गुणस्तरहीन काम गरे भत्काउने अध्यक्ष राईको चेतावनी

६ महिना अघि

२0८0 चैत्र ६ मंगलवार
गुणस्तरहीन काम गरे भत्काउने अध्यक्ष राईको चेतावनी

खोटाङ, चैत ६

खोटाङको साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले गुणस्तरीय काम गर्न सबै निर्माण व्यवसायी तथा उपभोक्ता समितिलाई आग्रह गरेका छन् । गाउँपालिकाभित्र निर्माणाधीन कुनै पनि योजनाका कामहरु गुणस्तरीय हुनुपर्ने भन्दै त्यसमा कसैसँग सम्झौता नहुने उनको आग्रह छ । 


निर्माणधीन हरेक भौतिक पूर्वाधार विकासका संरचनाहरु गुणस्तरीय हुनुपर्ने भन्दै उनले त्यसका लागि आयोजनाहरुको निर्माण सुरुदेखि सम्पन्न नभएसम्म निरन्तर निगरानी र खबरदारी गरिरहेको बताए । अध्यक्ष राईले गुणस्तरहीन काम गरेको पाइए तत्काल भत्काईदिने चेतावनी पनि दिएका छन् । 

 

सोमबार आयोजित वडास्तरीय खोप समन्वय समितिको कार्यक्रममा बोल्दै अध्यक्ष राईले सो चेतावनीसहितको आग्रह गरेका हुन् । जस अनुसार गाउँपालिकाभित्र निर्माणाधीन भवन, खानेपानी, सडक, नाला तथा कुनै पनि पूर्वाधार संरचनाहरु गुणस्तरीय निर्माण गर्नुपर्र्नेमा उनको जोड छ । गुणस्तरीयता कायम नगरेको पाइए  भत्काईदिने र पुनः निर्माण गर्नुपर्दा थप खर्च लाग्ने भएमा स्वयं जवाफदेही हुनुपर्ने बताए । 


साकेला १ मा सोमबार बालबालिकालाई पूर्ण खोप कार्ड वितरण गर्दै अध्यक्ष राईले संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण भईरहेका क्रमागत, बहुवर्षीय र चालुवर्ष सम्पन्न हुन लागेका योजनाहरु प्राविधिक इस्टीमेटको आधारमा गर्न निर्देशनात्मक आग्रह गरे । गुणस्तरीय काम गर्न आग्रह गर्दागर्दै पनि कमीकमजोरी गरेको पाइए भत्काउन बाध्य हुने चेतावनी उनको थियो । 

 
विकास निर्माणजस्तो विषयमा कोही आफन्त, साथीभाई, राजनीतिक आस्थाको आधारमा कमीकमजोरी गर्नेलाई नछाड्ने बताउँदै समग्र पालिकाको हित हुनेगरी काम नभएमा कानून बमोजिम कारवाही गर्ने चेतावनी उनको थियो । आफ्नो टोलछिमेक, गाउँघरमा भईरहेका विकासे योजनाहरुलाई स्थानीय नागरिकहरुले पनि उत्तिकै जिम्मेबारी बोधका साथ खबरदारी गर्न पनि अध्यक्ष राईको आग्रह थियो । 


स्थानीयको खवरदारी रनिगरानीले काममा गुणस्तरीयता कायम गराउन मद्धत पुग्ने उनको बुझाई छ । सुन्दर भविष्यको सोँंच र चिन्तनका साथ गाउँपालिकाले काम गरिरहेको भन्दै राईले आगामी दिनमा साकेलालाई कस्तो बनाउने, कुनकुन पूर्वाधार निर्माण गरिसक्ने भनेर बनाइएको आवधिक गुरु योजनाको खाका बमोजिम काम भईरहेको उनले बताए । 


गौरवका योजना छनौट गरी काम गरिरहेको भन्दै सबै नागरिकको साथ सहयोग पाए मात्र समृद्ध र सुखी गाउँपालिकाको सपना पुरा हुने अध्यक्ष राईले बताए । गाउँको विकासका लागि विकास योजनाको विरोध नगरी साथ सहयोग र संरक्षण गर्र्न र एकार्काप्रति हातेमालो गरेर अघि बढ्न उनको आग्रह थियो । 


स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण, पर्यटनलगायत गौरवका योजनाहरुलाई पूर्णता दिन साकेला सरकार प्रतिबद्ध रहेको भन्दै अध्यक्ष राईले सबैको सकारात्मक साथ र सहयोगले मात्र समृद्धिको गन्तव्यमा पुग्न सकिने बताए । 

 

१ नं. वडाध्यक्ष तथा वडास्तरीय खोप समन्वय समितिका अध्यक्ष हेमन राईको अध्यक्षतामा सम्पन्न पूर्ण खोप कार्ड वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारी र स्थानीयवासीहरुको उपस्थिति थियो । सो अवसरमा वडाका ५४ जना बालबालिकालाई पूर्ण खोप कार्ड वितरण गरिएको थियो । वडामा १ सय ४१ भन्दा बढी बालबालिकालाई नियमित खोप लगाउँदै आइएको स्वास्थ्य चौकी बाँझेच्यानडाँडाका प्रमुख प्रितिमान ठाडामगरले बताए । 


राष्ट्रिय खोप तालिका अनुसार बच्चा जन्मिएको मितिदेखि १५ महिनासम्ममा लगाइने विभिन्न १३ प्रकारका रोगविरुद्धको खोप पुरा भएका बालबालिकालाई खोप कार्ड वितरण गरिएको मगरले बताएका छन् ।