ह्युमपाईपमा १९ वर्षे युवक मृत भेटिए

६ महिना अघि

२0८0 फाल्गुन १९ शनिबार
ह्युमपाईपमा १९ वर्षे युवक मृत भेटिए

उदयपुर, फागुन १९

त्रियुगा नगरपालिका २ का १९ वर्षीय युवा शुक्रबार विहान ह्युमपाईपभित्र मृत फेला परेका छन् । स्थानीय वरियार चौधरीका छोरा आनन्द चौधरी त्रियुगा नगरपालिका ३ भुल्केस्थित मोतिगडा–जोगीदह खण्ड सडकको ह्युमपाईपभित्र मृत फेला परेको वडाध्यक्ष घमानसिंह खत्रीले बताए । 


शनिबार विहान घाँस दाउरा गर्न जंगल जाने स्थानीयहरुले देखेर जानकारी गराएपछि गएर हेर्दा ह्युमपाईपभित्र चौधरी मृत फेला परेका हुन् । वडाध्यक्ष खत्रीका अनुसार आनन्द उदयपुरगढी गाउँपालिका ६ नेपालटारस्थित मोटरसाईकल ग्यारेजमा काम गर्दै आएको र हरेक शुक्रबार घर आउने गरेका थिए ।


घट्नास्थल नजिकै रहेको क्रसर मेसिननेर बा १ प ६६२२ नं. को मोटरर्साइकल लडिरहेको अवस्थामा फेला परेको र सो मोटरसाईकल चौधरीकै आएको खुलेको छ । शनिबार बिदा मनाउन उनी ग्यारेज सञ्चालकसँगै चौधरी शुक्रबार दिउँसो नेपालटारबाट गाईघाट आएको र त्रियुगा नगरपालिका ८ राजाबासस्थित एक होटल छिरेर सँगै खाजा र वियर (मादक पदार्थ) खाएको भन्ने जानकारी आएको छ । 


‘ग्यारेज साहुसँगै आएका चौधरीले राजाबासमा खाजा र वियर खाएर मोतिगडा आएको, मोतिगडामै बसँ भन्दा नमानेर घर जान्छु भन्दै राति ९ः०० बजेतिर हिडेको खवर आएको छ’ वडाध्यक्ष खत्रीले भने ‘तर, विहान ह्युमपाईपभित्र मृत भेटिनुले घट्ना शंकास्पद छ ।’


घट्नास्थलको सर्जमिन मुचुल्का गरेर प्हरीले मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको छ । अव आफन्तले घट्नाबारे जाहेरी दिएपछि पोष्टमार्टम प्रक्रिया अघि बढाउने तयारी भईरहेको छ । 


चौधरी दुर्घटनामा परेका हुन् कि हत्या भएको भन्नेमा दुविधा जन्मेको छ । धेरैले दुर्घटना भएको भने पनि शंकास्पद देखिएकाले घट्नाबारे सुक्ष्म अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ । 


घट्नास्थलको प्रकृतिले दुर्घटना भएको नदेखिएकाले अनुसन्धानपछि मात्र भन्न सकिने खत्रीले बताए । मोटरसाईकल लडेको, घाउ चोट लागेको केही नदेखिने बरु ह्युमपाईपमा सुतेजस्तो देखिएकाले दुर्घटना नै भन्न नसकिने उनले बताए । प्रहरीले पनि अनुसन्धान गरेपछि मात्र कारण भन्न सकिने जनाएको छ ।