फागुन १३ देखि दादुरा–रुबेलाविरुद्ध खोप 

७ महिना अघि

२0८0 फाल्गुन ११ शुक्रबार
फागुन १३ देखि दादुरा–रुबेलाविरुद्ध खोप 

उदयपुर, फागुन ११


जिल्ला स्वास्थ्य कर्यालय उदयपुरले आउँदो १३ गतेदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान चलाउने भएको छ । शुक्रबार पत्रकारसहितको सहभागितामा सम्पन्न अनुशिक्षण कार्यक्रममा  स्वास्थ्य कार्यालयले खोप अभियानबारे जानकारी दिएको हो ।


१३ देखि २६ गतेसम्मसञ्चालन हुने खोप अभियान जिल्लाका ४ नगर र ४ गाउँपालिका सबै स्थानीयतहमा चलाइने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरञ्जिवी निरौलाले बताए । उनका अनुसार जन्मेको ९ महिनादेखि ५९ महिना (५ वर्ष) वर्षसम्मका बालबालिकालाई यो खोप दिइनेछ । 


अभियान सञ्चालन गर्न सबै स्थानीयतहमा खोपकेन्द्र स्थापना गरिएको सुपरभाईजर निरौलाले बताएका छन् । जिल्लाभरी २९ हजार १ सय ३४ बालबालिकालाई लक्षित गरी सञ्चालन गरिने अभियानले दादुरा रुबेला रोग उन्मुलन गर्ने अपेक्षा सरकारले गरेको छ । 


२ चरणमा सञ्चालन हुने खोप अभियानको पहिलो चरण १३ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । पहिलो चरणमा त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिका तथा रौतामाई गाउँपालिकामा सञ्चालन हुनेछ भने फागुन २२ गतेदेखि २६ गतेसम्म चल्ने दोस्रो चरणको अभियान कटारी नगरपालिका तथा लिमचुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिकामा अभियान सञ्चालन गरिने छ । 


स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार ठाकुरका अनुसार यो अभियानमा ४ सय ६४ खोप सेसन हुनेछ । त्यसका लागि ४ सय ६४ जना स्वास्थ्यकर्मी परिचालन गरिनेछ भने उनीहरुलाई ९ सय २८ जना स्वयंसेवकहरुले सहयोग गर्नेछन् । खोपकेन्द्र व्यवस्थापन र अनुगमनमा ५ जना चिक्सिकको टोली परिचालन गरिने पनि प्रमुख ठाकुरले बताए ।