दुईदशकपछि त्रियुगाका २४ कर्मचारीको बढुवा

७ महिना अघि

२0८0 फाल्गुन १२ शनिबार
दुईदशकपछि त्रियुगाका २४ कर्मचारीको बढुवा

उदयपुर, फागुन ११

त्रियुगा नगरपालिकाका दुईदर्जन कर्मचारीको तहबृद्धि र बढुवा भएको छ । १६ वर्षअघि नै स्थायी भई कार्यरतदेखि ९ वर्षअघि स्थायी भएका कर्मचारीहरुको भर्खर तहबृद्धि र बढुवा भएको हो । 


प्रदेश सरकारले ल्याएको ‘स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन् २०८०’को दफा–४, उपदफा–५ अनुसार तहबृद्धि र सोही ऐन्को उपदफा १६ अनुसार बढुवा भएका हुन् । ऐन् अनुसार तहबृद्धि र बढुवा पाउनेहरुमा ४ जना सातौँतहका अधिकृतदेखि सहायकस्तर चौथोतहसम्मका कर्मचारी रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले बताए । 


ऐन् अनुसार अधिकृतस्तर सातौँमा कार्यरत ४ जनाको आठौँमा तहबृद्धि भएको छ । त्यस्तै प्राविधिकतर्फ एकजना छैठौँतहका इन्जिनियरको सातौँमा तहबृद्धि भएको छ भने सहायकस्तर पाँचौँतहमा कार्यरत प्रशासनतर्फ २ जना, प्राविधिकतर्फ १, कृषितर्फ २ र नर्सिङतर्फ २ गरी ५ जना छैठौँतहमा बढुवा भएका छन् । सहायकस्तर चौथोतहका १२ जना पाँचौँतहमा बढुवामा पर्नेमा सिभिल इन्जिनियरिङतर्फ ५, नर्सिङतर्फ १, प्रशासनतर्फ ५ र कृषितर्फ १ जना रहेको सिग्देलले बताए । 


सातौँतहबाट आठौँमा तहबृद्धि हुनेमा शाखा अधिकृत शिवकुमारी राउत, कार्यक्रम अधिकृतहरु विश्वजीत राई र राजकुमार खड्का तथा लेखापरीक्षण अधिकारी एकबहादुर राउत छन् । त्यसैगरी इन्जिनियर निर्मलकुमार विश्वास चौधरी छैठौँबाट सातौँतहमा तहबृद्धि हुँदा पाँचौबाट छैठौँतहमा श्यामकुमार सुन्दास र लेखापाल बाबुराजा प्रजापति बढुवामा परेका छन् ।


तहबृद्धि र बढुवा हुनेहरु अधिकत र तत्कालीन स्थानीय निकाय कर्मचारीहरु हुन् । जस अन्तर्गत तत्कालीन जिल्ला विकास समिति र नगरपालिकाका कर्मचारी छन् । आठौँमा तहबृद्धि भएकाहरु राई, खड्का र राउत तत्कालीन जिविसले ०५४ सालमा अस्थायी नियुक्ति दिएर ०६३ मा स्थायी प्रक्रिया पुरा गरी कार्यरत हुन् । त्यस्तै छैठौँमा बढुवामा परेका सुन्दास पनि जिविसकै सहायस्तर पाचौँतहमा लामो समय कार्र्यरत थिए । 


स्थानीयतह पुनर्र्संरचना भएसँगै तत्कालीन जिविस जिल्ला समन्वय समितिमा परिणत भएपछि त्यहाँ कार्यरत कर्मचारीहरु स्थानीयतहमा समायोजन हुने क्रममा त्रियुगा नगरपालिका आएका हुन् । तत्कालीन नगरपालिकाले ०५४ देखि ०६२ सम्म नियुक्ति दिएर स्थानीय निकाय कर्मचारीको रुपमा कार्यरत उनीहरु यो तहबृद्धि र बढुवामा परेका छन् । स्थानीयतह पुनर्संरचना भएपछि कर्मचारी समायोजन र अन्य कानुनी झन्झटका कारण बढुवा प्रक्रिया अघि नबढ्दा लामो समयदेखि उनीहरु एउटै पदमा बसेर काम गर्दैथिए ।


नगरपालिकाका प्रशासुन शाखा प्रमुख सुन्दासले बढुवामा पर्नेहरु स्थायी भएको १६ वर्षदेखि ९ वर्षसम्म एउटै पदमा बसेर कार्यरत रहेको बताए । उनका अनुसार १६ वर्ष काम गर्ने ३ जनाको सातौँतहबाट आठौँमा तहबृद्धि भएको छ भने १५ वर्षदेखि कार्यरत १ जना प्राविधिकसहित ८ जना अधिकृत भएका छन् । त्यसैगरी १३ वर्षदेखि कार्यरत २ जना सहायस्तर पाँचौ छैठौँ अधिकृतमा बढुवा हुँदा १० वर्षदेखि कार्यरत १ जना पाँचौँतहका छैठौँ अधिकृतमा, ९ वर्षदेखि काम गर्दै आएका ३ जना अधिकृतसहित ९ जना बढुवा भएको अधिकृत सुन्दासले बताए । 


प्रमुख प्रशासकीय अधिकृत सिग्देलले देशका कतिपय प्रदेश र स्थानीयतहमा यसअघि नै कर्मचारीको बढुवा र स्तरबृद्धि भईसकेको छ । तर, प्रदेश १ मा भने अस्थीर सरकार भएकाले आवश्यक कानुनको अभावमा बढुवा प्रक्रिया ढिला भएको हो । वर्षदिनअघि ल्याइएको स्थानीय सरकारी सेवा ऐन् सरकार परिवर्तनसँगै खारेज भएपछि कर्मचारी बढुवा प्रक्रिया रोकिएको थियो । पछिल्लो गठबन्धन सरकारले अहिले ऐन् ल्याएपछि त्रियुगाका कर्मचारीको बढुवा र स्तर बृद्धि गरिएको हाकिम सिग्देलले बताए ।