८ महिना अघि
२0८0 फाल्गुन १५ मंगलवारउदयपुर, फागुन १५
उदयपुरमा चालु आर्थिकवर्ष सुरु भएको ७ महिनामा साढे २५ करोड बढी राजश्व संकलन भएको छ । करदाता सेवा कार्यालय गाईघाटले साउनदेखि माघ मसान्तसम्ममा २५ करोड ६३ लाख राजश्व संकलन गरेको जनाएको छ ।
कर अधिकृत रामबहादुर राईका अनुसार बितेको ७ महिना अवधिमा झण्डै ४० करोड राजश्व उठ्ने लक्ष्य लिएको भए पनि लक्ष्यको ६३ प्रतिशत मात्र उठेको हो ।
साउनदेखि माघ मसान्तसम्म ३९ करोड ७० लाख ८८ हजार रुपैँया राजश्व उठाउने लक्ष्य लिएकोमा ६३ प्रतिशत प्रगति गर्दै २५ करोड ६३ लाखमा सीमित हुन पुगेको अधिकृत राईले बताए ।
माघमा मात्र ३ करोड ६९ लाख ७० हजार राजश्व संकलन भएको अधिकृत राईले बताएका छन् । ४ करोड ८३ लाख ५२ हजार राजश्व माघमा उठाउने लक्ष्य लिएको कार्यालयले ७६.प्रतिशत प्रगति गरेको छ ।
कार्यालयले सबभन्दा बढी राजश्व आयकरवापतको उठाएको छ । सो अवधिमा आयकर १४ करोड ११ लाख ७४ हजार रुपैँया उठेको छ । यो प्रगति लक्ष्यको ७८.२३ प्रतिशत मात्र हो । कार्यालयले माघ मसान्तसम्ममा १८ करोड ४ लाख ५० हजार आयकर उठाउने लक्ष्य लिएको थियो ।
अधिकृत राईले मूल्य अभिबृद्धि कर (भ्याट)वापत ९ करोड ४१ लाख ८५ हजार संक्लन गरेको बताए । त्यस्तै उपभोक्ता करवापत १ करोड ३० लाख १९ हजार उठ्दा व्याजकर २९ लाख ४३ हजार संकलन भएको छ । बहालकर २४ लाख ८३ हजार उठाउँदा स्वास्थ्य कर ६६ हजार संकलन भएको छ ।
कार्यालयका कम्प्युटर अपरेटर रेक मगरका अनुसार आर्थिकवर्षको सुरुताकाभन्दा पछिल्ला महिनामा कर संकलन बृद्धि हुँदै गएको छ । साउन र भदौमा सुस्त रहेको संकलन दर पहिलो त्रेमाशिक (असोज)मा केही बृद्धि भएको थियो भने कात्तिक र मंसिरमा सुस्ताएको संकलन दरले पुसमा आकार बढाएको मगरले बताए ।