शैक्षिक गुणस्तरमा सम्झौता हुदैनः मेयर लामा

७ महिना अघि

२0८0 फाल्गुन ४ शुक्रबार
शैक्षिक गुणस्तरमा सम्झौता हुदैनः मेयर लामा

बेल्टार, फागुन ४

चौदण्डीगढी नगरप्रमुख कालुमान लामाले मापदण्ड नपुगेका, शैक्षिक गुणस्तर कमजोर भएका र विद्यार्थी संख्या पर्याप्त नभएका विधालयहरु समायोजनमा लाने बताएका छन् । शुक्रबार नगर शिक्षा समितिको बैठकमा बोल्दै मेयर लामाले सो कुरा बताएका हुन् । 


चौदण्डीगढी नगरपालिकाभित्रको शिक्षामा आमूल परिवर्तन गर्न आफुल लागि परेको बताउँदै मेयर लामाले कुनै वहानाबाजीमा शिक्षाको गुणस्तरमाथि खेलवाड गर्न नदिने प्रतिबद्धता उनले जनाए । ‘मापदण्ड नपुगेका, कमजोर शैक्षिक गुणस्तर भएको र विद्यार्थी संख्या कम भएका स्कुलहरु स्वतः समायोजनमा जान्छन्’ मेयर लामाले भने ‘शिक्षामा हामी कोहीसँग पनि कुनै हालतमा सम्झौता गर्दैनौँ ।’


नगर शिक्षा समितिका पदेन अध्यक्षसमेत रहेका मेयर लामाको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सुधारसम्बन्धी बिबिध बिषयमा निर्णय गरेको पनि उनले बताए । शुक्रबारको बैठकले नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको विषयगत दरबन्दी अभाव र यसबाट उत्पन्न समस्याको समाधान गर्ने विषयमा गहन छलफल भएको पनि बताइएको छ । 


नगरभित्र सञ्चालित विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै बालबालिकाको गुणस्तरीय शिक्षा पाउने अधिकारको ग्यारेन्टी गर्न आगामी शैक्षिक सत्रदेखि नगरपालिकाभित्र लागू गर्नें गरी ‘अभिभावक सहयोग कार्यविधि’ निर्माण गरी लागू गर्ने निर्णय पनि बैठकले गरेको मेयर लामाले बताएका छन् । सो कार्यविधि बनाएर नगरपालिकाभित्र ‘अभिभावक सहयोग’ कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको उनको भनाई छ । 


नगर शिक्षा शाखा प्रमुख उपसचिव रामेश्वर कुँवरले नगरपालिकामा विविध कामकाज गर्न विषय विज्ञ÷रोष्टरमा आधारित शिक्षकलाई सूचिकृत गर्ने निर्णय गरेको बताए । उनका अनुसार अवदेखि सूचिकृत रोष्टरको संयोजकत्वमा विभिन्न बिषयगत समिति निर्माण गरेर उक्त समितिकै सहयोगमा स्थानीय पाठ्यक्रम विज्ञलाई आमन्त्रण गरी आगामी शैक्षिक सत्रबाट लागू गर्न शिक्षा शाखाको प्रत्यक्ष संलग्नतामा स्थानीय पाठ्यक्रम निर्माण गर्ने निर्णय भएको पनि कुँवरले बताए ।  


बैठकले नगरभित्रका कुनै पनि सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विषय शिक्षक जिल्लाभित्र वा बाहिर तालिम, गोष्ठी वा सेमिनारमा भाग लिन जानुपरे नगर शिक्षा शाखाबाट अनिवार्य रुपमा लिखित अनुमति लिनुपर्ने प्रावधान लागू गर्ने निर्णय पनि गरेको छ । 


बैठकले चौदण्डीगढी नगरपालिकाका निजी विद्यालयहरुले कुल विद्यार्थी संख्याको कम्तिमा १० प्रतिशत नघटाई जेहेन्दार, बिपन्न, असहाय तथा गरिब, अपाङग, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका छोराछोरीलाई समावेशिताको आधारमा छात्रवृति प्रदान गर्नुपर्ने निर्णय पनि गरेको छ । 


छात्रवृतिको ब्यबस्थापन तथा वितरण चौदण्डीगढी नगरपालिका नगर शिक्षा शाखामार्फत गर्ने निर्णयसमेत बैठकले गरेको जनाइएको छ ।

–अन्जनी कुमार