साकेलामा फोहोर गर्नेलाई कारबाही 

७ महिना अघि

२0८0 फाल्गुन ७ सोमबार
साकेलामा फोहोर गर्नेलाई कारबाही 

खोटाङ, फागुन ७

खोटाङको साकेला गाउँपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आवशयक कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकालाई स्वच्छ, सफा र सभ्य  बनाउन भर्खरै ‘फोहोरमैला व्यवस्थापन कार्यविधि ०८०’ निर्माण गरी कार्यान्वयनमा ल्याएको हो । 


कार्यविधि कार्यान्वयनाम आएपछि गाउँपालिकाभित्र कसैले जथाभावी फोहोरमैला गरे आवश्यक दण्ड, सजाय र जरिवाना गर्ने कानुनी बाटो खुलेको छ । गाउँपालिकाभित्र बढ्दै गएको फोहोरमैला व्यवस्थित गर्ने उदेश्यले निर्माण गरिएको कार्यविधिलाई तत्काल लागू गरिहाल्ने भर्खरै सम्पन्न कार्यपालिका बेठकले निर्णय गरेको छ ।


सोमबार बसेको गाउँकार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ उपदफा २ (११) बमोजिम र सोही ऐनको दफा ७ तथा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५१ ले दिएको अधिकार अनुसार निर्मित कार्यविधि पास गरि कार्यान्वयनमा ल्याएको हो । 


गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले फोहोरमैलाको दिगो व्यवस्थापन गर्दै गाउँपालिकालाई पूर्णरुपमा सरसफाईमैत्री स्थानीयतहमा रुपामनरण गर्न यो कार्यविधि बनाएर कार्यान्वयनमा ल्याइएको बताए । गाउँपालिकाले गनवर्ष निर्माण गरेको ‘आवधिक विकास योजना’को लक्ष्य अनुरुप हाल ५ वटै वडामा पूर्ण सरसफाई अभियान कार्यक्रम सञ्चालन भईरहेको पनि अध्यक्ष राईले बताएका छन् । सरसफाई अभियान पूर्णरुपमा सफल पार्दै आवधिक योजनाको उदेश्य पुरा गर्न फोहोरमैला व्यवस्थापन कार्यविधि कार्यान्वयनमा ल्याइएको अध्यक्ष राईले बताए ।  


फोहोरमैलाको दिगो व्यवस्थापन गर्न गाउँपालिकाको आवधिक योजनामा पूर्ण सरसफाईमैत्री स्थानीयतह बनाउन कार्यविधिले मद्धत गर्ने पनि अध्यक्ष राईको बुझाई  छ । घर तथा बस्ती र बजारबाट उत्पादन हुने फोहोरबाट विभिन्न किसिमका रोगव्याधी उत्पन्न भएर मानव स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पर्ने भएकाले  बेलैमा सचेत हुनुपर्नेमा आफुहरुको जोड रहेको उनले बताए । फोहोरमैलाको व्यवस्थापन गर्दा घर, बस्ती, वडा र सिंगो गाउँपालिका सुन्दर, सफा र सभ्य कहलिने पनि अध्यक्ष राईको भनाई छ ।


कार्यविधि अनुसार नियमविपरित जथाभावी फोहोर फाले वा डस्टविनमा संकलन नगरे त्यस्ता व्यक्तिलाई निश्चित रकम दण्ड, जरिवाना र सजाय गर्ने व्यवस्था छ । कार्यविधिको दफा १४ मा उल्लेख भए अनुसार दण्ड, सजाय तथा जरिवाना गर्ने निर्णय गाउँपालिकाले गरिसकेको छ । 


गाउँपालिकाले गतवर्षदेखि सञ्चालन गरिरहेको ‘पूर्ण सरसफाई अभियान कार्यक्रम’ अन्तर्गत प्रत्येक वडाका टोल तथा बस्तीहरु, सार्वजनिकस्थल, सरकारी तथा गैरसरकारी संघसंस्था, विद्यालय, बजार र पार्कक्षेत्रमा फोहोरमैला संकलन गर्न डष्टविन वितरण गरिएको छ । आप्mनो घर, पसलमा उत्पादन भएको फोहोरमैला डष्टविनमा लगेर जम्मा गर्न सबैलाई आग्रह गरिएको छ । 


डस्टविनमा संकलित फोहोरलाई डम्पिङसाईटमा लगेर व्यवस्थापन गर्ने योजना गाउँपालिकाको छ । जस अनुसार ३ नं. वडाको खिदिमामा गाउँपालिकाले डम्पिङ साईट निर्माण गर्ने तयारी गर्दैछ । डम्पिङ साईट बनाउन र सो ठाउँसम्म पुग्ने सडक निर्माणका लागि आवश्यक जमिन गाउँपालिकालाई स्थानीयहरुले उपलब्ध गराईसकेका छन् ।