसो २ः३० बजेदेखि बेपत्ता भएका हुन् ।
वडाध्यक्ष हिमराज मगरका अनुसार होली खेल्दै गएका उनीहरु धाब्लाङस्थित नदी किनार पुगेर पौडी खेल्दै थिए । खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरु अहिलेसम्म फेला परेका छैनन् ।
वडाध्यक्ष मगरका अनुसार बेपत्ता हुनेमा रुद्र पुलामी मगरकी १२ वर्षीया छोरी रेखा मगर, केदार मगरका ९ वर्षीय छोरा रिदम मगर र मेहरमान मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर हुन् ।
स्थानीयले उनीहरु डुबेको प्रत्यक्ष देखेर खवर गरेपछि प्रहरी बोलाएर खोजी कार्य भईरहेको छ । तर, बालबालिकाहरु तलतलसम्म खोज्दा पनि फेला नपरेको वडाध्यक्ष मगरले बताए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले बालबालिका नदीमा डुबेर बेपत्ता भएको पुष्टि गरेको छ । उनीहरु तीनैजना बालबालिका त्रियुगा १४ साउने बजारका भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए ।
पौडी खेल्ने क्रममा डुबेर बालबालिका बेपत्ता भएको खवर प्रहरीलाई दिउँसो ३ः३० बजे प्राप्त भएको र खवर आएलगत्तै प्रहरी चौकी साउने र जिल्ला प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली घट्नास्थल खटाएर खोजी कार्य जारी रहेको उनले बताए ।
साउने बजारदेखि ६ किलोमिटर तल पर्ने घट्नास्थलमा स्थानीय र प्रहरी मिलेर बालबालिका खोज्ने क्रम जारी रहेको तर, अहिलेसम्म बालबालिका नभेटिएको चौधरीको भनाई छ ।
तीननदिनयता निरन्तर वर्षा भईरहेपछि नदीमा पानीको सतह बढेको हुनाले सँधै पौडी खेलेजस्तो खेल्न जाँदा उनीहरु डुबेको अनुमान स्थानीयले गरेका छन् ।