यातायात कार्यालयमा निःशूल्क चिया, पानीदेखि ‘फ्रि वाईफाई’सम्म

७ महिना अघि

२0८0 फाल्गुन १३ आईतवार
यातायात कार्यालयमा निःशूल्क चिया, पानीदेखि ‘फ्रि वाईफाई’सम्म

उदयपुर, फागुन १३

सदरमुकामस्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटललाई सेवाग्राहीमैत्री बनाउदै लगिएको छ । काम लिन आउने सेवाग्राहीलाई सूचनामा पहुँचदेखि काम न भएसम्म दिग्दारी अनुभूत हुन नदिन निःशूल्क चिया र तातो/चिसो पानीदेखि ‘फ्रि–वाईफाई’सम्मको व्यवस्था गरिएको छ । 


सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाह गर्ने उदेश्यले सूचना प्रविधिको उपयोग गरी जानकारी र मनोरञ्जन दिलाउन यस्तो व्यवस्था मिलाइएको कार्यालय प्रमुख श्याम लिम्बुले बताए । उनका अनुसार सेवाग्राहीलाई सूचनामा अद्याावधिक हुन कार्यालय परिसरमा फ्रि–वाईफाईदेखि तातो/चिसो खानेपानी तथा निःशूल्क चिया खुवाउने व्यवस्थासमेत छ । 


नयाँ सवारी साधनको दर्ता, नामसारी, ठाउँसारी, नयाँ चालक अनुमतिपत्र (लाईसेन्स) लिन आवेदनदेखि नवीकरण, लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) तथा नतिजा जान्नसम्म सेवाग्राही यातायात कार्यालय आउनुपर्ने हुन्छ । त्यसैले कार्यालयमा जहिल्यै भिडभाड हुन्छ । खासगरी सेवा लिन विभिन्न प्रक्रियादेखि राजश्व बुझाउन बढी समय लाग्ने गर्छ । लाईसेन्सको लिखित र ट्रायलबाहेक सबै काम अनलाईनबाट गर्नुपर्ने हुँदा कहिलेकाहीँ सिस्टम (सर्भर डाउन) नचल्दा समय लाग्ने हनाले कुर्नुपर्ने हुन्छ । 


‘लाईसेन्सको आवेदनदेखि लिखित र ट्रायल परीक्षाबाहेक सबै काम सिस्टमबाट हुन्छ’ हाकिम लिम्बुले भने ‘अनलाईनबाट गर्नुपर्ने काम भएकाले कहिलेकाही सर्भर डाउन हुँदा घण्टौँ कुर्नुपर्ने हुन्छ, यस्तो बेला सेवाग्राहीले बोर मान्न नपरोस भनेर टाईमपास गर्दै सूचना प्रविधिमा अपडेट हुन फ्रि वाईफाई व्यवस्था मिलाइएको हो ।’ त्यसैगरी खानेपानी र चियाको पनि बन्दोबस्त मिलाइएको छ  । 


यस्तो सेवा कार्यालयमा सुरु भएको सातादिन भईसकेको छ । कार्यालयका हरेक शाखामा चिसोपानीको जार र तातोपानी तताउने हिटर राखिएको छ भने सँगसँगै चियापत्ती, चिनी र गिलास/कपहरु पनि छन् । पानी खान इच्छुकले आफैले सारेर खान सक्छन्, चिया खान मन पराउनेले गिलासमा तातोपानी हालेर रुची अनुसार चियापत्तीको रङ र चिनी घोलेर पिउन सक्छन् । 


यस्तो व्यवस्था प्रतिक्षालयदेखि दर्ता चलानी, राजश्व शाखा, लाईसेन्स शाखा, बायोमेट्रिक कक्ष, प्राविधिक शाखा हुँदै कार्यालय प्रमुखको कार्यकक्षसम्ममा छ । प्रतिक्षालयमा आवश्यक बस्ने कुर्सीसहति टेलिभिजन एलइडीसमेत जडान गरिएको छ । कार्यालय परिसर अगाडि सडक करिडोरमा ‘पार्किङ निशेध’को स्टीकरसहित संकेत बोर्डहरु राखिएका छन् । जथाभावी पार्किङ गर्दा आउजाउमा समस्यासँगै कार्यालय परिसर नै कुरुप देखिएपछि परिसरमा निशेध गरी पूर्वतर्फ खाली जमिनलाई ‘पार्किङ जोन’ बनाइएको हो । 


वाईफाईदेखि चियासम्म व्यवस्था गर्नाले सिस्टम नचल्दा सेवाग्राहीलाई पनि दिग्दारी हुनुपर्ने समस्या टरेको मोटरसाईकल नवीकरण गर्न आएका भोजपुरका नन्द मुकारुङले बताए । पहिलेको तुलनामा यातायात कार्यालय आकाश जमिनको फरकजस्तै भएको अनुभव उनले सुनाए । एकवर्षअघि नामसारी गर्न आउँदा लथालिङ्ग देखेको कार्यालयको परिवर्तन देख्दा अचम्म र खुसी दुवै लागेको मुकारुङले बताए । 


कटारीबाट आएका अर्का सेवाग्राही कुलबहादुर थापाले जनतामैत्री कार्यालय बन्न सुशासनको अनुभूति गराउन सक्नुपर्ने बताए । यातायात कार्यालयले चालेको कदमले जनतालाई धेरै मात्रामा सहज भएको भन्दै मुकारुङले सुशासनको पहिलो अनुभव नै कर्मचारीले गराउन सक्ने बताए । कर्मचारीले छिटोछरितो र बिना झन्झट काम गरिदिए त्यहीँ नै सुशासन हुने थापाको बुझाई छ । ‘अहिले हुने काम भरे, आज हुने काम भोलि, भोलि हुने काम पर्सी र पर्सी हुने काम महिनादिनपछि भन्दै टार्ने र दुःख दिने कर्मचारी प्रशासन नै कुशासनको प्रमुख कारण हो’ थापाले भने । 


यातायातजस्तै अन्य कार्यालयहरुले पनि यस्तो सेवाग्राहीमैत्री काम गरेर जनतालाई सुशासन अनुभूति गराउनुपर्ने ताप्लीबाट आएका तिलक परियारले बताए । ‘यस्तो कामको सिको अन्य कार्यालयहरुले पनि गरुन्’ उनको अनुरोध छ ‘लाईसेन्स वितरण प्रक्रियालाई पनि सकेसम्म छिटो छरितो र पारदर्शी बनाउनेतर्फ कार्यालयले कदम चालोस् ।’


यातायात कार्यालयले सबै शाखाका कर्मचारीलाई चुस्त दुरुस्त र छिटो छरितो काम गर्न निर्देशन दिइएको सूचना अधिकारी सुबास अधिकारीले बताए । प्रक्रिया मिलेको काम तत्काल गरिदिन, नपुगेको भए यो यो प्रक्रिया पुगेको छैन भनेर किटान गरी आए छिटो काम हुन्छ भनेर भन्न सबै शाखाका कर्मचारीलाई कार्यालय प्रमुखले निर्देशन दिएको अधिकारीले जानकारी दिए ।