"स्मार्ट बसपार्क"लाई बजेट अभाव

६ महिना अघि

२0८0 फाल्गुन २0 आईतवार
"स्मार्ट बसपार्क"लाई बजेट अभाव

उदयपुर, फागुन २०

४ वर्षअघि सुरु भएको सदरमुकाम गाईघाटस्थित निर्माणाधीन ‘त्रियुगा बसपार्क आयोजना’ बजेट अभावमा पुरा हुन सकिरहेको छैन । ‘स्मार्ट बसपार्क’को रुपमा पनि व्याख्या गरिएको यो आयोजना दयपुरका महत्वाकाँक्षी योजनाहरुमध्येको एक पनि हो । ०७७ पुस २९ गतेभित्र बनाईसक्ने गरी ०७६ असारमा सम्झौता भई सुरु भएको काम सम्पन्न गर्न कोविड महामारी बाधक हुन पुग्यो भने अहिले बजेट अभावको तगारो तेर्सिएको छ । 
 

पहिलो चरणमा बहुकोठे टर्मिनल भवन, घण्टाघर र शौचालयको प्याकेजमा काम सुरु भएको योजना सम्झौता अवधि सकिएको २ वर्षसम्म पनि पुरा नभएको भन्दै ठेक्का तोड्न लाग्दा ठेकेदारले काम सुचारु गरेको थियो । गत पुसदेखि सुचारु भएको कामले अहिले आकार लिदै गए पनि भुक्तानी दिन नसक्ने पीरलो बढेको छ । पछिल्लो समय द्रुतगतिमा काम भएर भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । तर, यता प्राविधिक रेखदेखको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराजलाई भने कामको भुक्तानी कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । 


साईट इन्चार्ज आयोजना कार्यालयका इन्जिनियर सुुशील चौधरीका अनुसार बहुकोठे, अढाई तले टर्मिनल भवनको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भईसकेको छ । कङ्काल मात्र उभ्याएर छाडिएको भवनमा अहिलेसम्म भुईतलाका सबै कोठामा सटर राख्ने काम भईसकेको छ भने माथिल्लो तलामा सीसा र झ्याल ढोकाको काम तथा विद्युतीय वाईरिङ, रंगरोगनको काम अन्तिम चरणमा पुगेको छ । 

 

शौचालय र घण्टाघरको काम गर्न धेरथोर बाँकी भए पनि टर्मिनल भवनको काम भने लगभग सकिने अवस्थामा पुगेको इन्जिनियर चौधरीले बताए । सुचारु भएको अढाई महिनामै काम सम्पन्न हुन लागेको इन्जिनियर चौधरीले बताए । ‘कोविडले गर्दा पहिला अलपत्र छाडेर हिडेको ठेकेदार कम्पनीलाई कार्यालयले कडा चेतावनीयुक्त पत्र पठाउँदै ताकेता गरेर काम सुचारु गराइयो’ चौधरीले भने ‘काम सुचारु गरेको दुई÷अढाई महिनामै अपेक्षाभन्दा धेरै गुणा छिटो काम हुँदैछ । क्लकटावर र टोईलेटको काम मात्र बाँकी छ, भवनको त अव सकिनै लाग्यो ।’ 


केहीदिनभित्र भवनका भित्री बाहिरी भागमा पेन्टिङ र वाईरिङ सक्ने गरी काम भईरहेको उनले बताएका छन् । भवन सकेलगत्तै शौचालय र घण्टाघरको अधुरो काम थाल्ने र तिब्रताका साथ पुरा गर्ने कम्पनीलाई उद्धृत गर्दै इन्जिनियर चौधरीले बताए । धेरै कामदार जनशक्ति परिचालन गरेका कारण अपेक्षा गरेभन्दा धेरै छिटो बसपार्कको काम र्भइरहेको उनको भनाई छ । 


आयोजना कार्यालय प्रमुख (डिई) प्रदिपकुमार सिंहले भवन सम्पन्न हुन लाग्दासम्म बजेट नपाएको दुःखेसो गर्दै भुक्तानी दिन नपाउने चिन्ताले सताईरहेको बताए । । मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक १२ करोड ६१ लाख ५५ हजार १ सय ३७ रुपैँयामा रमण–आईएसएनबी जेवी जनकपुरले ठेक्का लिएको योजना ०७७ पुस मसान्तभित्र सक्नेगरी पहिलो सम्झौता भएको थियो । 

तर, काम भईरहेकै बेला कोविड महामारी आईलागेपछि पटक पटक गरी १ वर्ष ७ महिना म्याद थप्नु परेको थियो । ०७९ असार मसान्तसम्म थपिएको म्यादभित्र पनि काम नसकिएपछि ठेक्का तोड्नै लाग्दा ठेकेदार आएर पुसदेखि काम सुचारु गरेर सम्पन्नको निकटमा पुगेको सिंहले बताए । 


