फागुन १७ 'कालो दिन'मा प्रदेशभर बिरोध कार्यक्रम

६ महिना अघि

२0८0 फाल्गुन १७ बिहीबार
फागुन १७ 'कालो दिन'मा प्रदेशभर बिरोध कार्यक्रम

उदयपुर, फागुन १७

प्रदेश १ को नाम पहिचानविरोधी ‘कोसी’ राखेको विरोधमा आजको दिनलाई ‘कालो दिन’को रुपमा मनाउन प्रदेशभर विरोध कार्यक्रमहरु भईरहेको छ । प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले इतिहास, भूगोल, सभ्यता र पहिचानविरोधी र नश्लबादी नाम राखेको दिनको स्मरणमा विरोध कार्यक्रम गरेको हो ।


तत्कालीन मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले ०७९ फागुन १७ गते छापामार शैलीमा प्रस्ताव ल्याई प्रदेशको नाम कोसी राखेको थियो । चारतिर प्रहरी तैनाथ गरेर, ७२ घण्टा अगाडि नै बैठकको एजेन्डाबारे जानकारी गराउनुपर्ने नियम तोडेर एक्कासी नाम प्रस्ताव गरी पारित गरेको भन्दै पहिचानपक्षधर संघसंगठन र राजनीतिक दलहरुले त्यतिबेलादेखि नै विरोध गर्दै आएका छन् । 


नश्लबादी नाम कोसी राखेको विरोधमा किरात राई यायोक्खा किरात याक्थुम चुमलुङ, लिम्बुवान मञ्च, नेपाल आदिबासी जनजाति महासंघ, मगर संघ, शेर्पा संघ, तामाङ घेदुङलगायत दुईदर्जन हाराहारी संघसंस्थाले संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । 

 

आन्दोलनको क्रममा प्रहरीको गोली लागेर पदम लिम्बु (लाजेहाङ)ले वीरगतिसमेत प्राप्त गरिसकेका छन् । आन्दोलनको क्रममा सयौँ आन्दोलनकारी प्रहरीको लाठी, बुट र गोली प्रहारले घाईते, अपाङ्ग भएका छन् भने सयौँलाई झुठा मुद्धामा फसाएर जेल कोच्ने काम पनि प्रदेश सरकारले गरिसकेको छ । 


पहिचानपक्षधर राजनीतिक दलहरु तथा संघसंस्थाको आयोजनामा संघर्ष समितिले त्यतिे बेलादेखि नै ‘एन्टी कोसी मुभमेन्ट’ अभियान चलाउँदै आएको छ । जस अन्तर्गत आज विरोध कार्यक्रम आयोजना गरिएको संघर्ष समितिले जनाएको छ ।  संघर्ष समितिले नश्लको आधारमा प्रदेशको नाम राखेको भन्दै कोसी नाम खारेज गरी पहिचानसहितको ‘किरात–लिम्बुवान प्रदेश’ पुनः नामाकरण गर्न जोडदार माग गर्दै आएको छ । 


आन्दोलनकै सिलसिलामा फागुन १७ गतेलाई ‘कालो दिन’को रुपमा व्याख्या गर्दै विरोध कार्यक्रम आयोजना गरिएको हो । किरात राई यायोक्खाका सचिव तथा संघर्ष समितिका सचिवालय सदस्य अर्जुन जम्नेलीका अनुसार बिहीबार विहानदेखि प्रदेशका सबै जिल्लामा विविध गतिबिधिका साथ शान्तिपूर्ण आन्दोलन भईरहेको छ ।