बाणिज्य संघले दियो पूर्व अध्यक्ष गुप्ता परिवारलाई राहत

७ महिना अघि

२0८0 फाल्गुन ११ शुक्रबार
बाणिज्य संघले दियो पूर्व अध्यक्ष गुप्ता परिवारलाई राहत

उदयपुर, फागुन ११

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले पूर्व अध्यक्ष स्वर्गीय रामचन्द्र गुप्ताको परिवारलाई राहत प्रदान गरेको छ । सातादिनअघि दिवंगत गाईघाटका स्थायी बासिन्दा गुप्ताको परिवारलाई संघले नगद २५ हजार राहत उपलब्ध गराएको हो । 


सदरमुकाम गाईघाटमा जारी ‘दोस्रो प्रदेश महोत्सव ०८०, त्रियुगा’को अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमका बीच बुधबार साँझ संघका अध्यक्ष रमेश रसाईलीलगायत पदाधिकारीले गुप्ताको परिवारलाई राहतवापतको चेक हस्तान्तरण गरे । पूर्व अध्यक्ष गुप्ताले उदयपुरका व्यापारी व्यवसायीहरुको हकहितका लागि गठित त्रियुगा उद्योग बाणिज्य संघको चुरुवाती चरणमा दुई कार्यकाल अध्यक्ष भएर नेतृत्वदायी भूमिका खेलेका थिए । 


त्यसैगरी सोही अवसरमा संघले अग्निपीडित स्थानीय व्यापारीहरुलाई पनि राहत वितरण गरेको छ । गत मंसिर २४ गते भएको गाईघाट ब जारमा भएको आगलागीमा परी धनमाल क्षति बेहोरेका महालक्ष्मी रिपेरिङ सेन्टरकी सञ्चालिका निशा ठाकुर र राज अटो सेन्टरका सञ्चालक राजु ठाकुरलाई जनही ११ हजार नगद प्रदान गरियो । 


त्रियुगा उद्योग बाणिज्य संघले यस्तो राहत वितरणको कार्यक्रम यसैवर्षदेखि सुरुवत गरेको हो । संघको साधारणसभाको निर्णय अनुसार पहिलो पटक यो राहत प्रदान गरिएको अध्यक्ष रसाईलीले बताए । उनका अनुसार मृतक संघका पूर्व वा बहालवाला पदाधिकारी तथा सदस्यहरुलाई न्यूनतम २५ हजार र भैपरी वा विपतमा परेकालाई न्यूनतम १० हजार राहत प्रदान गर्ने निर्णय भएको छ । सो निर्णय कार्यान्वयनको सुरुवात गर्दे सो राहत रकम वितरण गरिएको हो । 


संघले गत १ गतेदेखि गाईघाटमा प्रदेशस्तरीय महोत्सव सञ्चालन गरिरहेको छ । ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु उद्यम, कृषि उपजजस्ता स्थानीय उत्पादनदेखि अटो बजार हुँदै वहुराष्ट्रिय कम्पनीका उत्पादनसम्मका सामग्री प्रदर्शनी तथा विक्री वितरण गर्त राखिएको छ । संघका महासचिव दिनेश श्रेष्ठका अुनसार २ सय ५० स्टल रहेको महोत्सवमा हरेक साँझ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति दिदै आएका छन् । 


जस अनुसार अघिल्लो दिन चर्चित नृत्यंगना प्रिती पासवान र गायिका अस्मीता अधिकारीले प्रस्तुति दिए । बिहीबारको कार्यक्रम चर्चित गायिका कला राईले प्रस्तुति दिनेछन् । यसअघि हाँँस्य व्यंग्य कलाकार मनोज गजुरेल, पप गायक सविन राई, सृजना खत्रीलगायत दर्जन कलाकारको प्रस्तुति दिने काम सकिइसकेको छ । अन्तिम दिन ११ गते साँझ चर्चित गायक राजेशपायल राई (राई इज किङ) को एकल प्रस्तुति हुने आयोजक संघका उपाध्यक्ष सरोज बस्नेतले बताए । 


महोत्सवले उदयपुरको खस्कदो व्यापार व्यवसायलाई बढावा दिदै अर्थतन्त्र चलायमान बनाउन मद्धत गर्ने संघका पूर्व उपाध्यक्ष भरत चामलिङले बताए । पूर्व महासचिव गोपाल श्रेष्ठले कोविडका कारण उठ्नै नसक्ने अवस्थामा पुगेको व्यापार व्यवसायलाई यो महोत्सवले गति दिने अपेक्षा गरिएको बताए ।