बस्नेत नेतृत्वमा उदयपुर उद्योग बाणिज्य संघ सर्वसम्मत

६ महिना अघि

२0८0 फाल्गुन २२ मंगलवार
बस्नेत नेतृत्वमा उदयपुर उद्योग बाणिज्य संघ सर्वसम्मत

उदयपुर, फागुन २२ 

उदयपुर उद्योग बाणिज्य संघ कटारीको नेतृत्व सर्वसम्मत चयन भएको छ । सोमबार भएको अधिवेशन तयारीको क्रममा उम्मेदवारी दर्ता गरेकाहरु नै आगामी कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । 


संघको आगामी २६ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यतालिका थियो । जस अनुसार सोमबार साढे १२ः०० बजेभित्र १२ पदाधिकारी र १५ सदस्यका लागि उम्मेदवारी दर्ता गर्दा प्रतिस्पर्धी कोही नभएपछि नयाँ समिति सर्वसम्मत चयन भएको हो । सर्वसम्मत समितिको अध्यक्षमा पूर्व महासचिव जमानसिंह बस्नेत छानिएका छन् । बस्नेतको अध्यक्षतामा सर्वसम्मत चयन भएको १२ पदाधिकारीसहित २७ सदस्यीय कार्यसमितिका ३ उपाध्यक्ष, महासचिव, ३ सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष छन् । 


उपाध्यक्षमा मुना कटुवाल (उद्योग), पुष्पसुन्दर टक्सारी श्रेष्ठ (बाणिज्य) र रुद्रबहादुर खत्री (सचिवालय) रहेका छन् । त्यसैगरी महासचिवमा धीरज खड्का चयन हुँदा उद्योग सचिव विन्देश्वर साह, बाणिज्य सचिव वंशीधर न्यौपाने र सचिवालय सचिव आनन्द महासेठ चयन भएका छन् । सहसचिव शैलेस कार्की, कोषाध्यक्ष द्वारिका बस्नेत खड्का र सहकोषाध्यक्ष प्रदिप ढुंगाना चयन भएको बाणिज्य संघको अधिवेशन निर्वाचन समितिले जनाएको छ । 


त्यसैगरी १५ सदस्यमा क्रमशः पृयजन कायस्थ, पंकज जैन, सन्तोष श्रेष्ठ, विकास थापा, ध्रुब लामिछाने, बब्लु गुप्ता, गणेश थापा, सुब्बा खड्का र बेदप्रसाद पराजुली छन् । त्यसैगरी राजकुमार बुढाथोकी, शम्भुलाल दास, हेमबहादुर खत्री, चन्द्रकृष्ण खत्री, दीपेन्द्र श्रेष्ठ र दिवस श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् । 


संघमा नेतृत्वमा दावी गर्नेहरु धेरै भएपछि सर्वसम्मत चयन गराउन संघका अगुवाहरुले प्रयास जारी राखेका थिए । संघका पूर्व अध्यक्षसमेत रहेका कटारी नगरप्रमुख राजेशचन्त्द्र श्रेष्ठ, पूर्व अध्यक्ष तथा कटारी ३ का वडाध्यक्ष पुष्कर खड्का, निवर्तमान अध्यक्ष राजेन्द्र राउत र व्यवसायी शत्रुधन कार्कीलगायत अगुवा व्यापारीहरु सर्वसम्मत गर्ने प्रयासमा थिए । व्यापारीहरुको पेशागत हकअधिकारका लागि फुटेरभन्दा जुटेर अघि बढ्न सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप उम्मेदवारी मनोनयनकै क्रममा समिति सर्वसम्मत भएको हो । 


नवनिर्वाचित कार्यसमितिलाई मंगलबार विहान सपथ ग्रहण गराइएको छ । मेयर श्रेष्ठको प्रमुख आतिथ्यमा समितिले सपथ लिएको छ । मेयर श्रेष्ठले उद्योग बाणिज्य संघ समग्र व्यापारीहरुको पेशागत र व्यवसायिक हकहितमा केन्द्रित हुनुपर्ने भन्दै समृद्ध सहर र सुखी नगरपालिका बनाउन सहयोगको अपेक्षा गरेको बताए ।