पुल भत्केको शिवाईमा अस्थायी संरचना बनाइने 

६ महिना अघि

२0८0 फाल्गुन २३ बुधबार
पुल भत्केको शिवाईमा अस्थायी संरचना बनाइने 

उदयपुर, फागुन २२ 

सम्पन्न हुनै लाग्दा बाढीले भत्काएको २ वर्ष बितिसक्दा पनि उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुलको मर्मत नभएपछि अस्थायी संरचना बनाउन लागिएको छ । चौदण्डीगढीका बाक्लो बस्ती रहेको ५ नं. वडाका शिवाई,  बेल्हा र आसपासका ९ र १० वडाका हडिया र जोगीदहबासी आउजाउ गर्ने पुल अलपत्र परेका कारण नगरपालिकाले त्यहाँ अस्थायी संरचना बनाउन लागेको हो । 


झण्डै डेढदशकदेखि निर्माणाधीन पुल कछुवा गतिमा काम गर्दै सकिन लाग्दा ०७८ असारको बाढीले भत्काएको थियो । बाढीले एउटा फाउण्डेशन पिल्लर भत्काएपछि २ स्पान भाँचिएको  १५ दिनपछि फेरि शाढीले अर्को पिल्लर पनि भत्काएर ३ स्पान भाँचिएको छ । तर, पुल भत्केको यतिका दिन बितिसक्दासम्म पुल पुननिर्माण या मर्मत के गर्ने भन्ने टुंगो लागेको छैन । 


३ वडाबासी स्थानीयलाई नगरपालिका केन्द्र बेलटार बजार आउजाउ गर्न सो नाका अत्यन्त महत्वपूर्ण रहेको ठाउँमा ०६६ देखि १२ स्पानको पक्की पुल निर्माण थालिएको थियो । तर, विभिन्न कारण देखाउँदै ढिला काम गरेको ठकेदारलाई चारैतिरको चर्को दबावपछि काम सुचारु गरेर सक्नै लाग्दा ०७८ असारमा बाढीले भत्काएको थियो । भत्केपछि पुलको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी फर्केको भोलिपल्टकै बाढीले अर्को पिल्लर पनि भत्काएको थियो । अर्को प्राविधिक टोलीले पुल पुननिर्माण या मर्मत गर्ने भन्ने मन्त्रालयमा टुंग्याउन प्रतिबेदन बुझाए पनि अहिलेसम्म काम हुन नसक्दा आउदो वर्षायाम आउजाउमा ठूलो समस्या भएर आउने खतरा छ । 


वर्षौँदेखि पुलको आसमा रहेका स्थानीयलाई पुल बन्ने टुंगो नलागेपछि वर्षायाममा सहज बनाउन अस्थायी पुल निर्माण गर्ने तयारी गरेको नगरप्रमुख कालुमान लामाले बताए । त्यसका लागि आवश्यक कदम चाल्न सबैपक्षसँग प्रारम्भिक छलफल थालेको बताउँदै उनले तत्काल पुल बन्ने नदेखिएकाले आवश्यक्ता टार्न अस्थायी संरचना बनाउन छलफल थालेको बताए । पूर्व मेयर खगेन्द्र राई, वडाध्यक्षहरु, स्थानीय राजनीतिक दल र नागरिक अगुवासँग छलफल गरेर अस्थायी पुल निर्माण गर्ने टुंगोमा पुग्न लागेको उनको भनाई छ । 


छलफलमा सहभागीहरुको सुझाव अनुसार अस्थायी पुल बनाएर आउँदो वर्षाको कहर टार्ने प्रतिबद्धता मेयर लामाले जनाएको बताइएको छ । पुल नहुँदा वर्षायाममा ५, ९ र १० नं. वडाबासी स्थानीय जोखिम मोलेर डुङ्गामार्फत नदी तर्नुपर्ने बाध्यतामा छन् । भत्केको पुल आसपासै फलामे अस्थायी पुल बनाएरै भए पनि आउँदो वर्षाको कहर टार्न गरपालिकाले प्राबिधिक टोली खटाएर प्रक्रिया अघि बढाउने वाचा पनि मेयर लामाले दिएका छन् । 


