पहिचान आन्दोलनमा सञ्चारकर्मीको भूमिका सशक्त बनाउन आग्रह

६ महिना अघि

२0८0 चैत्र १0 शनिबार
पहिचान आन्दोलनमा सञ्चारकर्मीको भूमिका सशक्त बनाउन आग्रह

इटहरी, चैत १०

पहिचानको आन्दोलनमा सञ्चारकर्मीले खेल्नुपर्ने भूमिकाको विषयमा समीक्षात्मक अन्तरक्रिया सुनसरीको इटहरीमा सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेशको आयोजनामा अन्तरक्रिया भएको हो । 


प्रदेशको कथित नाम कोशी खारेज गरी पहिचानको आधारमा पुन नामङ्कन गर्नुपर्ने मागसहित १ वर्षयता भईरहेको आन्दोलनको समीक्षा, आगामी कार्यदिसा र रणनीतिबारे जानकारी आदान प्रदान गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको फोनिज प्रदेश समिति अध्यक्ष सन्तवीर लामाले बताए । 

 
कर्यक्रममा प्रदेश समितिका पूर्व अध्यक्ष तथा संघीय अनुशासन समिति संंयोजक अर्जुन जम्नेली राईले प्रस्तुत गरेको कार्यपत्रमाथि  नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र फोनिज प्रदेशका इन्चार्ज भक्तशेर लिम्बूले टिप्पनी गरेका थिए । संयोजक राईद्वारा प्रस्तुत कार्यपत्रमा पहिचानी आन्दोलनमा सञ्चारकर्मीको भूमिका महत्पूर्ण रहेको उल्लेख गर्दै थप सशक्त र परिणाममुखी निश्कर्षमा पुर्याउन आन्दोलनलाई उचाई दिने विषयमा सञ्चारक्षेत्रले थप भूमिका खेल्नुपनै आवश्यक्ता औँल्याइएको छ । 


राईले मिडियाहरुमा पहिचानी आन्दोलनको समाचार कभरेज राम्ररी भइरहे पनि यसलाई मिडिया मिशनकै रुपमा विकास गरेर अघि बढ्नुपर्नेकुरा पनि कार्यपत्रमा जोड दिएका छन् । पहिचानको आन्दोलनलाई २०६२÷०६३ को संयुक्त जनान्दोलन जत्तिकै चर्केको भए पनि पर्याप्त प्रचार हुन नसकेको ठहर गर्दै कार्यपत्रमा आगामी दिनमा सञ्चारकर्मीहरुको भूमिकालाई बढाउनु पर्ने आवश्यक्ता देखाइएको छ । 


अन्तरक्रियामा इटहरी उपमहानगरपालिका ६ का वडाध्यक्ष दिपेश पोख्रेल, अग्रज पत्रकार सञ्जयसन्तोषी राई, फोनिज केन्द्रीय सदस्य सुजता लिम्बू, फोनिज बेलायतका पूर्ब अध्यक्ष विश्वासदिन तिगेला, आदिबासी जनजाति महासंघ इटहरी उपमहानगर अध्यक्ष चिराहाङ राई, फोनिज झापा अध्यक्ष भूमिका फ्याक लिम्बूलगायतले मन्तव्य राखेका थिए । 


कार्यपत्र प्रस्तुतपछिको छलफलमा प्रदेश अध्यक्ष लामाले प्रदेश समितिले ‘पहिचानका लागि सञ्चार अभियान’ चलाउने क्रममा अन्तरक्रिया आयोजना गरेको बताउँदै आन्दोलनको व्यापक प्रचार प्रसार गर्न प्रभावकारी ढंगले लाग्न सबै पत्रकारसमक्ष आग्रह गरे । फोनिज प्रदेश उपाध्यक्ष राजेन्द्र दुष्टले कार्यक्रमको औचित्यबारे प्रष्ट्याएको अन्तरक्रियामा कार्यक्रम संयोजक सुप्रिया राईले सहभागीलाई स्वागत गरेकी थिईन् ।