साकेलामा अत्याधिक भारबहनका गाडी प्रवेशमा रोक

७ महिना अघि

२0८0 माघ २९ सोमबार
साकेलामा अत्याधिक भारबहनका गाडी प्रवेशमा रोक

खोटाङ, माघ २९

सडक बिगारेको भन्दै यहाँको साकेला गाउँपालिकामा काठ बोक्ने ट्रक प्रवेशमा रोक लगाइएको छ । अत्याधिक भार वहन गर्ने मालबाहक ट्रक गाउँ प्रवेश गर्दा भर्खरै बनेको कच्ची सडक बिगारेको भन्दै गाउँपालिकाले प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

 

अत्याधिक भारवहन गर्ने मालबाहक सवारी प्रवेश गर्दा सडकहरु छिन्नभिन्न भएर भत्किएको र मर्मत गर्न महँगो पर्ने भएको अनुभव सँगाल्दै गाउँपालिकाले प्रवेशमा रोक लगाएको जनाएको छ । २१ टनभन्दा बढी क्षमताको १० चक्के ट्रकलाई साकेला गाउँपालिका क्षेत्रभित्र प्रवेश गर्नमा रोक लगाउने निर्णय गर्दै गाउँपालिकाले प्रवेश गरेको पाए २० हजारसम्म जरिवाना गर्ने निर्णय गरेको छ ।

 

यस्ता मालबाहक गाडी प्रवेशले गाउँपािलकामा निर्माण भएका मुख्य सडक तथा शाखा सडकहरु बिगारिरहेको निष्कर्ष निकाल्दै आईतबार बसेको गाउँकार्यपालिका बैठकले सो निर्णय गरेको हो । कार्यपालिका बैठकले २१ टन क्षमताको १० चक्के र १५ टन क्षमताको ६ चक्के ट्रक प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष रविप्रकाश राईले बताए ।

 

उनका अनुसार कार्यपालिका निर्णयको उलंङ्घन गरेर जबरजस्ती गाउँपालिका प्रवेश गरेको पाइएमा २० हजार रुपैंया जरिवाना गर्ने निर्णय भएको बताए । ‘अत्याधिक भारवहन क्षमताका गाडीहरु गाउँ प्रवेश गर्दा सडकहरु भत्के बिग्रेको पाइयो’ कार्यपालिका निर्णय उद्धृत गर्दै अध्यक्ष राईले भने ‘त्यसैले १५ टन क्षमताका ६ चक्के तथा २१ टन क्षमताका १० चक्के मालबाहक ट्रक यस गाउँपालिकाभित्र प्रवेश गर्न पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेका छौँ ।’

 

केही समययता गाउँमा उत्पादन भएको उतिसलगायत अन्य जातका काठ निकासी गर्न यस्ता ट्रकहरु आउने गरेका थिए । बढी भारवहन गर्ने मालबाहक गाडीले काठ ओसार्ने क्रममा सडकमा धेरै क्षति भएको पाइएपछि बाध्य भएर यस्तो निर्णय गर्नुपरेको हो । यसअघि काटिसकेर घाटगद्धीमा राखेको काठ ओसार्न भने १५ टन क्षमताको ६ चक्के ट्रकलाई सम्बन्धित वडा कार्यालयको अनुमति लिएर ढुवानी गर्न दिइने अध्यक्ष राईले बताए ।

 

‘यसअघि काटेर राखिएका काठ निकासा गर्नका लागि सम्बन्धित वडा कार्यालयको अनुमति लिएर १५ टन क्षमताका ६ चक्के गाडीबाट ढुवानी गर्न दिइने छ’ राईले भने ‘त्यसपश्चात ६ चक्केलाई पनि प्रवेश निषेध गरिनेछ ।’ यसरी काठ निकासी गर्दा भत्किएको सडक, पर्खाल, नालीलगायत संरचनाको मर्मत तथा क्षतिपूर्ति गर्न प्राविधिक इस्टीमेटका आधारमा व्यवसायीहरुबाट असुलउपर गर्ने निर्णयसमेत वैठकले गरेको छ ।

 

अध्यक्ष राईले गाउँपालिकाभित्र निर्मित सडक संरचनाहरु अत्याधिक भारवहन क्षमता ट्रकको आवागमनले क्षतविक्षत भएकाले निर्मम बन्नुपरेको बताए । गाउँमा करोडौँ लगानी गरेर निर्माण गरिएका सडक संरचनाहरु बचाउनका लागि यस्तो निर्णय गर्नु परेको उनको भनाई छ । ‘स्थानीय नागरिकको सुविधाका लागि भनेर सरकारले करोडौँ लगानी गरेर गाउँगाउँमा सडक सञ्जाल निर्माण गरेको छ’ अध्यक्ष राईले भने ‘तर, २–४ हजार कर उठाउने, तथा २–४ लाख आमदानी गर्ने लोभले भएभरको संरचना भत्केको टुलुटुलु हेरेर बस्न सकिएन ।’

 

मालबाहक ट्रकले बिगारेका सडक मर्मत तथा पुनः निर्माण गर्न राज्यको करोडौंँ बजेट खर्च हुदै आएको हुनाले त्यस्तो हुन नदिन गाउँपालिकाले यस्तो कदम चालेको अध्यक्ष राईको भनाई छ ।

 

साकेला गाउँपालिकाकाका विभिन्न वडामा उत्पादित उतिसको काठ विक्री वितरण भईरहेको र सो काठ ढुवानी गर्न ठूला मालबाहक गाडीहरु भित्रिने गरेका छन् । साकेला १ नं= वडाको बाँझेच्यानडाँडा, २ को रतन्छा र ३ को खिदिमाक्षेत्रबाट उत्तिस, चिलाउने, पात्लेलगायत काठ निकासी गर्न मालबाहक ट्रकहरु आउजाउ गर्दा सडक संरचना भत्केको ठहर गर्दै गाउँपालिकाले यस्तो कदम चालेको हो ।