‘लिजा’ र ‘एफआरए’ दुवैमा कटारी उत्कृष्ट

६ महिना अघि

२0८0 फाल्गुन २१ सोमबार
‘लिजा’ र ‘एफआरए’ दुवैमा कटारी उत्कृष्ट

उदयपुर, फागुन १९

स्थानीयतहहरुमा स्वेच्छाचारिता, अनुशासनहीनता र भ्रष्टाचार अत्याधिक मौलाउँदै गएपछि सरकारले ३ वर्षअघि निश्चित मापदण्ड बनाएर नियमन गर्न थाल्यो । जस अुनसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीयतहहरुलाई आफ्नो मूल्याङ्कन आफै गर्ने सूचक बनाएर स्व–मूल्याङ्कन पद्धतिको विकास गर्दै सोही आधारमा बजेट तथा अन्य सेवा सुविधा थपघट गर्ने नीति कार्यान्वयन गर्दै आएको छ । 


जस अनुसार मन्त्रालयले ‘संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि ०७७’ बनाएर वर्षेनी स्थानीयतह, प्रदेश हुँदै संघीय सरकारमार्फत कामकाजको मापन गर्दै नतिजा सार्वजनिक गर्ने गरेको छ । जस अनुसार फरकफरक विषयक्षेत्र (सूचक) बनाएर १ सय पूर्णाङ्कका अङ्कभार तोकेर ‘स्थानीयतह संस्थागत क्षमता स्व–मूल्याङ्कन (लिजा)’ र ‘स्थानीयतह वित्तीय सुशासन जोखिम मूयाङकन (एफआरए)’मार्फत मूल्याङ्कन गर्ने गरिएको छ । दुवै मापक अनुसार अघिल्लो आर्थिकवर्षमा स्थानीयतहहरुले गर्ने गरेका समग्र गतिबिधिको मूल्याङ्कन गर्ने गरिएको छ । 


उदयपुरको कटारी नगरपालिका चालु आर्थिकवर्षको नतिजा अनुसार यी दुवै मापदण्डमा उत्कृष्ट ठहरिएको छ । जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीयतहमध्ये कटारी आर्थिकवर्ष ०७९÷८० को गतिबिधिमा सर्वाधिक अङ्क ल्याउँदै उत्कृष्ट ठहरिएको हो । लिजातर्फ सय पूर्वाङ्कमा ९३.२५ अङ्क ल्याएर उत्कृष्ट बन्न् पुगेको कटारीले एफआरएमा पनि सयमा ८३ अङ्क ल्याउँदै पहिलो स्थान ओगट्न सफल भएको हो । 


प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले चालु वर्ष प्रकाशित नतिजामा लिजा र एफआरए दुवैमा कटारी जिल्लाको उत्कृष्ट हुन सफ भएको बताए । उनका अनुसार कटारीले प्राप्त गरेको अङ्क प्रदेश १ का १ सय ३७ स्थानीयतहमध्ये उत्कृष्ट १० भित्र पनि पर्न सफल भएको छ । लिजामा त प्रदेशकै तेस्रो हुन सफल भएको कटारी नगर एफआरएमा भने १० मित्र परेको हाकिम भट्टराईले बताए । 


नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले विगत २ वर्षअघिको नतिजा अत्यन्त न्यूनतम अङ्क पाएएको कटारीले पछिल्लो समय छलाङ मार्दै उत्कृष्ट हुनेगरी प्रगति गरेको बताए । उनले यसो हुनुमा कर्मचारी संयन्त्र र जनप्रतिनिधिबीचको समन्वयात्मक भूमिका मुख्य रहेको बताए । २ वर्षअघिको नतिजा अनुसार ४२ अङक पाएको कटारीले गतवर्षको गतिबिधिको मूल्याङ्कनमा उत्कृष्ट स्थान पाउनुले सम्पूर्ण नगरबासीमा उत्साह छाएको मेयर श्रेष्ठले बताए । 


उदयपुरका अन्य स्थानीयतहहरुको नतिजा सरदर रहेको छ । जस अनुसार लिजातर्फ रौतामाई गाउँपालिका ८७ अङ्क ल्याउँदै दोस्रो भएको छ भने तेस्रो हुने उदयपुरगढी गाउँपालिकाले ८५.०५ अङ्क प्राप्त गरेको छ । चौदण्डीगढी नगरपालिका ८० अङ्क ल्याउँदै तेस्रो भयो भने त्रियुगा नगरपालिका ७७ अङ्क ल्याउन सफल भएको छ । बेलका नगरपालिकालाई ७२.२५ प्राप्त हुँदा लिमचुङ्बुङ गाउँपालिकाले ६९.५ अङ्क ल्याएको छ भने ताप्ली गाउँपालिकाले ६६ अङ्क पाएको मन्त्रालयले जनाएको छ । 


एफआरएतर्फ कटारीलाई पछ्याउादै उदयपुरगढी ७३ अङ्क ल्याएर दोस्रो भएको छ भने चौदण्डीगढी ७२.५ लिएर तेस्रो भयो । रौतामाई ६०, बेलका ५५.५, ताप्ली ५२.५, त्रियुगा ४९.५ र लिमचुङबुङले ४६.५ अङ्क पाएको छ । 


मन्त्रालयको कार्यविधिले लिजातर्फ विभिन्न १० वटा र एफआरएतर्फ ५ अगलअलग सूचक तोकेको बछ । लिजामा ‘शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना, बित्तीय एवं आर्थिक, सेवा प्रवाह, न्यायिक कार्य, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विकास र सहकार्य र समन्वय’ विषयक्षेत्र तोकिएको छ । 


त्यस्तै एफआरएतर्फ ५ वटा सूचकहरु ‘योजना, बजेट तथा कार्याक्रम व्वस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिबेदन, अनुमगन, मूल्याङ्कन तथा लेखापरीक्षण र राजश्व व्यवस्थापन सूचकहरु राखिएको छ ।