अँधेरी झर्ना जंगलमा टिफर दुर्घटना, चालक गम्भीर घाईते

७ महिना अघि

२0८0 फाल्गुन ३ बिहीबार
अँधेरी झर्ना जंगलमा टिफर दुर्घटना, चालक गम्भीर घाईते

उदयपुृर, फागुन ३


उदयपुरगढी गाउँपालिका ७ अँधेरी जंगलमा बिहीबार दिउँसो टिफर दुर्घटना हुँदा चालक गम्भीर घाईते भएका छन् । मदन भण्डारी लोकमार्गको गाईघाट–नेपालटार खण्डस्थित अँधेरी झर्नानजिकै ओरालो सडकमा ना १ क ५५४२ नं. को टिफर आफै अनियन्त्रित भई दुर्घटना हुँदा लाहान नगरपालिका ३ सिराहाका ३० वर्षीय विनोदकुमार महतो घाईते भएका छन् । 


चालक महतोको निधारमा गहिरो चोट लागेको छ भने एउटा खुट्टा भाँचिएको अनुमान गरिएको छ । ओरालोमा ब्रेक फेल भएर अनियन्त्रित भएको टिफर सडकदेखि बायाँतर्फ मोड्दा २५ मिटर घस्रिएर दूईटा रुखमा ठोक्किदा अगाडिको भाग कच्याक कुच्चुक भएर काम नलाग्ने हुन पुगेको छ । तिब्र गतिको टिफर ठोक्किदा एउटा रुख पूर्णरुपमा भाँचिएको छ भने अर्को बडेमानको रुखमा ठोक्किदा टिफरको चालक क्याविन कुच्चिएर चालकको खुट्टा अड्किन पुगेको थियो । 


क्याविनमा अड्किडएको खुट्टा एकघण्टा लामो प्रयासपछि निकाल्न सफल भएको घट्नास्थलमा खट्ने संगम चोकस्थित प्रहरी बिटलाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए । संगमचोक बिटबाट खटेको प्रहरी हवल्दार र ट्राफिक सहायक अवल्दारले स्थानीयको सहयोगमा एकघण्टा लामो प्रयासपछि कुच्चिएको गाडीको क्याविन फुटाएर महतोको उद्धार गरेको डिएसपी चौधरीले बताए । महतोको खुट्टा भाँचिएको अनुमान गरिएको छ भने टाउको पनि फुटेको हुनसक्ने प्रहरी भनाई छ । बोल्न सक्ने अवस्थाका महतोलाई उद्धार गरी उपचारार्थ लाहान अस्पताल पु¥याइएको छ । 


धनुषाको महेन्द्रनगरमा सञ्चालित कसमस सिमेन्टका लागि उदयपुरगढी ६ नेपालटारस्थित खानीबाट चुनढुंगा बोकेर जाँदै गरेको टिफर ओरालोमा ब्रेक फेल भएर अनियन्त्रित हुन गई दुर्घटना भएको प्रहरी भनाई छ । चुनढुंगा क्षमताभन्दा बढी बोक्नाले दुर्घटना हुन पुगेको स्थानीय बोधकुमार घिमिरेले अनुमान गरे । १० टल क्षमताको टिफरमा १५–२० टनसम्म चुनढुंगा बोक्नाले ब्रेकले थाम्न नसकेर ओरालोमा दुर्घटना हुन पुगेको उनको अनुमान छ । 


सो ठाउँमा पछिल्लो ३ महिनामा ४ वटा टिफर, ट्रक, यात्रुबाहक बस र हायस दुर्घटना भईसकेको छ । अँधेरी झर्नादेखि जोगीनीटोलसम्मको झण्डै ५ सय मिटर सडक नागबेले घुमाउरो तथा ओरालो भएका कारण बारम्बार दुर्घटना हुने गरेको स्थानीय रुद्र खड्काले बताए । केही महिनाअघि मात्र त्रियुगा नगरपालिका ५ देउरीस्थित अन्नपूर्ण बोर्डिङको स्कुल बस सोही ठाउँको जोगीनीटोलमा दुर्घटना हुँदा ४ जनाको घट्नास्थलमै निधन भएको थियो भने ३९ जना घाईते भएका थिए । 


सो ठाउँ दुर्घटनाग्रस्त क्षेत्र भएकाले प्रहरी बिट खडा गरेर ट्राफिक प्रहरी नियमित राख्नुपर्ने तथा ट्राफिक नियम र दुर्घटनाका संकेतहरु राख्नुपर्ने उदयपुरगढी गाउँपालिकाका ओमप्रकाश सुबेदीले बताए । 


उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले सो ठाउँमा एकपछि अर्को दुर्घटना हुने गरेकाले त्यसबाट बचाउका लागि प्रहरी प्रशासनसँग मिलेर रोकथाम र न्यूनिकरणको उपाय अपनाउने बताएका छन् ।