उदयपुरका ३ तहले दिए ‘जनयुद्ध दिवस’मा सार्वजनिक विदा

७ महिना अघि

२0८0 माघ २९ सोमबार
उदयपुरका ३ तहले दिए ‘जनयुद्ध दिवस’मा सार्वजनिक विदा

उदयपुृर, माघ २९

तत्कालीन नेकपा (माओबादी)को अगुवाईमा भएको ०५२–०६२ जनयुद्ध दिवसको अवसरमा उदयपुरका ३ स्थानीयतहहरुले सार्वजनिक विदा दिएका छन् । जनयुद्ध सुरु भएको दिन फागुन १ गतेको सम्झनामा जिल्लाका लिमचुङबुङ, रौतामाई र ताप्ली गाउँपालिकाले फागुन १ गतेका दिन सार्वजनिक विदा दिएका हुन् । 

 

नेपाल सरकारले गतवर्षदेखि फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिन थालेको थियो । जस अनुसार राज्यले राजपत्रमा सूचना प्रकाशित गरी सरकारी पात्रोमै सार्वजनिक विदा जनाए पनि अदालतले भर्खरै खारेज गरेको थियो । 

 

अदालतले खारेज गरे पनि स्थानीयतहहरुले  स्थानीय सरकारको अधिकार प्रयोग गर्दै जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएको जनाएका छन् । उदयपुरका लिमचुङबुङ, ताप्ली र रौतामाई गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा मंगलबार सार्वजनिक विदा दिएको उनीहरुले जारी गरेको सूचनामा उल्लेख छ । 


लिमचुङबुङका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले सोमबार सूचना प्रकाशित गर्दै ऐतिहासिक जनयुद्ध सुरु भएको दिनको सम्मानमा गाउँपालिका अध्यक्ष मेजरकुमार राईको निर्देशन अनुसार फागुन १ गते सबै सरकारी कार्यालयको कामकाज बन्द रहने गरी सार्वजनिक विदा दिइएको उल्लेख गरेका छन् । 


त्यसैगरी ताप्ली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले पनि ढुंगराज विकको अध्यक्षस्तरीय निर्णय अनुसार जनयुद्ध दिवसमा सार्वजनिक विदा दिइएको जनाएका छन् । रौतामाई गाउँपािलका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले महान् जनयुद्ध सुरु भएको दिनको सम्मानमा अध्यक्ष वीरेन्द्रकुमार मगरको निर्णय अनुसार सार्वजनिक विदा दिने निर्णय भएको बताए । 


यी तीनवटै गाउँपालिकाका अध्यक्ष नेकपा (माओबादी केन्द्र)बाट निर्वाचित हुन् । तीनवटै गाउँपालिकाका उपाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित छन् । गठबन्धनबाट निर्वाचित यी गाउँपालिकाले जनयुद्धको सम्झनामा १ दिन विदा दिदा सहिदको सम्मान र प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रजस्तो राजनीतिक परिवर्तनको मर्यादा रहने दावी गरेका छन् । 


यसैगरी खोटाङको खोटेहाशङ गाउँपालिकाले पनि जनयुद्ध दिवसमा सार्वजनिक विदा दिएको  गाउँपालिका अध्यक्ष उदिम राईले बताए । देशमा परिवर्तनको जग बसाल्ने महान् जनयुद्ध सुरु भएको दिनको ऐतिहासिक सम्मानमा फागुन १ गते सार्वजनिक विदा दिइएको अध्यक्ष राईले बताए ।

 

खोटाङकै अर्को जन्तेढुंगा गाउँपालिकाले भने सार्वजनिक विदाको आधिकारिक जानकारी नगराए पनि लगातार ३–४ दिन कार्यक्रम हुने भएकाले सबै कामकाज रोकिने अध्यक्ष अरुणादेवी राईले बताईने । उनले जनयुद्ध दिवस मनाउने गरी सरकारी पात्रोमै विदा उल्लेख भएकाले पनि सूचना निकालीराख्नु नपर्ने बताईन् । 


अदालतले जनयुद्ध दिवस नमान्न आदेश गरे पनि देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपाति व्यवस्थासहितको आमूल परिवर्तन ल्याउने दिनको सुरुवात भएको फागुन १ गतेलाई सम्झना गर्दै तमाम ज्ञात अज्ञात सहिदहरुको सम्मान गर्न पनि सो दिन सार्वजनिक विदा दिनु मनासिव हुने तर्क जनप्रतिधिहरुको छ ।