सभामुखद्वारा गम्भिर थापाको शालिक अनावरण

७ महिना अघि

२0८0 फाल्गुन ३ बिहीबार
सभामुखद्वारा गम्भिर थापाको शालिक अनावरण

बिन्द्र राई÷माझखर्क

उदयपुर, फागुन ३ 

उदयपुरमा संघीय प्रतिनिधिसभाका सभामुख देवराज  घिमिरेले विहीबार जनकवि गम्भीरबहादुर थापाको शालिक अनावरण गरेका छन् ।  जिल्लाको त्रियुगा नगरपालिका ६ जल्जलेचोकमा  निर्मित शालिक घिमिरेले अनावरण गरेका हुन् । 


थापाको शालिक शतवार्षिकीको अबसर पारेर लोकबाजासहित अनावरण गरिएको हो । सभामुख घिमिरेले शालिक अनावरण कार्यक्रममा स्वर्गीय थापा एक उन्नतशिल समाज निर्माणकर्ता र विकासप्रेमी रहेको बताए । घिमिरेले समाजसेवी रहे पनि  समाजले हिजो उनलाई चिन्न नसकेर उपेक्षा गरेको  भए पनि अहिले उनको कार्य महत्वपुर्ण रहेको जानकारी आएको बताए ।


उनले उदयपुरजस्तो जिल्लामा इतिहासकार, अन्वेषणकर्ताहरुका अनुसार थापा एउटा राणाविरोधी र प्रजातान्त्रको हिमायती रहेकाले निरंकुश शासनविरुद्ध लड्ने एक प्रजातन्त्र सेनानी रहेको बताए । आजभन्दा ७०–८० वर्षअगाडि समाजको उन्नत विकास आम नागरिकको अधिकार, राज्यको दमन निरङ्कुशताविरुद्ध लड्ने एक सचेत नागरिक रहेको घिमिरेको भनाई थियो । 


उनले थापा आफ्नै देशमा उत्पादन गरेको वस्तुको मात्र प्रयोग गर्ने, आम नागरिक आत्मनिर्भर, स्वावलम्बी हुनुपर्छ भन्ने सोँच विचार भएको व्यक्तित्व रहेको भन्दै त्यस्ता व्यक्ति समाजमा विरलै पाइने बताए। उनले थापाबाट वर्तमान समाजले धेरै कुरा सिक्नसक्ने भएकाले आदर्श व्यक्तिका रपमा चित्रण गर्न सकिने बताए । 


फरक  प्रशंगमा सभामुख घिमिरेले जनताले बनाएको संविधान र त्यसमा रहेका मौलिक हक अधिकारहरु समाजको आर्थिक, सामाजिक, राजनीतिक, न्यायिक प्रणालीहरु सही ढंगले कार्यान्वयन गर्न नसकिदा जनतामा निराशा पलाउँदै गएको बताए । संविधानमा भएका मौलिक हक अधिकारको प्रयोग गर्न नसक्दा देशमा बेरोजगारी, भ्रष्टाचार र अनियमिता बढ्दै गएका कारण निराश भएर युवाहरु विदेश पलायन रोज्ने गरेको घिमिरेले बताए ।  


उनले जलजलेमै रहेको जापान सरकारद्वारा निर्मित उदयपुर सिमेन्ट उद्योग लिमिटेड समस्याग्रस्त रहेको भन्ने सुनेको भन्दै धरासायी भएको उद्योगलाई यहाँका राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकायले बचाउनुपर्नेमा जोड दिए । त्यसका लागि आफूले आफ्नो क्षेत्रबाट सक्दो सहयोग भूमिका निर्बाह गर्ने बचन पनि घिमिरेले दिए । 

 

प्रदेश १ की उपसभामुख सिर्जना दनुवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजलगायतको  उपस्थित रहेको शालिक अनावरण कार्यक्रममा सभामुख घिमिरेले नेपाल सरकारले जारी गरेको स्व. थापाको तस्बिर अंकित बेग्लाबेग्लै दुईटा हुलाक टिकटमा टाँचा लगाएर सार्वजनिक पनि गरेका थिए ।