पुल हतपत बनिहाल्ने छेकछन्दै नदेखिएकाले तत्काल काम चलाउकै लागि पनि त्यहाँ अस्थायी संरचना बनाउनुपर्ने निश्कर्ष छलफलले निकाले अनुसार नगरपालिका अघि बढ्न लागेको हो । छलफलको निश्कर्ष प्रदेश र संघीय सरकारलाई जानकारी गराउदै भविष्यमा हुनसक्ने कानुनी अप्ठ्यारो सहज पार्न तत्काल शिवाई–बेल्हा जोड्ने अस्थायी संरचना निर्माण गर्ने निर्णय भएको छ । मेयर लामाले संघीय सरकारले पुल बनाउन नसक्ने भनेर लिखित जानकारी स्थानीय सरकारलाई दिए नगरपालिको क्षमताले भ्याएसम्म आफै बनाउने पनि बताएका छन् । 


नगर प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउत, वडा अध्यक्षहरु तुलसीराम ढकाल, लुङ्गराज राई, नेपाली कांग्रेसका नगर सभापति राजेन्द्र पौडेल, नेकपा एमालेका कार्यबहाक नगर अध्यक्ष कृष्ण खत्री, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश वायुङ्ग राई, रास्वपाका नगर सभापति रमेश बिष्ट, राप्रपाका नगर अध्यक्ष रामकुमार खत्री लगायतको उपस्थिती रहेको थियो । छलफलमा नगर प्रमुख कालुमान लामाले नगरपालिकाले बिभिन्न मन्त्रालयमा यस अघि पेश गरेको योजनाहरुको बारेमा ब्रिफिङ्ग गर्दै उक्त सबै योजना संघीय सरकारबाट प्राप्त गर्न सबैले साथ् सहयोग दिन आग्रह गर्नु भएको थियो ।


पहाडी जिल्लाहरु खोटाङ र भोजपुरलाई उदयपुर हुँदै तराई जिल्लाका सहर बजारलाई प्रत्यक्ष जोड्ने उदेश्यले निर्माणाधीन पुल निर्माण भएमा चौदण्डीगढीलाई मात्र नभएर सिंगो जिल्लाबासी लाभान्वित हुनेछन् । त्यहाँ पुल नबन्दा नगरपालिका केन्द्र आउजाउ गर्न तथा वर्षायाममा विरामीलाई उपचारार्थ अस्पताल जान समस्या हुने गरको छ । खासगरी सर्पले डसेका विरामीलाई उपचार गर्न समयमा लान नसक्दा अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता स्थानीयलाई छ । 


महालक्ष्मी–लोकप्रिय कन्स्ट्रक्सन जेभी, काठमाडौंले लिएको ठेक्का समयमा काम नहुँदा दर्शक बढी कुरेर चौतर्फी दबावपछि सकिन लागेको थियो । ३ सय ७ मिटर लामो र ५ मिटर चौडा पुल सकेर उद्घाटन मितिसमेत तोकिसकेका बेला भत्केको हो । पुल भत्कनुमा माटो परीक्षणमा कमजोरी भएको तथा गुणस्तरीय काम नभएको निश्कर्ष प्राविधिकले निकालेको छ । पुल निर्माणस्थलको माटो परीक्षण बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनी काठमाडौँले गरेको जनाइएको छ । 


पुल निर्माणको रेखदेख गर्ने जिम्मा पाएको गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरका प्रमुख (डिई) सञ्जिवकुमार मिश्रले सकिनै लाग्दा बाढीले भत्काएर अलपत्र परेको पुल पूरा गर्नका लागि पटकपटक मन्त्रालयलाई आग्रह गर्दै आएको बताए । त्यहाँको वस्तुस्थिति अनुसार पुल अत्यन्त खाँचो रहेकाले कार्यालयको तर्फबाट पुल छिटो बनाईसक्न विभाग र मन्त्रालयसँग आवश्यक बजेटको माग गरिरहेको पनि डिई मिश्रले बताए ।