साकेलाको विकास गर्न सर्बपक्षीय प्रतिवद्धता

६ महिना अघि

२0८0 चैत्र ५ सोमबार
साकेलाको विकास गर्न सर्बपक्षीय प्रतिवद्धता

साकेला, चैत ५

खोटाङको साकेला गाउँपालिकाको विकासमा सबै राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाले सुरु गरेको विकासका कार्यलाई सबैपक्ष मिलेर अघि बढाउन निःश्वार्थ भावनाका साथ सहयोग गर्ने स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको प्रतिवद्धता आएको हो । 


गाउँपालिकाको आईतबार सम्पन्न क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग गरेको सर्वदलीय सर्वपक्षीय वैठकमा सहभागीहरुले गाउँपालिकाभित्र निर्माणाधीन योजनाहरु तथा अव गर्ने हरेक विकासे गतिबिधिमा पूर्ण सहयोग, समन्वय र संरक्षण गर्ने प्रतिवद्धता जनाएका हुन् ।


बैठकमा अध्यक्ष रविप्रकाश राईले गाउँपालिकाको तर्फबाट हालसम्म भए÷गरेका विकास निर्माणका कार्यहरुको फेहरिस्त पस्कदै त्यसलाई सबै राजनीतिक दल, नागरिक समाज, सरोकारावाला निकाय र व्यक्ति तथा सर्वसाधारण मिलेर संरक्षण गर्दै स्वामित्व ग्रहण गर्न आग्रह गरेका थिए । उनले गाउँपालिकालाई सफा, सुन्दर र सभ्य स्थानीयतहको रुपमा विकास गर्न पूर्ण सरसफाई कार्यक्रम कार्यान्वयन भईरहेको भन्दै हालसम्मको अवस्था, सञ्चालन भईरहेका र हुने क्रममा रहेका योजना तथा अन्य विकासका प्रयासको आगामी कार्यदिशा सम्बन्धी गतिविधिबारे जानकारी गराएका थिए ।


गाउँपालिकाले हाल गरिरहेको कृषि, शिक्षा, पर्यटन, सामाजिक सुरक्षा तथा संरक्षण, खानेपानी, भौतिक विकास, सडक, विद्युत र सामाजिक विकासबारे संक्षिप्त अवधारणा अध्यक्ष राईले राखेका थिए । उनको भनाईपछि क्रियाशिल राजनीतिक दल प्रमुख तथा प्रतिनिधिहरुबाट गाउँपालिकाको समृद्धिका लागि भईरहेको जुनसुकै विकासको काममा आफूहरुको पूर्ण सहयोग र साथ रहने प्रतिवद्धता बताएका थिए ।


बैठकमा नेपाली काँग्रेस गाउँ कार्यसमिति सचिव बबिन कटवाल, एमाले गाउँ कमिटी अध्यक्ष आश्विनचन्द्र राई, जजपाका शिवप्रसाद फुयाल, एकीकृत समाजवादीका फूलकुमार राई र राप्रपा नेपालका अध्यक्ष रामचन्द्र राई सहभागी थिए । उनीहरुले गाउँको विकासका लागि निरन्तर प्रयत्नसील हुँदै आएको र निश्वार्थ भावले साथ र हयोग गर्ने प्रतिवद्धता जनाएको गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष जीवन खत्रीले जानकारी दिए ।


अध्यक्ष राईले गाउँपालिकाको विकासका लागि कुनै जातजाति, धर्म, वर्ग, भूगोल, आस्थाको आधारमा विभेद नगरेको बताउँदै सबै पक्षको साथ, समन्वय र सहकार्यको कारणले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा लैजान सकिने धारणा व्यक्त गरे । साकेलालाई आत्मनिर्भर बनाई हरेक क्षेत्रबाट समृद्ध बनाउन मार्गचित्र कोरिरहेको बताउँदै उनले नीति नियम र कानून बनाएर भविष्यप्रतिको सोंचसहित अगाडि बढिरहेको बताए । उनले गाउँपालिकाले लिएको विकासे नीतिको कार्यान्वयन गर्न सके समृद्ध साकेला निर्माण गर्न कुनै समय नलाग्ने बताए । 


साकेलामा भईरहेको भौतिक विकास, आर्थिक, सामाजिक, क्षेत्रको विकासमा सबै पक्षसँग हातेमालो र समन्वय गरि अघि बढिरहेको पनि अध्यक्ष राईले बताए । गाउँपालिकाले हालसम्म गरेको र गरिरहेको समग्र क्षेत्रको गतिविधिबारे जानकारी दिने उद्देश्यले सर्वदलीय वैठक डाकेको पनि उनले बताए । साकेलामा हाल ६ वटा राजनीतिक दल क्रियाशिल रहेका छन् ।