डिई सिंहका अनुसार लागत सम्झौता अनुसार काम सम्पन्न भएपछि ठेकेदारलाई ९ करोड रुपैँया भुक्तानी दिनुपर्नेछ । तर, अहिलेसम्म झण्डै ५ करोड भुक्तानी भएको र मन्त्रालयले थप बजेट नदिएकाले रनिङ बील भुक्तानी गर्न पनि नसकेको उनले बताए । पछि भएको कामको बील डेढकरोड हाराहारीको रहे पनि कार्यालयसँग बजेट नहुँदा भुक्तानी दिन समस्या भईरहेको छ । बजेट अभावले हाललाई योजना परिचालन (मोविलाईजेसन)वापत दिइएको निकासा र धरौटी रकमबाट भुक्तानीको व्यवस्था मिलाउने तयारी गरिरहेको बताउँदै डिई सिंहले तर, अन्तिम भुक्तानी दिन पैसा आएन भने कार्यालय बसिनसक्नु हुनेछ । 


‘अहिलेसम्म भएको कामको बील भुक्तानी गर्ने बजेट छैन, त्यसैले मोविलाईजेसन र धरौटीकै पैसाबाट टार्न खोज्दैछु’ डिई सिंहले भने ‘यो समस्या जसोतसो टारे पनि काम सकिएपछि कम्तीमा ६–७ करोड दिनुपर्ने रकमको जोहो मन्त्रालयबाट तत्काल नभए कार्यालय छाडेर भाग्नुपर्ने अवस्था आउला भन्ने चिन्ता छ ।’ डिई सिंहले पहिलाकै भुक्तानी नपाएर काम गर्न नमानिरहेको ठेकेदारलाई भुक्तानी नरोक्ने प्रलाोभन दिएर फकाई फुल्याई काम लगाएको बताउँदै काम सकेपछि भुक्तानी नगर्दा आफु नैतिक शंकट र अप्ठेरोमा पर्ने अनुमान गरेका छन् ।  


आवश्यक बजेट व्यवस्था गर्न उनले विभाग, मन्त्रालय र मन्त्रीलाई पटकपटक अनुरोध ग रिसकेको बताएका छन् । त्यसैगरी त्रियुगा नगरपालिकाभित्रको योजना भएकाले त्रियुगाका नगरप्रमुख बसन्त बस्नेतसँग पनि पहल गरिदिन आग्रह गर्दै आएको उनले बताए । ‘यो योजना पहिल्यैको भएकाले छिटो पुरा गर्न विभाग र मन्त्रालयलाई धेरैपटक गुहारिसकेँ’ सिंहले भने ‘त्रियुगा नगरभित्रको योजना भएकाले मेयर सा’वलाई पनि बजेटका लागि पहल गर्न लिखित र मौखिक अनुरोध गर्दै आएको छु । तर, पनि बजेट हात परेको छैन ।’ 


नगरप्रमुख बस्नेतले भने बसपार्क निर्माणको योजना आफ्नो नगरभित्रको भएकाले छिटो काम गर्न र आवश्यक बजेट व्यवस्था गरिदिन मन्त्रालय, विभाग र मन्त्रीलाई गुहार्दै आएको बताएका छन् । मेयर बस्नेतले सुरुमा काम रोकिएको र अहिले काम भए पनि भुक्तानी गर्ने पैसा नभएपछि सहरी विकास विभाग, सहरी विकास मन्त्रालय र मन्त्रीलाई आफु स्वयंले भेटेर र पत्राचारमार्फत बजेट व्यवस्था गरिदिन आग्रह गरेको तर, जवाफ नआएको बताए । काम सकिएपछि जसरी पनि भुक्तानी गर्न बजेट व्यवस्था गर्ने प्रतिबद्धता पनि मेयर बस्नेतले जनाएका छन् । 


त्रियुगा नगरपालिका ३ त्रियुगा नदी किनारमा निर्माणाधीन बसपार्क प्रदेशभरीकै नमूना, अत्याधुनिक र आकर्षक डिजाईनको हुने सघन सहरी कार्यालयले जनाएको छ । बसपार्क परिसर प्रवेशको दायाँबायाँ फुलबारी र कालोपत्रेसहितको भित्री सडक, व्यापारिक कवल, चमेना गृह, घण्टाघर, टर्मिनल भवन, यात्रु प्रतिक्षालयलगायत आकर्षक संरचनाहरु हुने प्राविधिक इस्टीमेटमा उल्लेख छ । 

 

उदयपुर १ बाट निर्वाचित भई तत्कालीन सहरी विकास राज्यमन्त्री भएकी मञ्जुकुमारी चौधरीले आर्थिकवर्ष ०७२–७३ मा यो महत्वाकाँक्षी योजना अघि सारेकी थिईन् । यो सँगै गाईघाटलाई स्मार्ट सिटी बनाउने चौधरीको योजनासहित १ हजार ५ सय जना अँट्ने क्षमताको मदन भण्डारी सभाभवनको निर्माण कार्य गाईघाटमै अन्तिम चरणमा पुगेको छ ।